कोरोना संक्रमणका कारण जारी गरिएको बन्दाबन्दी तथा निषेधाज्ञामा पनि भारतबाट केराको आयात रोकिएको छैन । भारतबाट आयात भएका सस्तो केराले बजार पाइरहँदा नेपाली कृषकले उत्पादन गरेका केरा भने बजारसम्म पुग्न नसक्दा बोटमै कुहिन थालेका छन् ।
स्थानीयस्तरमा उत्पादित केराले बजार पाउन छाडेपछि यहाँका कृषक निराश छन् । नेपालका अधिकांश जिल्लामा निषेधाज्ञा रहेको र निर्वाध सवारीसाधन सञ्चालन हुन नपाउँदा नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)का कृषकले उत्पादन गरेको केरा बजारसम्म सहज रूपमा ढुवानी तथा बिक्रीवितरण हुन नपाएको नवलपरासी केरा उत्पादक संघका अध्यक्ष लख्खु यादवले बताए ।
पछिल्लो समय जिल्लामा केराको उत्पादन बढ्दो अवस्थामा छ । बिक्रीका लागि तयारी अवस्थामा रहेको केराले बजार पाउन नसकेपछि खेतमै पाकेर कुहिन थालेको उनले गुनासो गरे । संघका अनुसार जिल्लामा वार्षिक २ अर्ब बराबरको केरा उत्पादन हुने गरेको छ ।
पश्चिम नवलपरासीमा करिब दुई हजार ५ सय बिघामा केराखेती हुने गरेको छ भने २ हजार कृषक यसमा संलग्न छन् । विगतमा १ हजार २ सय कृषक केरा खेतीमा आबद्ध थिए । यहाँ उत्पादित केरा स्थानीय बजारसहित कास्की, काठमाडौँ, चितवन, धादिङ, रुपन्देहीलगायतका सहरमा पुग्ने गरेको छ ।
उखुको विकल्पमा केराखेतीतर्फ आकर्षित कृषक लामो समयको बन्दाबन्दीका कारण बिक्री हुन छाडेपछि चिन्तामा छन् । जिल्लामा सबैभन्दा धेरै केरा उत्पादन गर्दै आएका सुस्ता गाउँपालिका–५ का सञ्जय कोहारबिक्री हुन नसक्दा खेतमै कुहिन थालेको गुनासो गर्छन् ।
२१ बिघा क्षेत्रफलमा केरा खेती गरेको बताउँदै उनले भने, ‘केरा खेतमै पाकेको छ, कहाँ लगेर बिक्री गरौँ, धेरै चिन्ता लागेको छ । कोरोना महामारीका कारण यस वर्ष ५० लाखको केरा नोक्सान हुने अवस्थामा छ । सरकारले नै बजार व्यवस्थापन गरिदिनुपर्ने हो ।’
बजारसम्म सहज रूपमा केरा पुग्न नसक्दा कृषकले त्यसको उचित मूल्य पाउन सकेका छैनन् । थोकमा प्रतिदर्जन ४५ मा बिक्री हुने गरेको केराको मूल्य घटेर अहिले ३० रुपैयाँमा पुगेको उनले बताए । वार्षिक २१ लाख जग्गा भाडामा लिएर व्यावसायिक रूपमा केराखेती गरेका कोहारको खेतमा ४५ हजार केराका बोट छन् । बजार व्यवस्थापन समयमै र सहज रूपमा हुन सके केरा खेतीबाट लगानीको झन्डै दोब्बर आम्दानी हुने गरेको कृषक बताउँछन् ।
कृषक कोहारले केराखेतीबाट वार्षिक ४५ लाखसम्म नाफा हुने गरेको बताए । यस वर्ष लागत उठाउन पनि मुस्किल भएको उनको भनाइ छ । प्रतापपुर गाउँपालिका–६ का छविलाल हरिजनले बिक्रीका लागि तयार भएको केरा खेतमै कुहिन थालेको बताए । यसले गर्दा लागत उठाउन पनि गाह्रो भएको उनको गुनासो छ । हरिजनले दुई बिघाभन्दा बढीमा जग्गामा दुई वर्षदेखि केराखेती गर्दै आएका छन् ।
प्रतापपुर र सुस्ता गाउँपालिका उखुको मुख्य क्षेत्रका रूपमा परिचित रहे पनि लामो समयसम्म भुक्तानी नपाउने समस्या भोगेका यहाँका कृषकले उखुको विकल्पमा नगदे बालीकै रूपमा केराखेती गरेका हुन् । पछिल्लो पटकको विषम परिस्थितिले यो खेती पनि धराशयी हुने अवस्थामा पुगेको संघका वरिष्ठ उपाध्यक्ष सुदामा कोइरी बताउँछन् ।
‘नेपाली केराले बजार पाउन भारतबाट आयात हुने केरा रोक्नुपर्छ या त नेपालको केरा सकिएपछि मात्र आयात गर्ने व्यवस्था गर्नुपर्छ । हामीले भारतबाट आउने केरासँग प्रतिस्पर्धा गर्न सक्दैनौं,’ उनले भने । मुलुकमा तीन तहका सरकार बने पनि कृषकको हितमा कुनै सरकारले ठोस काम गर्न नसकेको उनको आरोप छ । खुला सीमा नै नेपाली कृषकको मुख्य चुनौती रहेको विनयी त्रिवेणी गाउँपालिका–७ का कृषक मदनकुमार कुशवाहा बताउँछन् ।
स्थानीयस्तरमा कृषि प्राविधिक उपलब्ध नहुनु तथा केराको बिमा हुन नसक्दा थप उत्पादन बढाउन नसकिएको कृषकको गुनासो छ । प्रतापपुर, सुस्तालगायत गाउँपालिकामा कृषि प्राविधिक नहुँदा समस्या देखिँदै आएको कृषक कुशवाहाले बताए ।
नेपाल हाल केरामा ५० प्रतिशत आत्मनिर्भर रहेको मानिन्छ । कृषकलाई उचित अनुदान, समयमा मलबीउको उपलब्धता तथा बजार व्यवस्थापनको सुनिश्चितता गर्न सके केराबाट हजारौँ कृषक आत्मनिर्भर हुने संघका अध्यक्ष यादव बताउँछन् ।