close

ऐना पार्क बनाउँदै गाउँपालिका, सिसाको पुल पनि बन्ने

ऐना पार्क बनाउँदै गाउँपालिका, सिसाको पुल पनि बन्ने

Trulli
ऐना पहरा झरना
ADVERTISEMENT

तनहुँ । आँबुखैरेनी गाउँपालिका कार्यालयले पृथ्वी राजमार्ग खण्डमा पर्ने ऐना पहरामा ऐना पार्क बनाउन लागेको छ ।

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले चालु आवमा रु एक करोड ४० लाख विनियोजन गरेर आर्कषण पार्क बनाउन लागिएको हो । 

बहुवर्षीय योजनाअन्तर्गत आफ्नै स्रोतमा डिपीआर गरी प्रक्रिया अघि बढाइएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

गाउँपालिकाको वडा नं २ र ४ को सिमानामा रहेको उक्त स्थानमा साहसिक खेल, सिसाको पुल, जीपलाइन, स्वीपिङ, ढुङ्गामा आर्कषण निर्माणलगायत संरचना निर्माण गरिनेछ । 

कूल रु पाँच करोड लागत अनुमान गरिएको गौरवको आयोजनामा राखेर काम गर्न लागिएको अध्यक्ष चुमानले बताए । पृथ्वी राजमार्ग भएर दैनिक सयौँ सवारीसाधान गुड्ने हुँदा पर्यटकलाई आकर्षित गर्न सकेको अवस्थामा आयआर्जन गर्न सकिने प्रचुर सम्भावना देखिएको छ ।

गाउँपालिका कार्यालयले वडा नं ६ को हिलेखर्क र वडा नं १ को गिरौनचौरलाई नमूना पर्यटकीय गाउँ घोषणा गरी बजेट विनियोजन गरेको छ । दुई वडाका गाउँलाई रु ३० लाखका दरले रु ६० लाख बजेट विनियोजन गरेको हो । 

गाउँपालिका कार्यालयले कार्यविधि बनाएर मौलिक प्रकृतिका घरको संरक्षण गरिने अध्यक्ष चुमानले जानकारी दिए । उक्त स्थानमा अब बन्ने घर पनि मौलिक किसिमको हुनेछ ।

उनले भने, “त्यहाँ रहेका घुमाउने घर गुरुङ समुदायको कला संस्कृति पर्यटकका लागि आर्कषण बन्नेछ ।”