जुम्ला - जिल्लाका ८ वटै स्थानीय तहका खेतका फाँटमा उत्पादन हुने कालीमार्सी धान पाक्न थालेको छ । विश्वको सबैभन्दा (२ हजार ८ सय ५० मिटर) उच्च स्थानमा फल्ने जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौरका खेतका फाँटमा कालीमार्सी पाक्न थालेको हो ।
स्थानीय मायादेवी बुढा भन्छिन्, ‘यहाँका खेतका फाँटहरूमा कालीमार्सी धानका बाला झुलेसँगै किसानमा खुसीयाली छाएको छ ।’ गाउँपालिकाको आर्थिक सहयोग र कालीमार्सी धान संरक्षण तथा प्रवद्र्धन केन्द्रको सहजीकरणमा यस वर्ष यो धान रोपिएको थियो । गाउँपालिका अध्यक्ष लछिमान बोहराले भने, ‘गत वर्ष सो स्थानमा २ हजार वर्गमिटर क्षेत्रफल जग्गामा धान रोपिएकामा यो वर्ष ५ हजार वर्गमिटर क्षेत्रफलमा रोपिएको छ ।’
उच्च स्थानमा धान फल्ने छुमचौर ज्युलोको संरक्षण गर्न कालीमार्सी धान रोपिएको अध्यक्ष बोहराले बताए । सो स्थानमा फलेको कालीमार्सी धानको चामल देशका विभिन्न सहरमा बहुमूल्यमा बिक्री वितरण हुने गरेको छ । देशका विभिन्न भागबाट चामलको माग आउने गरेको छ । कालीमार्सी धान संरक्षण तथा प्रवद्र्धन केन्द्रका अध्यक्ष कलिमान महताराले भने, ‘पछिल्ला वर्षहरूमा मानिसमा स्वास्थ्यसम्बन्धी चेतनाका कारण यो धानको माग निकै बढ्न थालेको छ ।’
कालीमार्सी धान संरक्षण स्थानीय सरकारले मात्र गर्न नसक्ने भएकाले प्रदेश र संघीय सरकारले धान खेती किसानलाई विभिन्न प्रकारका राहतका कार्यक्रम ल्याउनु आवश्यक रहेको उनको सुझाव छ । जुम्लाको सीमित स्थानमा मात्र उत्पादन हुने कालीमार्सीको स्वाद रोग र किरा प्रतिरोध हुने गरेको पोषणविद्हरू बताउँछन् । सोही कारण जुम्ली मार्सी धानको महत्व अन्तर्राष्ट्रिय क्षेत्रमै पुगेको छ ।
नेपालमा राणा शासनको समयसमेत केन्द्रमा रहेका शासकका लागि यही मार्सी धानको चामल हुलाकबाट काठमाडौंसम्म पुर्याइने गरेको यहाँका बूढापाकाहरू बताउँछन् । करिब ७ सय वर्षअघि जुम्लीहरूका इष्टदेवता चन्दननाथले भारतको कश्मीरबाट मार्सी धानको बिउ भित्र्याएको विश्वास गरिन्छ । यसको सक्कली बिउ अनुसन्धानका लागि कृषि अनुसन्धान केन्द्रमा राखिए पनि अन्यत्र हराइसकेको छ । मार्सी विश्वको अग्लो स्थानमा फल्ने धानको रूपमा लिइन्छ ।
जुम्लाका किसानले लगाएकोे प्रायः सबै खेतको धान यो याममा पाकेर झुल्न थालेको छ । स्थानीय गत वर्षभन्दा यो वर्ष राम्रो धान फलेको बताउँछन् । यतिखेर पाक्न थालेको कालीमार्सी कात्तिक पहिलो सातातिर काट्ने गरिन्छ । शुभ साइतमा धान काट्ने यहाँको स्थानीय चलन छ । तर, धान स्याहार्न भने निकै दुःख हुने गरेको किसान बताउँछन् । खेतमा धानसँग झार बाक्लो आउँछ । कम्तीमा २ देखि ३ पटक झार गोडेर फाल्नुपर्छ ।
दसैंको घटस्थापना वा यसको भोलिपल्ट प्रतिपदाका दिन पर्ने स्वाति नक्षत्रमा नयाँ धान ल्याएर त्यसको चिउरा बनाइन्छ । सुरुमै तयार पारेको त्यो चिउरा चन्दननाथ बाबा अनि कनकासुन्दरीलाई चढाइन्छ र घरका सबै जना सँगै बसेर बराबर बाँडेर खाने गर्छन् । त्यो चिउरा एकले अर्कोलाई क्रमशः दिँदै तथा छिमेकीमा समेत बाँडेर खाने खुवाउने परम्परा रहेको संस्कृतिविद् रमानन्द अर्याल बताउँछन् ।
