close

चितवनमा चार महिनामा ४९ वन्यजन्तुको मृत्यु

चितवनमा चार महिनामा ४९ वन्यजन्तुको मृत्यु

Trulli
ADVERTISEMENT

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चार महिनाभित्र ४९ वन्यजन्तुको मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा बढी २८ चित्तल छन्।

कुकुरको आक्रमणबाट १७ तथा सडक दुर्घटनामा र दलदलमा परेर एक–एक चित्तल मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिएका छन्। तिवारीका अनुसार चालु आर्थिक वर्ष २०७९।८० को साउनयता चितवन राष्ट्रिय निकुञ्जमा दुई दुर्लभ एकसिङ्गे गैँडा समेत मरेका छन्। एउटा गैँडाको प्राकृतिक (उमेर पुगेर, बिरामी भएर वा बाघको आक्रमणबाट) र एउटा करेन्ट लागेर मरेको छ।

त्यसैगरी एउटा सरकारी घरपालुवा र एउटा निजी हात्तीको प्राकृतिक कारणले मृत्यु भएको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ।

प्राकृतिक कारणले मृत्यु हुने जनावरमा तीन अर्ना, एक चितुवा, तीन गौँरीगाई, दुई कछुवा, एक लगुना र तीन घडियाल गोही रहेको तिवारीले जानकारी दिए। त्यस्तै एउटा प्राकृतिक कारण र दुइटा जरायो कुकुरको आक्रमणका कारण मरेका छन्। एउटा बँदेलको पनि मृत्यु भएको छ।

निकुञ्जमा सबैभन्दा धेरै चित्तलको सङ्ख्या रहेको  प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिएका छन्।