close

गौरिटाप जाऔँ : सगरमाथालगायत हिमाल-पहाडको दृष्यावलोकन गरौँ

गौरिटाप जाऔँ : सगरमाथालगायत हिमाल-पहाडको दृष्यावलोकन गरौँ

Trulli
ADVERTISEMENT

काठमाडौं । सोलुखुम्बुमा अवस्थित गौरिटाप पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा उदाएको स्थल हो । विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित  यस स्थानमा कोरोनाका कारण शिथिल बनेको पर्यटक आवागमन रिकभर हुने क्रम जारी छ । 

विश्वकै अग्लो सगरमाथा, नेपालको दोस्रो कञ्चनजंघा, ल्होत्से, मकालु र दोलखाको गौरिशंकर हिमाल यसै स्थानबाट देख्न सकिन्छ । समुद्रि सतहबाट करिब ३००० मिटरको उचाइमा अवस्थित यस स्थानमा कुहिरो,घाम, हावाको लुकामारी भइरहन्छ । जसका कारण एकै ठाउँबाट केही समयको अन्तरालमा फरक–फरक  मौसमको अनुभूति प्राप्त गर्न सकिन्छ । 

त्यसमा थप विश्वका आठ हजारभन्दा अग्ला हिमालको दृश्यावलोकनले दिने स्फूर्ति र रोमाञ्चको बेग्लै मज्जा छ । विश्वका अग्ला हिमालमात्रै नभएर तल्लो सोलुखुम्बुका नेचा–सल्यान, थुलुङ दुधकोशीको काँगेल, खोटाङको ऐसेलुखर्कलगायतको दृश्यावलोकनले अझ प्रफुल्लित र आनन्दको महसुस गराउँछ । 

उत्तरतर्फ हाँसेको हिमाल र दक्षिणतर्फ लहलहाउँदो धानखेती देखिनु नै यसको मुख्य विशेषता हो । अझ भन्नै पर्दा यो ठाउँ हिमाल र पहाडको दृश्यावलोकनका लागि उपयुक्त र दुवैलाई एकापसमा जोड्ने स्थल हो । 

परापूर्वक कालदेखि गौरिशंकर–पार्वती र गणेशको बासस्थान रहेको यस स्थलमा कोरोनाकालपछि खस्केको पर्यटक आवागमन पछिल्लो समय बढेको बताउँछन् लौरेश्वर बाबा । 

यही साता हेलिकोप्टरमार्फत् करिब ४० जना विदेशी पर्यटक गौरिटप पुगे । पछिल्लो समय हरेक दिन कम्तीमा ३–७ जना विदेशी पर्यटक गौरिटाप आउने गरेको गौरिटाप धाममा बस्दै आएका लौरेश्वर बाबाले जानकारी दिए । त्यसैगरी, मन्दिरमा पूजाआजा, दृश्यावलोकनका लागि स्वदेशी पर्यटकहरूको आवागमन पनि बढेको उनले बताए । 

उनले भने, ‘कोरोनाकालमा सुनसान रहेको गौरिटापमा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको आवागमन बढेको छ ।’

केही वर्षयता गौरिटापमा बस्दै आएका बाबा गौरिटाप पुगेका स्वदेशी तथा विदेशी पर्यटकका लागि मार्गदर्शक जस्तै बन्छन् । धार्मिक पर्यटकहरूलाई त्यहाँ अवस्थित शिव पार्वती र गणेशको पहिचान प्रक्रिया, महत्त्व धार्मिक ज्ञान पनि वितरण गर्छन् । 

गौरिटाप पुग्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि पथप्रदर्शकसमेत बन्छन् । त्यहाँबाट देखिने सबै भौगोलिक स्थितिबारे जानकारी गराउँछन् । उनी त्यतिमा मात्रै सीमित रहँदैनन् । योगा ध्यानबारे ज्ञान पनि बाँड्छन् । केही दिनअघि गौरिटाप पुगेका विदेशी पर्यटकलाई योगाको महत्त्व बुझाउँदै हाइलाग्दा अपनाउनुपर्ने विधिबारे जानकारी गराए । 

उनी भन्छन्, ‘केही दिनअघि मात्रै यहाँ करिब ४० जनको विदेशी पर्यटकको टोली आएको थियो । उनीहरूलाई योगा गर्ने तरिका, प्रणायम  रॐ गर्ने विधि सिकाएँ ।’ उनका अनुसार योगा र प्रणायम गर्दा शरीरमा अक्सिनको मात्रा बढी हुने हुँदा हाई लाग्ने सम्भावना कम हुन्छ ।  

कुनै पनि तहका सरकारले यो स्थलको विकासका लागि चासो नदिएको उनको भनाइ छ । 

यसअघिको सरकारका केन्द्र सरकार तथा प्रदेश सरकारका मन्त्री गौरिटाप आएर प्रशंसा गरेका, यस स्थलको प्रचार, प्रसार तथा प्रवर्द्धनका लागि प्रयास नगरेको उनले गुनासो गरेका छन् ।

सोलुको सबैभन्दा तल्लो नेचा–सल्यान गाउँपालिका र सदरमुकाम रहेको दुधकुण्ड नगरपालिकाको सीमामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थलको विकास र प्रवर्द्धनका लागि दुवै स्थानीय तहले चासो नदिएको उनको गुनासो छ ।