close

कुखुरा पालेर कतार, साउदीका पसिनाको मूल्य असुली

कुखुरा पालेर कतार, साउदीका पसिनाको मूल्य असुली

Trulli
ADVERTISEMENT

उदयपुर- वैदेशिक रोजगारबाट फर्किएपछि व्यावसायिक लोकल कुखुरापालन गरेर यहाँका एक युवाले समृद्धि फेला पारेका छन् । साउदी र कतारमा सात वर्ष काम गरेर फर्किएका उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहाका दिनेश निरौलाले लोकल कुखुरापालन गरेर वार्षिक साढे चार लाख आम्दानी लिन थालेका हुन् ।


निरौलाले लोकल कुखुरापालन सुरु गरेको एक वर्र्षै उक्त आम्दानी गर्न सफल भएका छन् । ‘साउदी अरब र कतारमा गरी करिब सात वर्षको वैदेशिक रोजगारीमा रहें । त्यहाँ खासै आम्दानी नभएपछि आप्mनै गाउँ फर्किएर लोकल कुखुरापालनमा लागेको हुँ’, निरौलाले भने, ‘मिहिनेत र परिश्रम गरे विदेशमा होइन, स्वेदशमा पनि राम्रो आम्दानी लिन सकिने रहेछ ।’


वैदेशिक रोजगारी छाडेर मासु र अन्डा उत्पादन गर्ने उद्देश्यले लोकल कुखुरा फर्म सञ्चालन गरेको उनले सुनाए  ।


उत्पादनभन्दा बढी माग आउने गरेकाले धान्न नसकिएको निरौला बताउँछन् । विदेशमा गर्ने परिश्रमको आधा समय दिँदा पनि कुखुरापालनबाट राम्रो आम्दानी हुने उनको अनुभव छ ।


‘पछिल्लो समय लोकल कुखुराको मासु र अण्डाको माग बढ्दै गएको छ । उपभोक्ताको माग पूर्ति गर्न नमुना लोकल कुखुरा फर्म दर्ता गरी व्यावसायिक कुखुरापालनमा लागेको हुँ’, निरौलाले भने ।


सामान्य खोर निर्माण गरी सञ्चालन गरिएको लोकल कुखुरा फर्मबाट हालसम्म करिब ३ लाख ५० हजारको मासु र ८० हजारको अण्डा बिक्री गर्न सफल भएको निरौला सुनाउँछन् । निरौलाको फर्ममा हाल माउ, चल्ला र भाले समेत गरी विभिन्न प्रजातिका करिव ६ सय ५० थान लोकल कुखुरा छन् ।


उदयपुरमा बोइलर, गिरिराज र लियर्स जातका आधुनिक कुखुरापालन गर्ने व्यवसायीहरू पछिल्लो समय बढ्दै गएका छन् । तर, फर्म नै दर्ता गरेर पाँच लाखको लगानीमा लोकल कुखुरापालन गर्ने निरौला पहिलो हुन् ।


ओथारो बस्ने, चारो खाने, चल्ला चराउने र अण्डा पार्ने अलग–अलग ठाउँको व्यवस्था गरी करिब १० कठ्ठा जग्गामा चारैतिर तारले घेराबेरा गरेर बनाइएको आधुनिक खोर तथा खुला चरण क्षेत्र भएकाले दुम्सी, घाँटी खुइले, लुइचे जातका लोकल कुखुरापालन गर्दै आएको निरौलाले जानकारी दिए ।


‘अहिले पनि दर्जन बढी माउ पोथी ओथारोमा रहेकाले चल्ला कोरलेपछि गरेको परिश्रम र लगानी झनै बढ्ने आश छ’, निरौलाले भने, ‘खोर निर्माणमा स्वरोजगार कार्यक्रममार्फत सरकारी सहयोग भए लोकल कुखुराको स्वस्थकर मासु उत्पादनलाई थप प्रभावकारी बनाउन सकिन्छ ।’


बजारमा लोकल कुखुराको मासु प्रतिकिलो सात सयले बिक्री हुँदै आएको यसको माग अझ बढ्दै गएको अवस्थामा सरकारले कुखुरा पाल्न चाहने बेरोजगार युवालाई युवा लक्षित कार्यक्रममार्फत अनुदान दिनुपर्ने निरौलाको माग छ ।


त्रियुगा नगरप्रमुख बलदेव चौधरीले नगरपालिकालार्ई दूध, मासु र अण्डामा आत्मनिर्भर बनाउने लक्ष्यका साथ पशु तथा कुखुरापालनमा प्रोत्साहित गर्न व्यवसायीलाई गोठ, खोर निर्माण तथा सुधारका लागि आर्थिक अनुदान व्यवस्था गरिन लागेको जानकारी दिए ।


यस्तै, चौदण्डीगढी नगरपालिका– ९ का कुखुरा व्यवसायी बौवा राउतका अनुसार लियर्स तथा लोकल कुखुरापालन निकै खर्चिलो हुन्छ । ‘उन्नत जातका चल्ला अभाव, अत्याधुनिक खोर बनाउन कठिन, लाइटिङ मिलाउन समस्या र चारा नपाइनेलगायतका कारणले  र्आिर्थक स्थिति कमजोर भएका व्यवसायीले चाहँदैमा यसलाई व्यावसायिक बनाउन सकिँदैन’, राउत भन्छन् ।