close

अक्टोपसमा बढ्यो पर्यटकको संख्या

अक्टोपसमा बढ्यो पर्यटकको संख्या

Trulli
ADVERTISEMENT

काठमाडौं ।  बेँसीसहर–चामे सडकमै सङ्लो पानी झर्झर् गर्दै झरिरहेको छहरा छ ।

एक सय मिटरभन्दा बढी उचाइबाट झरेको पानी सडकमै खस्छ । छहरामा लहराउँदै झरेको पानीमा सूर्यको प्रकाशसँगै देखिने इन्द्रेणीले झनै सुन्दरता थपिदिन्छ । मर्स्याङ्दी गाउँपालिका–४ च्याम्चेमा रहेको त्यही सुन्दर अत्यन्त मनमोहक अक्टोपसको खुट्टा झैँ झरेको अक्टोपस झरना पनि  हो । 

वर्षायामका कारण सुनसान रहेको विश्व चर्चित चक्रिय अन्नपूर्ण पदमार्गमा पर्ने यस झरनामा यतिबेला पर्यटकको भीडभाड हुन थालेको छ । यतिबेला दैनिक सयदेखि दुई सयजनासम्म आन्तरिक तथा विदेशी पर्यटक आउन थालेको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए । 

उनले भने, ‘पदमार्गमा आउने पर्यटकको सङ्ख्या वृद्धि भएसँगै झरनामा आउने पर्यटक आगमनमा पनि वृद्धि हुन थालेको छ ।’ यतिबेला चुनावले अधिकांशको ध्यान केन्द्रित गरिरहे पनि पर्यटकलाई भने सो लगायतका झरनाले ध्यान केन्द्रित गर्दै लोभ्याइरहेको उनको भनाइ छ । 

सवारीसाधनमा मनाङ गएका पर्यटकसमेत त्यहाँ पुगेपछि एकै छिन भए पनि सवारी रोकेर झरनामा रमाउने गर्दछन् ।

छहराले त्यहाँ पुग्ने जो कसैलाई सहजै लोभ्याउँछ । छहरा हेर्दै फुरुङ्ग बनेका पर्यटक कोही धमाधम छहराको फोटो खिच्छन्, त कोही छहरालाई पृष्ठभूमिमा पारेर आफ्नै फोटो र सेल्फी खिच्छन् । पहिलोदेखि तेस्रो लहरको कोरोना सङ्क्रमणका कारण लामो समय सुनसान भएर उक्त सङ्क्रमण जोखिम कम भएसँगै दैनिक पर्यटकको सङ्ख्या बढ्न थालेकोे छ । 

यस झरनामा विशेषगरी अन्नपूर्ण पदमार्गमा आउने बाह्य पर्यटक तथा मनाङ घुम्न जाने आन्तरिक पर्यटक झरनामा आउने गरेको स्थानीय सरोज विश्वकर्माले बताए ।

उनले मात्र नभई उक्त झरनामा पुग्ने अधिकांश पर्यटकको भनाइ उस्तै हुन्छ । यो झरना बेँसीसहर–चामे सडकको बीच भागमै झर्ने भएकाले सवारी मोटरसाइकलमा जाने यात्रु तथा पर्यटकलाई त रुझाउने गर्दछ । यो झरनाको तस्बिर खिचेर सामाजिक सञ्जालमा अधिकांश पर्यटकले हाल्ने गरेको स्थानीयको भनाइ छ ।

केही समयसम्म सवारीसाधनमा मनाङ आवतजावत गर्नेमध्ये केही यात्रु दैनिक १०/१२ जना मात्र झरनामा रमाउने गरे पनि यतिबेला पर्यटक ह्वात्तै बढेकोे स्थानीयको भनाइ छ । 

यसरी पर्यटक आगमन हुँदा पर्यटन व्यवसायसमेत फस्टाउने पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले बताए ।  उनले भने, ‘पर्यटक लोभ्याउने यस्ता झरनाको थप प्रचारप्रसारका साथै व्यवस्थित गर्न सके बाह्रै महिना पर्यटकको आगमन हुने र व्यवसायसमेत राम्रो चल्नेछ ।

त्यस्तै अन्नपूर्ण पदमार्ग नजिकै पर्ने सोही वडास्थित बुङ झरनामा समेत यतिबेला पर्यटकमा वृद्धि हुन थालेको छ । केही समयसम्म सुनसान रहेको यस झरनामा यतिबेला ८० देखि एक सयजनासम्म दैनिक पर्यटक आउने गरेका बताइन्छ ।

सदरमुकाम बेँसीसहरबाट ३२ किलोमिटर दूरीमा पर्ने यस छहराले पर्यटकको मन तान्न थालेको छ । तारेभीरमा छङछङ गर्दै झरेको छहरालाई पृष्ठभूमि पार्दै तस्बिर लिने, सेल्फी खिच्नेको भीडभाड हुनेगरेको स्थानीय पूर्णबहादुर गुरुङको भनाइ छ ।