close

पर्यटनबाटै आर्थिक समृद्धि पछ्याउँदै कानेपोखरी

पर्यटनबाटै आर्थिक समृद्धि पछ्याउँदै कानेपोखरी

Trulli
ADVERTISEMENT

मोरङ– मोरङको कानेपोखरी गाउँपालिकाले आफूसँग भएको सीमसार क्षेत्रलाई संरक्षण गरेर पर्यटक आकर्षित गरिरहेको छ । कुनै बेला कानेपोखरीका पर्यटकीय गन्तव्यमा फाट्टफुट्ट मात्रै पर्यटक देखिन्थे । पर्यटन पूर्वाधारमा पालिकाले योजना र बजेट केन्द्रित गर्न थालेपछि कानेपोखरी घुम्न पुग्ने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुन थालेको छ । पर्यटनबाटै आर्थिक गतिविधि चलायमान हुने अवस्था सिर्जना भएको छ । 

 

कानेपोखरी गाउँपालिकाको वडा नम्बर ७ मा रहेको कानजस्तो आकारमा देखिने पोखरीबाटै स्थानीय तहको नाम रहन गएको हो । यसको आफ्नै किंवदन्ती छ । यही पोखरी हेर्न दैनिक ३ जना मात्रै पर्यटक आउने गर्थे । चर्चित कालीकोसी सिमसारको अवलोकन गर्नेको संख्या पनि ५ जना मात्रै थियो । पर्यटकीय सम्भावना भएर पनि ओझेल परेको सिमसारलाई चिनाउँदा अहिले गाउँपालिकामा पर्यटन चलायमान बन्दै गएको छ ।


 
गाउँपालिकाभित्र भलुवा, दही, भुल्के, कानेपोखरी, कालीकोसी सिमसार रहेका छन् । अहिले यी सबै सिमसार क्षेत्रलाई समुदायसँग मिलेर संवद्र्धन र संरक्षणको काम गरिएको छ । धार्मिक स्थलको स्तरोन्नति गर्दा आन्तरिक पर्यटकको रोजाइमा कानेपोखरीका सिमसार पर्न गएका छन् । कृषि, पर्यटनको मात्र नभई शैक्षिक पर्यटन र सांस्कृतिक पर्यटनको सम्भावनालाई पनि अघि बढाउने गरी गाउँपालिकाले योजना बनाएको छ । यही भेगमा बसोबास गर्ने आदिवासी धिमालको संस्कृतिलाई उजागर गरेर पर्यटकलाई आकर्षण गर्ने काम गाउँपालिकाले गरेको छ । मठमन्दिर र धार्मिक स्थललगायत पहिचान गरी गुरुयोजना बनाएर गाउँपालिकाले पर्यटन क्षेत्रमा सफलता हासिल गरेको पालिकाका वडाध्यक्ष ताराबहादुर काफ्ले बताउँछन् ।


गाउँपालिकाले पोखरीलाई व्यवस्थित गरी जलयात्रा, चारकोसे झाडीलाई व्यवस्थित गरी पार्कका रूपमा विकास गर्दै लगेको छ । सिमसारलाई व्यवस्थित गरी पर्या–पर्यटन तथा जलक्रिडा पर्यटनको विकास गर्ने गरी जनप्रतिनिधिले योजना बनाएर कार्यान्वयनमा ल्याएको वडा नम्बर ५ का कार्यवाहक वडाध्यक्ष खड्गबहादुर बस्नेतको भनाइ छ ।  

 

‘आन्तरिक पर्यटन प्रवद्र्धन, विकास र समृद्धिमा सम्वद्र्धन’ नारासहित पर्यटन गुरुयोजना निर्माण भएको छ । भलुवा, कालीकोसी, कानेपोखरी, भुल्के तथा अन्य पर्यटकीय क्षेत्रको पूर्वाधार व्यवस्थित गरिएको छ । पर्यटन प्रवद्र्धनका लागि होमस्टे सञ्चालन, स्थानीय मठ–मन्दिरको संरक्षणसमेत हुन थालेको वडा नम्बर ७ की वडा सदस्य पद्मकुमारी कार्कीले बताइन् ।

 

पर्यटकका रूपमा कुनै स्थान घुमघाम गर्दा फरक समुदायको सांस्कृतिक र ऐतिहासिक पहिचानबारे ज्ञान लिन पाइन्छ । विभिन्न धार्मिक मठमन्दिरको दर्शन गरेर तीर्थाटन गरिनु पनि पर्यटनकै अर्को पक्ष हो । विभिन्न उद्देश्य बोकेर आउने पर्यटकलाई कानेपोखरीले अब आकर्षित गर्न सक्ने पूर्वाधार निर्माण गर्दै लगेको छ । गाउँपालिकाको यो प्रयासले पर्यटनबाटै जीवनस्तर उकास्ने महत्त्वपूर्ण आधार खडा गरेको छ ।