जुम्ला– जुम्लाका किसान स्याउ र ओखरको खेतीमा आकर्षित हुँदै गएका छन् । किसानको मागअनुसार ओखर खेतीलाई प्रवद्र्धन गर्न कनकासुन्दरी गाउँपालिकाले चालू आर्थिक वर्षमा ओखरका बिरुवा वितरण कार्यक्रम सञ्चालन गर्न बजेटसहित नीति ल्यायो ।
सोहीअनुसार करिब १९ लाख रुपैयाँ लागतमा ओखर प्रवद्र्धन कार्यक्रमका लागि बिरुवा खरिद गर्न टेन्डर आह्वान गरियो । स्थानीय लालबहादुर जिसीको कनकासुन्दरी एग्रो हबलाई बिरुवा खरिदको टेन्डर पर्यो ।
बोलपत्रमा स्थानीय जातकै ओखरका बिरुवा हुनुपर्ने स्पष्ट उल्लेख छ । सोहीबमोजिम कनकासुन्दरी एग्रो हबका सञ्चालक जिसीले जुम्लाका विभिन्न नर्सरीबाट बिरुवा खरिद गरे । १९ लाख रुपैयाँका करिब २ हजार ९ वटा बिरुवा खरिद गरी कनकासुन्दरी पुर्याइयो ।
कनकासुन्दरीका किसानलाई ७५ प्रतिशत अनुदानमा बिरुवा गाउँपालिकाले वितरण गर्यो । बिरुवा रोपेको करिब १ महिनापछि कनकासुन्दरीको वडा नम्बर ४ लेकपरका किसान पुन्न बुढाले पालिकाले ग्राफ्टिङ नगरेका नक्कली ओखरका बिरुवा दिएर ठगेको बताए । ठेकेदार र कृषि शाखाको मिलेमतोमा नक्कली बिरुवा किनेर किसानलाई ठगेको आरोप उनको छ ।
ग्राफ्टिङ नगरिएका बिरुवा वितरण भएको हल्लापछि विभिन्न कृषिविज्ञ ल्याएरसमेत बिरुवा जाँच गरियो । सुरुमा जाँच गरिएका ६ वटा बिरुवामध्ये ४ वटा शंकास्पद भेटिए । अधिकांश किसान तथा विज्ञले बिरुवा ग्राफ्टिङ नै नभएको बताएका छन् ।
वितरण गरिएका २ हजार ९ सय बिरुवामध्ये अधिकांश बिरुवा ग्राफ्टिङ नै नभएको भेटिएपछि खरिदकर्ता कनकासुन्दरी एग्रो हब प्रालिका सञ्चालक जिसीले अनुसन्धान गर्दा नर्सरीधनीबाटै बेइमानी भएको दाबी गरे । सोमबार कनकासुन्दरी गाउँपालिकामा आयोजित पत्रकार सम्मेलनमा खरिदकर्ता, गाउँपालिकाभन्दा पनि नर्सरीधनीको बेइमानीका कारण स्याउ किसान, ठेकेदार सबै ठगिएको जिसीले स्पष्ट गरे ।
जम्मा २९ सय बिरुवामध्ये साढे १३ सय बिरुवा मात्रै जुम्ली बिरुवा छन् भने बाँकी १७ सय बिरुवा जुम्ली बिरुवाका नाममा कास्मिरी रहेका छन् । जुम्ली बिरुवाका नाममा कास्मिरी त्यो पनि ग्राफ्टिङ नै नगरिएका नक्कली बिरुवा बेच्ने नर्सरीधनीलाई कारबाहीको दायरामा ल्याउन माग गरिएको छ ।
जुम्ली बिरुवा भन्दै बाहिरका एजेन्टसँग मिलेर नर्सरीधनी तिलाको वडा नम्बर ८ का हंस बस्नेतले जुम्लाका तिला, तातोपानी र कनकासुन्दरीका किसानलाई ठगिरहेको पाइएको हो ।
नर्सरीधनी बस्नेतका नाममा मुद्दा हाल्ने र कानुनी कारबाहीका लागि अघि बढ्ने कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष नरवीर रावतले बताए ।
नर्सरीधनी बस्नेतले भने बाहिरकै मान्छेबाट बिरुवा ल्याएको बताए । बैतडीमा रहेको पुर्चौउली एग्रो हबका निर्देशक दीपक धानुले बिरुवा पठाउने गरेको उनले जानकारी दिए । नक्कली बिरुवा विभिन्न जिल्लामा पठाउने बैतडीका धानुलाई रामेछापबाट बिरुवा खरिदकर्ता लालबहादुर जिसीले जुम्ला ल्याएर १७ सय बिरुवाको क्षतिपूर्तिसमेत असुल गरिसकेका छन् ।
नक्कली बिरुवा बिक्री गर्ने धानु सञ्चालक रहेको बैतडीको पुर्चौउली एग्रो हब प्रालिका निर्देशक धानुले विभिन्न जिल्लामा नक्कली बिरुवा बिक्री गरेको स्वीकारेका छन् । तर, जुम्ली किसानलाई विगतदेखि ठग्ने जुम्लाकै नर्सरीधनीका नाममा दलाली गर्ने बस्नेतलाई तत्काल कारबाही गर्नुपर्ने कनकासुन्दरीका किसानको माग छ ।
कनकासुन्दरी गाउँपालिकाका स्याउ किसानले क्षतिपूर्तिको माग गरेका छन् । घरघरमा ओखर लगाउने आशमा खाल्डा खनेको, मलजल गरेबापतको क्षतिपूर्ति तत्काल पाउनुपर्ने उनीहरूको माग छ । स्थानीय किसान जंगबहादुर घर्तीले भने, ‘ओखरका बिरुवा रोप्ने आशमा खाल्डा खन्यौँ । बिरुवा रोप्यााैँ तर अहिले नक्कली बिरुवा देखिएपछि उखेल्नुको विकल्प छैन । न ओखर खेती हुने भयो, न त परिश्रम सदुपयोग । त्यसैले तत्काल क्षतिपूर्ति दिइनुपर्छ ।’
गाउँपालिकाले किसान र समूहलाई प्रतिबिरुवा ७५ प्रतिशत अनुदानमा बिरुवा दिएको छ । यसमा व्यक्तिलाई प्रतिबिरुवा २ सय र समूहलाई ८ सयका दरले वितरण गरिएको हो । उक्त मूल्यमा किसाने २५ प्रतिशत रकम मात्रै बेहोरेका छन् । किसानले बिरुवा खरिदमा बेहोरेको २५ प्रतिशत रकमसहित आवश्यक क्षतिपूर्ति तत्काल पाउनुपर्ने किसान भूपेन्द्र मल्ल बताउँछन् ।