सिन्धुली- सिन्धुलीको तीनपाटन गाउँपालिकाले स्थानीय किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा वितरण गरेको छ । पालिकाको कार्यक्रमअन्तर्गत बिरुवा वितरण गरिएको हो ।
गाउँपालिकाभित्रका ११ वटै वडामा फलफूलका बिरुवा वितरण गरिएको कृषि शाखाका प्रमुख बालकुमारी खड्काले जानकारी दिइन् ।
उनका अनुसार २०१ जना किसानलाई फलफूलका विरुवा वितरण गरिएको छ । उनले भनिन्, ‘एक किसान बराबर २५ वटा बिरुवा वितरण गरेका छौँ ।’
पालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा आँप, लिची, सुन्तला, कागती, जुनारका बिरुवा वितरण गरेको हो ।
पालिकाभित्रको खेतीयोग्य जमिन बाँझोमा परिणत हुँदै गएपछि त्यसलाई पुनः हराभरा बनाउन किसानलाई फलफूलका बिरुवा वितरण गरिएको उनले जानकारी दिइन् ।
बाँझो जग्गालाई उपभोग गरी फलफूल खेतीमा किसानलाई आकर्षित गराउन अनुदानमा बिरुवा वितरण गरिएको पालिकाले बताएको छ ।
पालिकाले बिरुवा वितरणका लागि २ लाख ८७ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।