तेह्रथुम- हिउँद तथा सुख्खायाममा सिँचाइ गर्न सुख्खाग्रस्त क्षेत्रका किसानका लागि प्लास्टिक पोखरी प्रभावकारी बनेको छ । पानीको स्रोत पर्याप्त नहुँदा तेह्रथुमका सुख्खाग्रस्त क्षेत्रका किसानले वर्षाको पानी प्लास्टिक घरमा संकलन गरी हिउँदेबाली र तरकारी खेतीमा सिँचाइ गर्दै आएका छन् ।
जलवायु परिवर्तनका कारण गाउँमा भएका पानीका मुहान सुकेसँगै हिउँदेबाली लगाउन नपाएका छथर गाउँपालिकाका किसानले पछिल्लो समय अकासे पानी संकलन गरी तरकारीमा सिँचाइ गर्न थालेका छन् ।
वर्षौंदेखि उपयोग गरेका पानीको मुहान सुकेपछि पिउने पानी जोहो गर्न घण्टौँ हिँडेर पिठ्युँमा पानी बोकेर खेती किसानी गर्नुपर्ने बाध्यता तेह्रथुमको छथर गाउँपालिकाका स्थानीयको बाध्यता हटेको छ । स्थानीय सरकारले प्लास्टिकमा पानी जोहो गराएसँगै अहिले किसानको दिनचर्या पनि फेरिएको छ ।
किसानले तरकारी बाली तथा फलफूल खेतीलाई सिँचाइ गर्न प्लास्टिक पोखरी बनाएर पानी संकलन गर्दै आएका छन् । किसानले पोखरीमा संकलन गरेको पानीले हिउँदमा रायोको साग, खुर्सानी, आलु, गोलभेँडा, प्याज, लसुन, मटरकोसा, काउली, धनियाँलगायतका तरकारी खेतीमा सिँचाइ गर्दै आएका छन् । किसानलाई प्लास्टिक पोखरी अनुदानमा दिने कार्यक्रम ल्याएसँगै किसानलाई सिँचाइ गर्न सहज भएको स्थानीय बताउँछन् ।
प्रशस्त खेतीयोग्य जमिन भए पनि सिँचाइ अभावका कारण कति जमिन बाँझै छन् । किसानमा हिउँदेबाली तथा तरकारी खेतीका लागि प्लास्टिक पोखरी बनाउनेको होड नै चलेको छ । गाउँका धेरै किसानले घरछेउमै १ लाख लिटर क्षमताका प्लास्टिक पोखरी निर्माण गरेका छन् ।
पोखरीमा भान्सामा प्रयोग भएर खेर गएको, बढी भएको पिउने पानीसमेत संकलन गर्ने गरिएको छ । किसानले सुख्खा मौसममा यही पानी पाइपबाट तानेर करेसाबारीसम्म पुर्याएर तरकारीमा सिँचाइ गर्दै आएका छन् । सुख्खाग्रस्त वस्तीका किसानको समस्यालाई मध्यनजर गर्दै छथर गाउँपालिकाले अनुदानमा प्लास्टिक पोखरी वितरण गरेको थियो । प्लास्टिक पोखरी किसानका लागि प्रभावकारी भएकाले चालू आर्थिक वर्षका लागि गाउँपालिकाले थप रकम छुट्याउने जनाएको छ ।
खेतीका लागि नै अपनाइएको विकल्पले प्रभावकारी रूप लिँदा अहिले प्लास्टिक पोखरी बनाउन किसान आफैँ हौसिएका छन् । वर्षायाममा गरिने खेतीभन्दा राम्रो आम्दानी लिन सकिने भएकाले पनि हिउँदेबालीमा किसानको आकर्षण पनि बढ्दै गएको छ ।