गुल्मी - माओवादी हिंसाका कारण धुर्कोट गाउँपालिका– ५ वस्तुका गणेशप्रसाद भण्डारीको परिवारले ०५४ मा गाउँ छाड्यो । त्यसपछि भण्डारीको परिवार नवलपरासीको नवलपुर गैंडाकोटमा बस्दै आयो । काम गर्ने कोही नभएपछि २४ वर्षसम्म ७६ रोपनी खेतीयोग्य जमिन बाँझै थियो । श्रीमती राधा स्थायी जागिर छन् ।
दुई वर्षअघि बुबाको मृत्यु भयो । उनले होटल सञ्चालन गर्थे । वुबाको मृत्युपछि उनी होटल बेचेर गाउँ फर्के । खेती नगरेका कारण बारी जंगलमै परिणत भएको थियो ।
अहिले भण्डारीको दैनिकी बारी र खलियान खनजोतमै बित्छ । उनले ४० रोपनीमा ९ सय ७३ सुन्तला र ५० कागतीका बिरुवा रोपेका छन् । रोपेको तीन महिना मात्रै भएकाले सुन्तलाका र कागतीका बिरुवाको स्याहारसुसारले फुर्सद छैन ।
अझै ४ सय सुन्तला र कागती, ३ हजार कफी, आलु र तरकारी रोप्ने योजना रहेको भण्डारी सुनाउँँछन् । ‘बाध्यताले तराई झरे पनि आफ्नै बारीमा सुन फलाउन गाउँ फर्किएको हुँ,’ उनले भने, ‘सुरुमा संरचना निर्माणसहित सुन्तला र कागती रोपिएको छ ।’ यिनले गाउँपालिकाबाट १ लाख २० हजार अनुदान पाएका छन् ।
सोही स्थानका रामप्रसाद पोख्रेलको पनि १५ रोपनी खेत चार वर्षदेखि बाँझै थियो । उनी ९ वर्ष मुग्लान बसे । ८० वर्षीया बूढीआमासहित श्रीमती गोमाले मात्रै काम गर्न सकिनन् ।
गत वर्ष माघमा पोख्रेल घर आए । केही समयमै कोरोना संक्रमणले सबै क्षेत्र ठप्प भए । उनी त्यसपछि परदेश फर्किएनन् ।
संक्रमणले भारतलगायत तेस्रो मुलुकबाट थुप्रै व्यक्ति गाउँ आए । गाउँपालिकाले बाँझो जग्गा उपयोगलाई प्रोत्साहन गर्ने अभियान थाल्यो । बाँझो जमिनमा खेती गर्नेले तीन किसिमको अनुदान पाउन थाले ।
आफ्नै खेत, आफ्नै खेती, त्यसैमाथि अनुदान । त्यो पोख्रेलका लागि अवसर बन्यो ।
बुट्यानजस्तै बनेको खेत फेरि खनजोत गरेर धान रोपे । अहिले धान फलेको छ । ‘गाउँपालिकाको अनुदान र उत्प्रेरणाले बाँझिएको खेत पुरानै अवस्थामा फर्काएँ,’ उनले भने,‘ अहिले करिब २०÷२५ मुरी धान फल्छ ।’
पोख्रेलले आफ्नै बाँझो जग्गा उपभोग गरेर धान खेती गरेबापत ५१ हजार अनुदान पाएको कृषि अधिकृत अन्जली गौतमले बताइन् । उनले बाँझो अवस्था र काम सुरु गरेपछिको अवस्थालाई अनुगमन तथा मूल्यांकन गरेर अनुदान प्रदान गरिएको जानकारी दिइन् ।
गुल्मीको धुर्कोट गाउँपालिकाले लकडाउन बढ्दै गएपछि बाँझो जग्गामा खेती गर्ने व्यक्ति र सहकारीलाई अनुदानको व्यवस्था गरेपछि पिपलधाराका युवाहरू सहकारी नै गठन गरेर सामूहिक कृषि खेतीतर्फ लागेका छन् ।
१० वर्षदेखि बाँझो रहेको २ सय ६० रोपनी जग्गामा सुन्तला र कागती खेतीसँगै भैंसी र बाख्रा फार्म सञ्चालन गर्ने योजना बनाएर अगाडि बढाएको उद्यमी चन्द्रबहादुर विकले बताए ।
धुर्कोट गाउँपालिका–२ को सिकर्मी डकर्मी बहुउद्देश्यीय सहकारी संस्थाले १५ वर्षलाई जग्गा लिज लिएको छ । २ सय ६० रोपनी जग्गालाई ३ भाग अर्थात् ३ प्लटमा वर्गीकरण गरिएको छ ।
यसमध्ये २ सय रोपनीमा ६ हजार कागती, ३० रोपनी जग्गामा तरकारी र मसलेदार खेती गरिएको छ । बाँकी ३० रोपनी जग्गामा ओखर खेती, गोठ तथा खोर निर्माण गरेर भैंसी, बाख्रा र लोकल कुखुरापालन सुरु गरिएको विकले बताए ।
धुर्कोट गाउँपालिकाले बाँझो जग्गा उपयोगमा तीन खाले अनुदानको व्यवस्था गरेको छ । सुन्तला, कागतीलगायतका अन्य फलफूल खेती गरेबापत प्रतिरोपनी ३ हजार र अन्नबारी तथा तरकारी वा मसलेदार खेती गरे प्रतिरोपनी ४ हजार र विपन्नले जग्गा लिजमा लिएर खेती गरे ५ हजारका दरले अनुदान उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कासीराम पन्थीले जानकारी दिए ।
गाउँपालिकाले बाँझो जग्गामा खेती गर्ने १ सय ५ जना व्यक्ति, समूह र सहकारीलाई २८ लाख ८९ हजार रुपैयाँ वितरण गरेको छ । ८ सय १० रोपनी बाँझो जग्गामा विभिन्न खाले खेती गरिएको पन्थीले बताए ।
उनका अनुसार बाँझो ९१.५ रोपनीमा ७ जनाले जग्गा लिजमा लिएर खेती गरेका छन् भने ३ सय ८७ रोपनी बाँझो जग्गामा ४५ जनाले फलफूल खेती गरेका छन् । २ सय ४० दशमलव ५ रोपनी बाँझो जग्गामा ५२ जनाले खाद्यबाली गरेको गाउँपालिकाले जनाएको छ ।
रोजगारीका लागि परदेश पसेकाहरू पनि गाउँमा फर्कने तर गाउँका खेतीयोग्य जमिन बाँझो रहने प्रवृत्ति अन्त्य गर्न गाउँपालिकाले नयाँ अभियान सुरु गरेको गाउँपालिका प्रमुुख भुपाल पोख्रेलले बताए । ‘बाँझो जग्गा उपयोगमा अनुदानको व्यवस्था गरेपछि युवाहरूमा कृषि कर्मप्रतिको उत्साह बढ्दै गएको छ’, पोख्रेलले भने ।
गाउँपालिकाले किसानबाट मूलाको गुन्द्रुक, चाना, मासको दाल र सेतो कर्कलाबाट बनाइएका तितौरा, सुकाएको बेसारको चाना, कोदो, मकै, बोडी, भट्ट र गहतलगायतका कृषि उपज खरिद गरिने उनले जानकारी दिए ।