सुर्खेत– कोरोना महामारीका कारण बन्द भएको हाटबजार दस महिनासम्म पनि नखुल्दा किसानको तरकारी बारीमै कुहिन थालेको छ ।
पञ्चपुरी नगरपालिकाकोे बाबियाचौरमा हरेक शनिबार सञ्चालन हुँदै आएको कृषि हाटबजार बन्द भएको दस महिना बितिसक्दा पनि सञ्चालन हुन नसकेको हो ।
कोरोना महामारीका कारण बन्द गरिएको कृषि तथा पशु हाटबजार गत वर्षको चैतदेखि बन्द भएको थियो । प्रत्येक शनिबार सञ्चालन हुने हाटबजारमा स्थानीय कृषकको उत्पादन र पशुहरू किनबेच हुने गथ्र्यो ।
‘हाटबजार सञ्चालन भएपछि उत्पादित तरकारी बिक्री हुन्थ्यो । घरखर्च चल्थ्यो । अहिले त नियमित व्यापार हुन छाड्यो । बारीमा लगाएको तरकारी पनि कुहियो’, स्थानीय लक्ष्मी बयकले भनिन् ।
हाटबजारमा बराहताल, पञ्चपुरी र चौकुनेका व्यापारी खरिदारी गर्न आउँथे । नगरपालिकाले कोरोना महामारीका कारण हाटबजार बन्द गराए पनि भेला, गोष्ठी भने नियमित चलिरहेका छन् ।
दैनिक हाटबजारमा आउने कृषक व्यापारीबाट वडा नम्बर ५ ले आन्तरिक कर उठाउँदै आएको छ ।
पञ्चपुरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर बुढाले हाटबजार सञ्चालनका लागि अर्काे नगर कार्यपालिका बैठक कुर्नैपर्ने बताए । ‘कार्यपालिका बैठकमा छलफल गरी हाटबजार सञ्चालनको विषय टुंग्याइनेछ’, बुढाले भने । कृषि हाटबजार सञ्चालन हुने ठाउँ अहिले जताततै फोहोर र पशु चरन स्थल बनेको छ ।