बाग्लुङ– तमानखोला गाउँपालिका वडा नं.– ४ का जगबहादुर छन्त्यालले अघिल्लो वर्ष ५० मुरी आलु फलाएका थिए । यस वर्ष उनको बारीमा आधा आलु घट्यो । २५ मुरी आलु पु¥याउन हम्मे परेको उनले बताए ।
गत चैतदेखि लगातार वर्षातले असार साउनमा आलु खन्दा बारीमै कुहिएको थियो । अघिल्लो वर्ष म्याग्दी र बाग्लुङका बजारमा बेचेर घरखर्च चलाएका छन्त्यालले यस वर्ष नाफा कमाउन नसकेको बताए । उनले प्रति धार्नी १०० रुपैयाँमा बेच्ने गर्थे । एक लाख रुपैयाँको आलु बेचेका उनले यस वर्ष ५० हजार रुपैयाँमा खुम्चिनुपरेको गुनासो गरे ।
स्थानीय फारमदेवी छन्त्यालले १०० मुरी आलु फलाउने गरेकामा यस वर्ष ४० मुरी पनि नपुगेको बताइन् । दुई लाख रुपैयाँभन्दा बढी कमाउने उनले यस वर्ष साह्रै थोरै मात्र कमाइ गर्न सकेको दुखेसो गरिन् ।
‘पोखरा, बेनी र दरवाङका व्यपारीलाई बेच्थ्यौँ, अहिले गाउँघरमा खान पनि नपुग्ने भयो’, उनले भनिन्, ‘मौसमले गर्दा किसान मारमा परेका छन् ।’ उनले कृषि क्षेत्रमा बिउ र मलमा अनुदान चाहिएको बताइन् ।
यहाँको वडा नम्बर ४ का २४० घरमा आलु लगाइन्छ । हरेक घरमा १० मुरीदेखि ८० मुरीसम्म उत्पादन गरिँदै आइएकामा यस वर्ष आधा घटेको हो ।
समुद्री सतहदेखि दुई हजार ४०० मिटरको उचाइ भएकाले यहाँ धान उत्पादन हुँदैन । कोदो, मकै र फापर मात्र फल्ने भएकाले यहाँका अधिकांशले आलु खाएर पनि दैनिकी चलाउने गर्छन् ।
‘आलु थोरै फल्दा किसानलाई नोक्सानी परेको छ’, वडा अध्यक्ष उदिमबहादुर छन्त्यालले भने, ‘गाउँपालिकाबाट बिउ र मलमा केही अनुदान दिन सकियो भने किसानलाई राहत पुग्नेछ ।’ खानाको सट्टा आलु खानुपर्ने किसानलाई मौसमले चुनौती दिएको उनले बताए ।
उत्पादन घटेको थाहा पाएपछि बाग्लुङदेखि ट्र्याक्टर लिएर आलु लिन जाने व्यापारी पनि तमानखोला गएका छैनन् । ‘अघिल्लो वर्ष ट्र्याक्टर पठाएर किनेका थियौँ, अहिले छैन भनेर गइएन’, बाग्लुङ बजारका होलसेल व्यपारी गणेश कँडेलले भने, ‘छिटफुट आउने आलु बजारमा महँगो पनि भएको छ ।’
अघिल्लो वर्ष ५० रुपैयाँ प्रतिकिलोमा पाइने आलु यस वर्ष १०० रुपैयाँ पर्न थालेको कँडेलले जानकारी दिए ।
तमानका किसानले अहिलेसम्म स्थानीय जातकै आलु लगाउने गर्छन् । यहाँ रसायनिक मल प्रयोग हुँदैन । विकासे जातको आलु नलगाइएकाले स्थानीय आलुकै बिउ जोगाउने काममा साथ दिने गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए ।
‘बिउ र मलमा अनुदान दिने भन्दा विकासे जात भित्रिने खतरा हुन्छ, त्यसैले घरमा भएको जोगाउन प्रोत्साहित गर्छौं’, बुढाले भने, ‘तत्काल खानका लागि मात्र बजारको खरिदमा साथ दिन्छौँ ।’
यहाँका वडा नं. ३ को तमान, ४ को लामेला, ५ को खुंखानी र ६ को नर्जाखानीमा विकासे आलु भित्रिएको छैन ।
यो क्षेत्र आलु जोनमा पनि समावेश छ । मौसमको प्रतिकूलताले उत्पादनमा गिरावट आएकाले किसान मारमा परेका कारण राहतबारे छलफल भइरहेको कृषि ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले बताए ।
‘किसानलाई कस्तो राहत दिँदा परंपरागत आलु जोगाउन सकिन्छ कि भन्ने छलफलमा छौँ’, रेग्मीले भने, ‘उत्पादन भएकोबाट बिउ जोगाउने र खानका लागि केही राहत उपलब्ध गराउनुपर्छ ।’
रेग्मीका अनुसार जिल्लामा ४० हजार मेट्रिक टन आलु उत्पादन हुने गरेकामा यस वर्ष कमी आएकोछ । अत्याधिक वर्षाले उत्पादन घटेको उनले बताए । यहाँको आलु भनेपछि उपभोक्ताले खोजीखोजी खाने गर्छन् । धान उत्पादन नहुने भएकेले तमानखोला गाउँपालिका र ढोरपाटन नगरका वडा नं. ६, ७, ८ र ९ मा पनि आलु खाएरै दैनिकी चलाउने गरिन्छ ।