खोटाङ- खोटाङमा यो वर्ष रोग प्रकोपका कारण सुन्तला उत्पादन ह्वात्तै घटेको छ । औंसा किरा, सिट्रस ग्रिनिङ, गुमोसिस (चोप आउने) लगायत समस्याका कारण यो वर्ष सुन्तला उत्पादन घटेको हो ।
गत वर्षको तुलनामा यो वर्ष ४९.४३ प्रतिशतले सुन्तला उत्पादन घटेको कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ एवं सूचना अधिकारी देवराज गुप्ताले बताए ।
गत वर्ष ७ सय ४० हेक्टरमा ६ हजार ५ सय ८६ मेट्रिक टन सुन्तला उत्पादन भएकामा आर्थिक वर्ष २०७७÷७८ मा सोही क्षेत्रफलमा ३ हजार ३ सय ३० मेट्रिक टन मात्र उत्पादन भएको उनले जानकारी दिए ।
सुन्तला उत्पादनमा आएको कमीका कारण दिक्तेल, खोटाङबजार, हलेसी, चिसापानीलगायत हाटबजारमा कम मात्रामा सुन्तला बिक्री गर्न ल्याइएका छन् ।
२ नगरपालिका र ८ गाउँपालिका रहेको खोटाङको याम्खा, लामिडाँडा, टेम्मा, चिसापानी, डम्बर्खुशिवालय, दिप्लुङ, रतन्छा, मंगलटार, सल्ले, काहुले, राजापानीलगायतका २६ भन्दा बढि वडामा व्यावसायिक रूपमा सुन्तला उत्पादन हुने गरेको छ ।
गाउँ–गाउँमा सडकको पहुँच विस्तारसँगै याम्खा, टेम्मा, चिसापानीको घोर्लेलगायतका कतिपय ठाउँका किसानको बगानमा उत्पादन भएका सुन्तला सीधै ठेकेदारमार्फत तराई निर्यात हुने गरेको स्थानीय बताउँछन् ।
जिल्लामा उत्पादित सुन्तला सबैभन्दा बढी उदयपुरको बेल्टार हुँदै इटहरी, धरान, विराटनगरलगायत सहरमा पुग्ने गरेको छ ।
दिक्तेल, हलेसी, बाक्सिला, रभुवा, खोटाङबजार, चिसापानीलगायतका बजारमा अहिले सरदर प्रतिदाना ५ रुपैयाँ तथा प्रतिकेजी १ सय रुपैयाँ हाराहारी सुन्तला खरिद बिक्री भइरहेको छ ।
सुन्तला खेतीबाट राम्रो आम्दानी गर्ने सम्भावना भए पनि सरकारी निकायबाट उचित सहयोग पाउन नसकेको कृषकको गुनासो छ ।
सरकारी निकायबाट प्याकेजिङ, ग्रेडिङ, प्रशोधन र ढुवानीमा सहयोग भए सुन्तलाबाट आर्थिक समृद्धि प्राप्त गर्न सकिने याम्खाका कृषक रामबहादुर कुँवरले बताए ।
जयरामस्थित दूधकोसीमा पक्की पुल तथा फोक्सिङटारस्थित सुनकोसीमा राखिएको अस्थायी बेलीब्रिजका कारण बाटो खुलेकाले कतिपय सुन्तला जिल्लाबाट सीधै सहर पुर्याउने वातावरण बनेको छ ।
खोटाङमा उत्पादित सुन्तलामध्ये करिब ४५ प्रतिशत बजार पुग्ने गरेको अनुमान छ । सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय जिल्लामा सुन्तला खेती लगाउने किसान बढिरहेका छन् ।
कृषि ज्ञान केन्द्र वा कृषि फर्मबाट सुन्तलाको बेर्ना लगेर मकै, कोदो फल्ने बारीमा रोप्ने किसान बढेका हुन् ।
जिल्लाका कतिपय स्थानीय तहले समेत पकेट क्षेत्र विस्तार गरी सुन्तला खेती प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिरहेका छन् ।