रूपन्देही - रूपन्देहीको सैनामैना नगरपालिकाले कोरोनाबाट रोजगारी गुमाएकाहरूलाई कृषिमार्फत स्वरोजगार बनाउने भएको छ ।
यसका लागि नगरप्रमुख चित्रबहादुर कार्कीले स्थानीय कृषकलाई कृषि सामग्री हस्तान्तरण गरेका छन् । आज एक कार्यक्रमका बीच नगरप्रमुख कार्कीले सैनामैना- ५ दोगहरामा रहेको जनजागरण स्वावलम्बन सहकारी संस्थालाई स्वचालित हाते धान काट्ने मेसिन हस्तान्तरण गरेका हुन् । सो सहकारीले अहिले जग्गा लिजमा लिएर कृषि कार्य गरिरहेको छ ।
नगरप्रमुख कार्कीले सो अवसरमा अबको कृषि आधुनिक कृषि सामग्रीको प्रयोगविना असम्भव रहेको बताउँदै राम्रो काम गरेका कृषि फर्म र सहकारीलाई नगरपालिकाले सहयोग गर्दै आइरहेको बताए ।
कोरोना भाइरसका कारण बेरोजगार बन्न पुगेका युवाहरूलाई कृषिमार्फत स्वरोजगार बनाउन नगरपालिका लागेको नगरप्रमुख कार्कीले बताए । जग्गा लिजमा लिएर सामूहिक कृषि प्रणालीमार्फत कृषि कार्य गर्न खोज्ने युवालाई नगरपालिकाको पूर्ण साथ र सहयोग रहने कार्कीको भनाइ छ ।
कृषि उत्पादनको बजार व्यवस्थापनलाई नगरपालिकाले विभिन्न ठाउँमा हाट बजारको व्यवस्था गर्दै गरेको पनि उनले बताए । थोरै जमिनमा धेरै उत्पादन गरी कृषक लाभान्वित हुन सके मात्र कृषक आफ्नो पेसामा टिक्न सक्ने र उनीहरूलाई टिकाउने काम नगरपालिकाले गरेको कार्कीको भनाइ छ ।
सेतो गुराँस बालविकास सेवा रूपन्देहीकी निर्देशक सुमित्रा शर्माले सैनामैना नगरपालिकाले कृषि क्षेत्रमा राम्रो काम गरेको भन्दै संस्थागत रूपमा यस क्षेत्रमा काम गर्न सहज भएको बताइन् । उक्त सहकारीले त्यस क्षेत्रमा निकै राम्रा काम गर्दै आइरहेको छ । सहकारीले अहिले आठ बिघा जग्गा लिजमा लिएर कृषि कार्य गरिरहेको छ ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोगमा सेतो गुराँस बालबिकास सेवाको आयोजनामा सैनामैना नगरपालिकालाई सो सामग्री हस्तान्तरण गरिएको थियो भने नगरपालिकाले उक्त सहकारीलाई पूर्ण अनुदानमा सामग्री प्रदान गरेको हो ।
कृषि सामग्री प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै सहकारीका अध्यक्ष हेमराज भट्टराईले उपलब्ध सामग्रीको पूर्ण उपयोग गरिने बताए ।