दैलेख- चाडपर्व नजिकिएसँगै बजारमा खसी, बोका, भेडा, च्याङ्ग्राको किनबेच निकै हुने गर्छ । दैलेखको नौमूले गाउँपालिकामा उत्पादन भएका सयौँ खसीहरू अहिले सिधै काठमाडौं निर्यात भएका छन् ।
खसी जिल्लाबाहिर निर्यात भएपछि स्थानीयको बजार घटेको व्यवसायीहरूको गुनासो छ । खसी उत्पादनसँगै बजारीकरणमा पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखले सहजीकरण गरिदिएपछि सुर्खेतका व्यवसायी सिधै दैलेख पुगेर नौमूले गाउँपालिका क्षेत्रबाट १०० वटा स्थानीय खसी लगेका हुन् ।
हिमाली क्षेत्रमा पाइने जडिबुटी र बुकी झार खाने भएकाले यहाँका खसीको मासु औषधिसमेत हुने भएकाले दैलेखलगायत कर्णाली प्रदेशका खसीको माग काठमाडौंमा धेरै भएको सुर्खेतका खसी व्यवसायी बलबहादुर गौतमको भनाइ छ ।
अहिले आत्मबल बढाउने र रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधिको खोजी छ । कर्णाली प्रदेशका हिमाली भेगमा बिख र बुकी झार खाएका खसी र भेडा दशैँको समयमा तराईसम्म बिक्री वितरण गर्ने गरिन्छ । बिख र बुकी झार खाएका भेडा र च्याङ्ग्राको झोल खाए रोग प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले कर्णालीका खसीको बजार काठमाडौंमा धेरै भएकाले आफूले दैलेखबाट जिउँदो खसीलाई प्रतिकिलो ५१५ रुपैयाँमा खरिद गरेर काठमाडौं ल्याएको गौतमले बताए ।
यस पटक १५० खसी दैलेखबाट ल्याएको र सुर्खेतबाट थप १०० खसी थपेर २५० खसी काठमाडौं लैजाने तयारी भएको गौतमले बताए । वार्षिक १० हजार खसी कर्णाली प्रदेशबाट आफ्नो फार्ममार्फत मात्र बिक्री गर्ने भएकाले कर्णाली प्रदेश पशुपालनका हिसाबले महत्त्वपूर्ण रहेको उनको भनाइ छ । सरकारले यसतर्फ ध्यान दिनुपर्ने गौतमको सुझाव छ ।
पशु अस्पताल तथा पशुसेवा कार्यालय दैलेखका निमित्त प्रमुख भीमबहादुर बिष्ट पशु उत्पादन र बजारीकरणलाई उच्च प्राथमकिता राखेको बताउँछन् । सोहीअनुसार आफूहरूले काम गर्दै आएको उनको भनाइ छ । दैलेख पशु पालनका हिसाबले निकै महत्त्वपूर्ण जिल्ला भएकाले यहाँका किसानहरूले उत्पादन गरेका वस्तुहरूको बजारीकरणका लागि आफूले व्यक्तिगत रूपमा व्यापारीहरूसँग समन्वय गरेर काम सुरु गरेको बताएका छन् ।
दैलेखका ११ वटै पालिकाका किसानहरूले उत्पादन गरेका खसी, बोका र बाख्राको बिक्री वितरणका लागि हरेक पालिकामा स्थानीय सहकारी वा व्यक्तिलाई छनोट गरेर सुर्खेत र काठमाडौंसम्म बजारीकरणको व्यवस्थापन गर्ने गरेको बताएका छन् ।
कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत दैलेखमा बाख्रा स्रोत केन्द्र स्थापना गरिएको छ । रोड कोरिडोरमा समेत बाख्रा पालनका लागि कृषकहरूलाई अनुदान रकम, खोर निर्माणलगायतका कामहरूमा सहयोग गरेकाले बाख्रा उत्पादक किसानहरू बढेको बिष्टले बताए ।
स्थानीय जातका खसी, बोका र बाख्राको बजारमा कुनै पनि समस्या नभएकाले किसानहरूलाई खसी र बाख्रा पालन व्यवसायमा लगाउने विभिन्न प्रयासहरू दैलेखका ११ वटै पालिकाहरूमा भएको बिष्टको भनाइ छ ।