जुम्ला- जुम्लाको तिला गाउँपालिका वडा नम्बर २ मा पर्ने लर्मीगाउँमा ८५ घरधुरी छन् । यो गाउँ पालिका मुकाम डुन्डेलीबाट ४५ मिनेट पैदलमा पुगिन्छ ।
गाउँपालिकाको मुकाम डुन्डेलीबाट हेर्दा यो गाउँ देखिँदैन । तलबाट माथि सबै पहाडै पहाडजस्तो देखिन्छ । तर, त्यहीँ गाउँ पुग्दा केही फाँटिलो जमिन छ । पहाडको काखैमा घरैघरले भरिएको गाउँ छ ।
यो गाउँको मुख्य आम्दानीको पेसा भनेकै भेडापालन हो । यही भेडापालन व्यवसायबाट छोराछोरी पढाउने, औषधोमूलो गर्ने र लुगाफाटो फेर्ने गरेका छन् ।
गाउँमा सरकारी जागिर गरेका औँलामा गन्न सकिने २÷४ जना मात्रै छन् । प्रत्येकको घरमा भेडापालन व्यवसाय छ । गाउँमा भेडापालन नगरेका कोही पनि छैनन् ।
२० वटामाथि भेडापालन गर्ने घर धेरै छन् । ८५ घरधुरी भएको गाउँमा झन्डै १ हजारजति भेडा छन् ।
अहिले भेडाको मासु प्रतिकेजी ९ सयदेखि १ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । भेडाको ऊनबाट उत्पादन हुने राडीपाखी एउटाको ४ देखि ४५०० रुपैयाँसम्म बिक्री हुने गरेको छ ।
१ जना स्थानीय भन्छन्, ‘अघिल्लो वर्ष यो गाउँबाट ७ लाख रुपैयाँ बराबरको राडीपाखी बिक्री भयो ।’
अझै गाउँमा बिक्री हुन नसकेका राडीपाखी उत्तिकै छन् । गाउँमा भेडापालन व्यवसाय भए पनि चरन क्षेत्र अभाव छ । जताजतै खनजोत गरेपछि चरन क्षेत्र अभाव भएको हो ।
अर्काेतर्फ लामो समयदेखि खडेरीका कारण सुक्खा छ । यसले भेडापालन व्यवसाय प्रभावित हुँदै आएको स्थानीय बताउँछन् ।
तिला गाउँपालिका वडा नम्बर २ लर्मीगाउँका भक्तबहादुर रावतका अनुसार अरू पेसा छैन । मुख्य पेसा अर्थात् आम्दानीको स्रोत भनेकै भेडापालन व्यवसाय हो । यही व्यवसायबाट छोराछोरालाई कापी कलम, नुनतेल, लुगाफाटो, औषधोमूलो हुने गरेको छ ।
लामो समयको खडेरीका कारण यो व्यवसाय पनि प्रभावित हुँदै गएको छ । सोही गाउँका अर्का स्थानीय बिर्खबहादुर रावत भन्छन्, ‘भेडापालन व्यवसाय यहाँको पुख्र्यौली पेसा हो । यो यहाँको मुख्य आम्दानीको स्रोत भएकाले हामीले यसलाई जीविकोपार्जको मुख्य पेसा बनाएका छौँ । बालबच्चा पढाउने, खान-लगाउन, औषधोमूलो यही व्यवसायबाटै टार्ने गरेका छौँ ।’
पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतका अनुसार भेडापालन गर्नेहरू जुम्लामा बढ्दो क्रममा छन् । अझ ३ वटै तहका सरकारले यो व्यवसायलाई महत्त्वका साथ कार्यक्रम सञ्चालन गरे जुम्ला मासुमा आत्मनिर्भर हुने सम्भावना छ ।