मुस्ताङ– हिमाली जिल्ला मुस्ताङबाट यसवर्ष ७१ करोड रुपैयाँको स्याउ जिल्ला बाहिर निकासी भएको छ । ७१ सय ५० मेट्रिक टन स्याउ सरदर प्रतिकेजी एक सय रुपैयाँमा ठेक्का मार्फत बिक्री गर्दा उक्त मूल्यको स्याउ निकासी भएको हो ।
जिल्लामा उत्पादन भएको ८५ प्रतिशत स्याउ देशका विभिन्न बजारमा निकासी भएको र १५ प्रतिशत कम गुणस्तरको स्याउ प्रशोधनका लागि मुस्ताङमै खपत हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई मुस्ताङले जनाएको छ ।
गतवर्ष मुस्ताङमा ६५ सय मेट्रिक टन स्याउ उत्पादन भएकोमा यसवर्ष ५ सय ५० मेट्रिक टन स्याउ बढी फलेको परियोजना कार्यान्वयन इकाई मुस्ताङका प्रमुख डा. सुधिर थापाले जानकारी दिए ।
उनका अनुसार परियोजनाले मुस्ताङको थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्रका विभिन्न व्यक्ति तथा फार्मको स्याउ बगैचा सर्भेक्षण गरिएको जनाएको छ ।
मुस्ताङको तल्लोक्षेत्र थासाङको कोवाङ र टुकुचेमा विगतभन्दा केही कम मात्रामा स्याउ फलेको भए पनि जिल्लाको घरपझोङ र वारागुङ मुक्तिक्षेत्रमा भने विगतभन्दा राम्रो र गुणस्तरीय स्याउ उत्पादन भएको परियोजना इकाई प्रमुख डा. थापाले जानकारी दिए ।
मुस्ताङको थासाङमा मौसमी आद्रताका कारण स्याउमा प्रकोप देखिए पनि केही किसानले स्याउ बगैँचा व्यवस्थापनमा ध्यान दिएकाले उत्पादन तथा गुणस्तरमा फरक नपरेको इकाई प्रमुख थापाको भनाइ छ ।
मुस्ताङमा स्याउ खेती गरिएको कुल क्षेत्रफल १४ सय हेक्टर भए पनि जम्मा ५ सय हेक्टर जमिनमा लगाइएको बोटले उत्पादन दिन्छ । मुस्ताङको अनुकुल हावापानी, स्याउ खेती विस्तार तथा प्रर्वद्धन, प्रविधिको विकास, स्याउमा लाग्ने प्रकोप नियन्त्रण र बगैचा व्यवस्थापनमा प्रगति भएकाले स्याउ उत्पादन वृद्धि भएको डा.थापाले बताए ।
किसानको स्याउ बगैचामै प्रतिकेजी एकसय रुपैयाँ बढीमा ठेक्का मार्फत बिक्री भएको छ । स्याउ उत्पादनले प्रसिद्ध हिमाली जिल्ला मुस्ताङको टुकुचे, कोवाङ, मार्फा, जोमसोम, कागबेनी छुसाङ र मुक्तिनाथ लगायतका स्थानमा व्यावसायिक रुपमा स्याउ खेती गरिन्छ ।