महोत्तरी– महोत्तरीको लोहारपट्टीका ५५ वर्षीय रामराय यादवले उखु खेतीबाटै परिवार धान्दै आएको वर्षौं भएको छ । उनका ४ छोरा र २ छोरीलाई पढाइ–लेखाइदेखि विवाह गर्नसम्म २ बिघा जमिनमा लगाएको उखु खेतीले धानेको थियो, कुनै बेला ।
तर, गत ५ वर्षदेखि उखु मिल मालिकले समयमा भुक्तानी दिन छाडेपछि घरायसी खर्च चलाउनसमेत ऋण नै लिनुपर्ने बाध्यता भएको यादवको गुनासो छ । यादवले उखु खेतीको ऋण मात्रै ७ लाख रुपैयाँभन्दा बढी नाघिसकेको सुनाए ।
‘अब पनि यही उखु खेतीलाई निरन्तरता दिने हो भने हामीजस्ता किसानको उठिबास नै लाग्ने अवस्था आयो । यसपालिबाट उखु खेती छाडेर अन्य बाली लगाउने निर्णय गरिसकेको छु’, यादवले भने ।
यादवजस्तै भुक्तानी समस्याले खेतीबाटै पलायन भएका महोत्तरी स्थानीय तहमा सयौँ किसान छन् । वर्षभरि ऋण गरेर खेतीपाती गर्ने तर त्यसैबाट फाइदा लिने आशा गरेका किसानले समयमै भुक्तानी नपाउँदा समस्या बढ्दै गएको हो ।
महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ४ का किसान हीरालाल महतोले पनि गत वर्ष ३ बिघा क्षेत्रफलमा उखु खेती गरेका थिए । तर, यसपालि १ बिघामा गर्दा पनि फाइदा हात लाग्यो शून्य भएपछि उखु खेतीलाई सधैँका लागि त्यागेको उनी बताउँछन् ।
महोत्तरीका सबै किसानको एउटै प्रतिनिधि समस्या छ, ऋण काढेरै खेतीपाती गर्नुपर्ने बाध्यता । सिँचाइ कम हुने सुक्खा क्षेत्रमा उखु खेती नै लगाउनुपर्ने बाध्यताका कारण किसान साहूले समयमै भुक्तानी नदिँदा समस्यामा पर्दै आएका छन् ।
अझ साहूले मिटर ब्याज लगाउने भएकाले कतिपय किसानले दोब्बर, तेब्बरसम्म तिर्नुपर्दा जग्गा नै जिम्मा लगाउनुपर्ने बाध्यता छ । गौशाला नगरका २ घरका किसानले मिटरब्याजी विजय महतोका कारण गाउँ नै छाडनुपर्ने बाध्यता भएको स्थानीय सुनाउँछन् ।
नगदे बालीको उधारो कारोबारले समस्या भोगिरहेका यहाँका उखु खेती किसानले भुक्तानीका लागि सास्ती भएपछि वैकल्पिक खेतीमा लाग्ने तयारी गरेका छन् । बर्दिबासदेखि जलेश्वरसम्म १५ वर्षदेखि उखु खेती गर्दै आएका किसान विस्तारै उखु खेती त्यागेर अन्नबालीतर्फ आकर्षित हुन थालेका छन् ।
लामो समयदेखि उखु खेती गर्दै आएका किसानले यसलाई त्यागेर गहुँ, मकै खेतीको सहारा लिनुपर्ने अवस्था आएको हो । करिब २० हजार बिघामा व्यावसायिक उखु खेती हुने महोत्तरीमा अहिले यो क्रम घट्दै गएको छ । अहिले जिल्लामा ६ हजार ५ सय बिघामा उखु खेती भइरहेको उखु उत्पादक कृषक संघ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले जानकारी दिए ।
उनले भने, ‘यसपालि ६ हजार ५ सय बिघामा उखु बाली छ । यसमध्ये २ हजार ५ सय बिघामा खुट्टी (दोस्रो वर्षको बाली) उखु छ । अर्काे वर्ष कुल उखु खेती ३ हजार बिघामा झर्छ ।’
एक पटक रोपेर दुई बाली लिइने उखुमा पहिलोलाई ‘मुडन’ र दोस्रो वर्षकोलाई ‘खुट्टी’ भनिन्छ । यसपालि नयाँ उखु बाली लगाउने किसान नदेखिएपछि खेती घट्ने देखिएको हो ।
उखु खेतीलाई सरकारले राष्ट्रिय बालीको रूपमा घोषणा गरिसकेको छ । तर, नगदे बाली भनिएको उखुको उधारो कारोबारले किसानलाई अहिले सोही खेती निल्नु न ओकल्नु भएको छ ।
महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर १ रामनगरस्थित एभरेष्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु कटानको चलान पुर्जी दिन थालेको छ । तर, मूल्य निर्धारण नहुँदै आफ्नो उत्पादन बुझाउनुपर्ने भए पनि भुक्तानीको ग्यारेन्टी नहुँदा किसान अलमलमा छन् ।
गौशाला नगरपालिकामा प्रतिक्विन्टल उखुलाई मिलले ५ सय १७ रुपैयाँ निर्धारण गरेको छ भने किसानले ६ सय १७ रुपैयाँ माग गरेका छन् ।
विदेशबाट आयातीत चिनी रोकेर नेपालकै उत्पादनले आत्मनिर्भर बन्न सकिने विज्ञहरूले अध्ययन प्रतिवेदन र सुझाव सरकारलाई बारम्बार पेस गरे पनि विदेशबाट चिनी आयात रोकिनुको साटो झनै बढेको छ ।