डडेल्धुरा - डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा- ४ रुमायल बन्तोलका देवराज भट्ट कोरोना महामारीका कारण गत १० चैतमा भारतबाट आफ्नो गाउँ फर्किए ।
कोरोनाले हरेक क्षेत्र धराशयी बन्दै गएका बेला भट्टलगायत उनका दौँतरीहरूले गाउँमा रहेको ९० रोपनीभन्दा बढी बाँझो जमिनमा आलु खेती सुरु गरे । यतिबेला बाँझो जमिन सदुपयोग गरेर आलु रोपिएपछि आम्दानीले झोली भरिने आशमा भट्ट दौँतरीहरू बसेका छन् ।
भट्ट भन्छन् ‘करिब ३० वर्षदेखि बाँझो रहेको जमिनमा आलु खेती गर्ने आँट गरेका हौँ । कता-कता मनमा डर लागिरहन्थ्यो आलु फल्दैन कि भनेर । तर, आलु रोपेको जमिन हरियालीमा परिणत भएपछि मनमा आश पलाएको छ । अहिले ६ जनाको समूहले बारीमा काम गर्छाैं ।’
आफ्नै ठाउँगाउँमा कृषिबाट परिवर्तन ल्याउनुपर्छ भनेर युवाहरूले कृषि खेती सुरु गरेका हुन् । ३० क्विन्टल आलु र अढाई क्विन्टल लसुन लगाउँदा १५ देखि २० लाखसम्मको खर्च लागेको अर्का साझेदार जयराज भट्ट सुनाउँछन् ।
‘कोरोना महामारीका कारण भारतलगायत अन्य देशबाट फर्किएका युवाहरू जुटाएर आधुनिक कृषि खेती सुरु गरेका हौँ । अहिले आलु स्याहार्दा बारी नै प्यारो लाग्न थालेको छ ।’ गाउँपालिकाले अनुदानमा बिउ, मल, औषधी, प्राविधिक सहयोग दिएपछि बाँझो जग्गालाई हराभरा बनाउन स्थानीय जुटेका हुन् ।
३० वर्ष पहिलो परम्परागत रुपमा आलु खेती गरिने ठाउँ गाउँका तन्नेतरी वैदेशिक रोजगारीका लागि पलायन भएपछि त्यहाँका स्थानीयले आलु खेती गर्न छाडेका थिए । तर, अहिले तिनै गाउँलेले समूह बनाएर सामूहिक खेती सुरु गरेका हुन् ।
कृषि उपजको बजारीकरण र ढुवानीका लागि पालिकाले नै व्यवस्था गरिदिने भएपछि किसानका बाँझा जग्गा आलु खेतीले भरिन लागेका छन् । रोजगारीका लागि गाउँदेखि बजार झर्नेको संख्या बढेसँगै गाउँ नै रित्तिने अवस्था अन्त्य गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने सरोकारवाला बताउँछन् ।