ओखलढुंगा - गाउँमा खुसार्नी बेचेर लखपति होइन्छ भन्दा धेरैलाई पत्यार नलाग्ला । तर, सिद्धिचरण नगरपालिका-९ ज्यामिरेका ३१ वर्षीय तेजनारायण श्रेष्ठले अकबरे खुसार्नी बेचेरै वर्षमा १५ लाखसम्म आम्दानी गर्छन् । उनलाई अकबरेबाट गाउँमै पैसो कमाउन सकिन्छ भन्ने लागेको भने विदेशमा दुःख पाएपछि मात्रै हो ।
९ वर्षअघि पैसाको बिटो कमाएर ठूलो घर बनाउने सपना बोकेर कतार हानिए, श्रेष्ठ । धनैधनको सपना बुनेर कतार पुगेका उनले त्यहाँ प्रगति गर्न सकेनन् । कतारबाट गाउँ फर्किए । गाउँमा काम गर्ने मेसो नपाएपछि फेरि मलेसिया घुसे ।
मलेसियाले पनि उनको सपना पूरा गर्न सकेन । जसोतसो साढे २ वर्ष त्यहाँ समय बिताएर नेपाल फर्किएका उनी अकबरे खुर्सानीको खेती गरेर मालामाल बनिरहेका छन् । चार वर्षदेखि उनी आफ्नै बारीमा अकबरे उत्पादन गरेर नगरपालिकाकै अगुवा किसान बनेका छन् ।
निर्वाहमुखी खाद्यबाली त्यागेर सुरुमा उनले ११ रोपनी जग्गाबाट अकबरे खेती थालेका थिए । चार वर्षको अन्तरमा अहिले उनले भाडामा लिएको जग्गासहित २७ रोपनीभन्दा बढी क्षेत्रमा अकबरे खुर्सानी र तरकारी खेती गरिरहेका छन् । अन्य व्यवसायमा अहिले कोरोना महामारीले चौपट भए पनि उनलाई असर पारेको छैन । न त अकबरे बेच्न बजारै खोज्नु परेको छ ।
मल्चिङबाट मालामाल
मल्चिङ प्रविधिबाट गरेको खेतीले मनग्गे आम्दानी दिइरहेको छ । उनले वार्षिक १५ लाख रुपैयाँ बढीको अकबरे खुर्सानी बेचिरहेका छन् । सातामा शनिबार र बुधबार दुई पटक ओखलढुंगा सदरमुकाममा लाग्ने हाटमा उनले खुर्सानी बिक्री गर्दै आएका छन् ।
मल्चिङ विधि अपनाएर खेती गर्ने श्रेष्ठ जिल्लाकै पहिलो किसान हुन् । यो विधि अपनाउँदा उत्पादन लिन सकिन्छ भनेर सुरुमा कसैले विश्वासै गरेनन् । गाउँलेले मात्र नभएर बाआमाले समेत उनलाई गाली गरे । तर, उत्पादन दिन थालेपछि भने सबैले विश्वास गरेको श्रेष्ठले बताए ।
उनले इन्टरनेटको माध्यमबाट मल्चिङ विधिबारे थाहा पाएका हुन् । ‘विदेशबाट फर्किएपछि ४ वर्षअघि के गर्ने भनेर सोचिरहेको थिएँ’, श्रेष्ठले भने, ‘युट्युबमा मल्चिङ विधिबाट खेती गर्न सकिनेबारे थाहा पाएँ । त्यसैको आधारमा यो खेती सुरू गरेको हुँ ।’
के हो मल्चिङ प्रविधि
मल्चिङ विधिबाट कोरिया, जापानलगायतका देशले मनग्गे आम्दानी गर्दै आएका छन् । माटोको ड्याङ बनाई मल्चिङ प्लास्टिकभित्र बेर्ना रोपेर गरिने यो खेती विकसित मुलुकमा सफल मानिन्छ ।
खुला प्रविधिभन्दा यसले उत्पादन तेब्बर दिने र कम परिश्रम गर्नुपर्ने भएकाले सजिलो भएको श्रेष्ठले बताए । मल्चिङ प्लास्टिकका कारणले फेदमा धेरै झार नउम्रिने र गोडमेल गर्नु नपर्ने भएकाले यो प्रविधि सजिलो भएको उनको भनाइ छ ।
कसैको सहयोगबिना व्यक्तिगत पहलमा खेती सुरु गरेका श्रेष्ठले गरेको मल्चिङ प्रविधि बुझ्न र सिक्नका लागि किसानसमेत आउने गरेका छन् ।
‘परम्परागत खेतीसँग त अहिलेको आम्दानी तुलनै गर्न सकिन्न’, श्रेष्ठ भन्छन्, “अब कहिल्यै विदेश नजाने सोच बनाएको छु । अरूलाई पनि स्वदेशमै केही गर्न सल्लाह दिन्छु ।’