बागलुङ । बर्षेनि दुई याममा नाउर र झारलको वैधानिक शिकार हुँदै आएको ढोरपाटन शिकार आरक्षमा अबदेखि बँदेलको पनि शिकार गर्न पाइने भएको छ । नेपाली शिकारीलाई लक्षित गरी बँदेल शिकार खुला गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयारी थालेको हो ।
आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार एउटा याममा ११ बँदेलको शिकार गराइनेछ । ‘वर्षमा २२ बँदेलको शिकार कोटा निर्धारण गरिएको छ, बोलपत्रमार्फत छानिएका शिकार कम्पनीले शिकार खेलाउन पाउँछन्’, उनले भने, ‘विशेष गरी नेपाली शिकारीलाई लक्ष्य गरी बँदेलको शिकार खुलाउन लागिएको हो, यसबाट आन्तरिक पर्यटन प्रवर्द्धन हुने विश्वास छ ।’
नाउर र झारलको महँगो शिकार नेपाली शिकारीको पहुँचमा छैन । त्यसका लागि विदेशी पेसेवर शिकारी भने लाखौँ खर्चन तयार हुन्छन् । आरक्षमा अहिलेसम्म कोही पनि नेपाली वैधानिक शिकारका लागि पुगेका छैनन् । बँदेलको व्यवस्थित शिकारले स्थानीय बासिन्दा र आरक्षबीच सम्बन्ध बलियो हुने प्रमुख संरक्षण अधिकृत कँडेलले बताए ।
‘बँदेलले किसानको खेतीबाली खाइदिने गर्छ, शिकारले पनि त्यसलाई केही हदसम्म नियन्त्रण गर्न सघाउनेछ’, उनले भने, ‘वैधानिक रुपमा शिकार गराउँदा राज्यले राजश्व पनि आर्जन गर्छ ।’
बँदेल शिकारको दररेट भने बोलपत्रमा हुने प्रतिस्पर्धापछि मात्र तय हुने आरक्ष कार्यालयले जनाएको छ । विभागले नाउर, झारलसँगै बँदेलको पनि एकसाथ विद्युतीय बोलपत्र माग्ने भएको छ ।
आरक्षले प्रारम्भिक अध्ययनपछि वार्षिक १६ देखि २३ वटासम्म बँदेलको शिकार गराउन सकिने सुझाव विभागमा पठाएको थियो । सोही आधारमा विभागले दुई याममा ११/११ बँदेलको शिकार कोटा तोक्ने तयारी गरेको हो ।
प्रमुख संरक्षण अधिकृत कँडेलले विस्तृत अध्ययन र बँदेलको गणना गरेर मात्र शिकार कोटा तोकिने बताए । नाउर र झारलको हरेक पाँच/पाँच वर्षमा गणना गर्ने गरिन्छ । गणनाको नतिजालाई हेरेर विभागले शिकारको कोटा तोक्ने गर्छ ।
यस वर्षलाई बँदेलको बढी बसोबास रहेका शिकार ‘ब्लक’मा चारदेखि पाँच र थोरै भएकामा एकदेखि दुईसम्म मात्र शिकार गराइने भएको छ । आरक्षका सातवटै शिकार ‘ब्लक’मा बँदेल पाइन्छ । फागुने, बार्से र सुर्तिबाङ ‘ब्लक’मा बँदेल धेरै पाइने शिकार कम्पनी ट्र्याक एण्ड ट्रेल्र्सका दीपक थापाले बताए ।
‘बँदेलको शिकार गराउन कम्पनीले माग गर्दै आएका थिए, विभागले प्रकृया अघि बढाएको सुनिएको छ’, उनले भने, ‘यसबाट आन्तरिक पर्यटक आकर्षित हुन्छन्, शिकारको रोमाञ्चक अनुभव लिने अवसर पनि मिल्छ ।’
नाउर र झारल शिकारको जस्तो महत्त्व बँदेल शिकारमा भने नहुने उनको भनाइ छ । ‘हन्टिङ ट्रफीका लागि नाउर र झारलको शिकार खेल्न विदेशी ढोरपाटन आउँछन्, बँदेल त मासुको प्रयोजनमा मात्र काम लाग्छ’, थापाले भने, ‘नेपालीहरु पनि ढोरपाटनमा शिकार खेल्न इच्छुक छन्, शिकारमा रमाउन चाहान्छन्, त्यो अवसर दिनुपर्छ ।’
रतुवा मृग, चरालगायत अरु वन्यजन्तु र पन्छीकोसमेत शिकार गर्न पाइने भएपनि अहिलेसम्म माग नआएको आरक्ष कार्यालयले जनाएको छ । विभागले केही दिनमै चालु आवको पहिलो शिकार यामका लागि दरभाउपत्र मागको सूचना निकाल्दैछ । विभागले कम्पनीबीच प्रतिस्पर्धा गराई शिकारको अनुमति दिने गर्छ ।
ढोरपाटनमा नेपाल ट्राभल एक्पिडिसन, ग्लोबल सफारिज, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाईफ आउटफिटर, ट्रयाक एण्ड ट्रेल्सलगायत शिकार कम्पनीले शिकार खेलाउँदै आएका छन् ।
बर्सेनि (असोज–मङ्सिर) र (फागुन–वैशाख) गरी दुई याममा शिकार खुला हुन्छ । वर्षमा २० नाउर र ११ झारलको शिकार गरिन्छ । शिकार कम्पनीबीच बोलपत्रमा हुने प्रतिस्पर्धाका आधारमा शिकारको राजश्व दर घटबढ हुने गर्छ ।
कुनै याममा शिकारको माग कम आउँदा कम्पनी प्रतिस्पर्धा गर्न चाहान्नन् । माग बढी हुँदा भने सीमित कोटाका लागि प्रतिस्पर्धा बढ्छ र कम्पनी पनि बढी राजश्व तिर्न तयार हुन्छन् ।
चार वर्षअघि (फागुन–वैशाख) को याममा एउटा नाउर शिकारको रु तेह्र लाख ५१ हजार र झारल शिकारको तेह्र लाख ५० हजारसम्म राजश्व बुझाउन कम्पनी तयार भएका थिए । आरक्षमा सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात शिकार ‘ब्लक’ छन् ।
शिकारका लागि रुस, अमेरिका, क्यानाडा, नर्वे, जर्मनीलगायत देशबाट पेसेवर शिकारी ढोरपाटन आउँछन् । सौखिन र खर्चिला विदेशी शिकारीको रोजाइँमा ढोरपाटन पर्ने गरेको छ । शिकारीहरू हेलिकप्टरबाट आरक्षमा पुग्छन् । शिकारी, आरक्ष कार्यालय तथा कम्पनीका प्रतिनिधि, भरिया र पथ प्रदर्शकसहितको टोलीले १५ दिन आरक्षमा बिताउँछन् ।
२०३९ सालमा स्थापना भएको आरक्ष देशकै एकमात्र वैधानिक शिकार गन्तव्य हो । एक हजार तीन सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रुकुमको उच्च पहाडी र हिमाली भू–भागमा अवस्थित छ । रोमाञ्चक र साहसिक शिकार पर्यटनका लागि ढोरपाटन विश्वमै प्रख्यात छ ।