close

मौलिक संस्कृति, सम्पदा संरक्षण गरेर पर्यटक भित्र्याउँदै चैनपुर

मौलिक संस्कृति, सम्पदा संरक्षण गरेर पर्यटक भित्र्याउँदै चैनपुर

Trulli
ADVERTISEMENT

संखुवासभा–पर्यटन विकास मात्र नभई समृद्धिको पनि आधार हो । नेपालमा भौगोलिक बनोटअनुसार कला–संस्कृति, धार्मिक मठमन्दिर र विभिन्न गन्तव्यले आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सक्ने प्रशस्त आधार छन् । प्राकृतिक स्रोत–साधनले भरिपूर्ण संखुवासभाको चैनपुर नगरपालिकाले यिनै आधारको विकास गरेर पाँच वर्षमा पर्यटक भित्र्याउन सफल भएको छ । 

 

चैनपुर नगरपालिका संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तय गरेको सय उत्कृष्ट पर्यटकीय गन्तव्यमा सूचीकृत स्थानीय तह हो । पौराणिक मान्यता र नेपाल एकीकरणसँग जोडिएको इतिहास यहाँका गहना हुन् । यिनै गहनाको स्तरोन्नति गरेर पर्यटकलाई लोभ्याउने नीति जनप्रतिनिधि निर्वाचित भएर आएदेखि लिइयो । 

 

जैविक तथा पर्यावरणीय विविधतामा मात्र नभई यहाँको कला, संस्कृति आफैंमा मौलिक छन् । चैनपुरको करुवाले देश विदेशमा ख्याति पाएको छ । यहाँ बसोबास गर्ने विभिन्न जातजातिको मौलिक संस्कृति संरक्षण गरेर पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यमा नगरले सफलता पाउँदै चैनपुरका नगरप्रमुख भरतकुमार खत्री बताउँछन् ।

 

नेपाल–भोटबीचको अन्तिम युद्ध यहीँबाट टिस्टासम्म पुगी लडेको इतिहास छ । काठमाडौंबाट दूरी नाप गरी राखिएको कोसढुंगाले पनि यो ठाउँको प्रशासनिक, पुरातात्विक र ऐतिहासिक महत्त्व उजागर गर्ने हुँदा नगरपालिकाले यसको प्रचार गरिरहेको छ । पौरााणिक मान्यताअनुसार सतीदेवीको दायाँ आँखा पतन भएको पवित्र स्थलको रूपमा परिचित चैनपुरको सिद्धकाली मन्दिरले धार्मिक पर्यटक प्रवद्र्धन गरेको छ । त्यसबाहेक बालेश्वर मन्दिर, बानेश्वर मन्दिरको स्तरोन्नति र मर्मतसम्भार गरिएको छ । 

 

यहाँको प्राकृतिक सौन्दर्यलाई जोगाएर पर्यटन प्रवद्र्धन गर्ने नगरको योजना सफलता उन्मुख देखिन्छ । जनप्रतिनिधिकै सक्रियतामा वडा नम्बर १ मा रहेको गुफापोखरीलाई तारबार गरिएको छ । विश्वकै ठूलो प्राकृतिक शिवलिंग रहेको बालेश्वर गुफा, गुफापोखरी, भीरेश्वर गुफा, तातोपानीजस्ता धार्मिक एवं प्राकृतिक स्थलको प्रवद्र्धन गरेर पर्यटकलाई लोभ्याउने काम गरिएको नगरप्रमुख खत्रीको भनाइ छ ।


नगरपालिकाले कृषि पर्यटनलाई पनि अघि बढाएको छ । त्यसैले यहाँ  सुन्तला, उखु, अलैंची पकेट क्षेत्र घोषणा गरिएको छ । कृषकलाई प्राविधिक सहयोग तथा आर्थिक अनुदान दिइँदै आएको छ । कृषि पर्यटनको उद्देश्यसहित सञ्चालनमा आएको बयर बाख्रा स्रोत केन्द्र स्थापना गरिएको छ । अध्ययन र अनुसन्धान गर्न आउनेका लागि यो महत्वपूर्ण बन्ने नगरप्रमुख खत्रीको बुझाइ छ ।

 

नगरपालिकाको केन्द्र चैनपुर बजारबाट तुम्लिङटार विमानस्थल ३० मिनेटको मोटर बाटोको दूरीमा छ । चैनपुर नगरबाट धरान, हिले र वसन्तपुर हुँदै सडक मार्गबाट समेत पर्यटक आउजाउ गर्न सक्ने गरी पाँच वर्षमा पूर्वाधार निर्माण भएका छन् । सडक यातायातबाटै हिलेबाट लेगुवा हुँदै खराङ चैनपुर आउन सकिन्छ । यसरी चैनपुरको जिरोप्वाइन्टबाट नगरका सबै आकर्षक गन्तव्यमा पुग्न सकिने हुँदा पर्यटक आकर्षित गर्ने गरी भएका पूर्वाधार निर्माणले भविष्यमा चैनपुर गुलजार हुने निश्चित छ ।