close

आजको मौसम:  हल्का वर्षा र हिमपातको सम्भावना

आजको मौसम:  हल्का वर्षा र हिमपातको सम्भावना

Trulli
ADVERTISEMENT

काठमाडौँ - हाल देशमा पश्चिमी वायुका साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । यसका कारण देशका विभिन्न स्थानमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले कोशी, कर्णाली र सुदूरपश्चि प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । कोशी, कर्णली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । त्यस्तै ती प्रदेशका उच्च पहाडी तथा  हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।

मौसमविद् लामिछानेले आज रातिबाट मौसम विस्तारै सुधार हुँदै जाने उल्लेख गरे। उनले भने, 'यो मौसमी प्रणाली आजको लागि हो, रातिदेखि सुधार हुँदै जाने देखिन्छ । देशको पाहडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सफा नै रहने देखिन्छ । उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।'

सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा बिहान सामान्य बदली रहे पनि अहिले काठमाडौँको आकाश खुलेको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।