जिल्लामा २ हजार ८ सय हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताए । कृषिविज्ञका अनुसार चिसो हावापानीमा उत्पादन हुने खाद्यान्न र फलफूल निकै स्वादिला हुन्छन् । त्यसैले जुम्लालगायत हिमालको तल्लो भेग र उच्च पहाडमा फल्ने मार्सी धानको भात निकै मीठो र स्वादिलो हुन्छ । मार्सी चामल खैरो रङको हुन्छ । खैरो देखिने भएकाले कसैकसैले यसलाई रातो चामल पनि भन्छन् ।
उच्च रक्तचाप, मधुमेहलगायतका बिरामीलाई यो चामलको भातले निकै फाइदा हुने भएकाले सहरमा यसको माग बढ्न थालेको स्थानीय किसान बताउँछन् । धानमा रोगको प्रकोप
जुम्ली मार्सी धानबालीमा ब्राउन स्पोट रोगको प्रकोप देखिन थालेपछि यहाँका किसान चिन्तित छन् । यस वर्ष अनुकूल मौसम परेकाले समयमै मार्सी धान रोप्न पाएका कारण किसान खुसी थिए । तर, अहिले भने रोग देखिन थालेपछि उनीहरूमा चिन्ता छाएको हो ।
कृषि विज्ञसहितको टोलीले जिल्लाको तातोपानी गाउँपालिका–४ र ५ मा रोपिएको मार्सी धान खेतमा गरिएको अनुगमनबाट ब्राउन स्पोट रोगको प्रकोप पाइएको हो । तातोपानी गाउँपालिकाका कृषि संयोजक धर्मराज आचार्यका अनुसार अनुगमनका क्रममा फाट्टफुट्ट ब्लास्ट रोग देखिएको छ ।
‘पर्याप्त सिँचाइ र नाइट्रोजनको अभावले मार्सी धानमा ब्राउन स्पोट रोग लाग्ने गरे पनि यो रोगका कारण यसको उत्पादनमा गिरावट नआउने अपेक्षा छ’, कृषि संयोजक आचार्य भन्छन् । मार्सी धान भित्र्याउने समयसम्म असिना नपरे ब्राउन रोगले खासै असर गर्ने गाउँपालिका कृषि शाखाले जनाएको छ ।
ब्राउन रोगले उत्पादन नघटे पनि साउनको वर्षाका कारण केही स्थानमा उत्पादन घट्ने चिन्तामा किसान छन् । सोही कारण यहाँका कतिपय खेतभरि बालुवा भरिएर मार्सी खेत बगरमा परिणत भएका छन् । धान फल्ने बेला बालुवाले खेत भरिँदा कतिपय किसानको उत्पादन सोचेजस्तो नहुने तातोपानीका–४ का स्थानीय सत्यदेवी पाण्डे बताउँछिन् ।
जलवायु परिवर्तनका कारण स्थानीय बालीमा लाग्ने रोग किरा व्यवस्थापन तथा उत्पादनमा वृद्धि गर्ने लक्ष्यका साथ गैरसरकारी संस्था लिबर्ड जुम्लाले हरेक वर्ष स्थानीय धानबाली र सिमी बालीको अनुसन्धान गर्दै आएको छ । जुम्लामा एक वर्षदेखि स्थानीय बाली धान र सिमीको संरक्षण गरी विभिन्न ठाउँमा ‘बिउ बैंक’ को रूपमा काम गर्दै आए पनि बर्सेनि मार्सी धानमा विभिन्न रोग किरा लाग्ने गरेको छ ।
गत वर्ष मार्सी संरक्षणका लागि स्वदेशी तथा विदेशी विज्ञको टोलीले यसको अनुगमन तथा अनुसन्धान गरेको लिबर्ड जुम्लाले जनाएको छ ।
मार्सी धानको विशेषता
मार्सी धान समुद्री सतहभन्दा १० हजार फिटको उचाइमा फल्छ । यो धानको खेती नेपालको उच्च हिमाली जिल्ला जुम्लामा मात्र हुने गरेको छ । यो धानको चामल रातो र भात पकाउँदा हल्का गिलो हुन्छ । यसमा प्रोटिनको मात्रा बढी हुने गरेको धानबाली विशेषज्ञहरू बताउँछन् ।
स्थानीयमा मार्सी धान रोप्ने बेला युवाहरू घरमा भएनन् या आएनन् भने उनीहरूको मृत्यु भएसरह मान्ने पम्परागत चलन पनि रहिआएको नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले जानकारी दिए ।
जुम्लादेखि कालीमार्सी धान लगेर काठमाडौंमा व्यवसाय गर्नेहरू पनि बर्सेनि बढ्दै छन् । लामो समयदेखि कालीमार्सी चामलको व्यापार गर्दै आएका जुम्लाका प्रकाश कार्की कोरोना प्रकोप र यसका कारण जारी लकडाउनले व्यवसाय प्रभावित गरेको बताउँछन् ।