close

पर्यटक लोभ्याउँदै सूर्योदय 

पर्यटक लोभ्याउँदै सूर्योदय 

Trulli
ADVERTISEMENT

इलाम– इलामको सूर्योदय नगरपालिका पूर्वको पर्यटकीय प्रवेशद्वार हो । इलाम घुम्न पुग्नेहरूले सबैभन्दा पहिला कन्यामकै सौन्दर्यको मजा लिन्छन् । मेची राजमार्गसँगै जोडिएकाले पनि कन्याम पर्यटकका लागि सहज गन्तव्य हो । कन्याममा स्वदेशी तथा विदेशी पर्यटकको बाह्रैमास घुइँचो लाग्ने गर्छ । सूर्योदय नगरपालिकाले अहिले कन्यामको सौन्दर्यलाई अझ बढाएर आन्तरिक तथा विदेशी पर्यटक भित्र्याउने काम गरिरहेको छ ।

 

पश्चिम बंगालको दार्जिलिङ प्रवेश गर्न सूर्योदय नगरपालिका टेक्नैपर्छ । झापाको चारआलीबाट ४० किलोमिटर पहाडी क्षेत्रको यात्रापछि कन्यामसहितका पर्यटकीय गन्तव्यमा प्रवेश गरिन्छ । यहाँका करिब ९० प्रतिशतभन्दा बढी नागरिक कृषि क्षेत्रमा आश्रित भएकाले पनि धेरै पर्यटक यहाँको सौन्दर्य एवं श्रम देखेर लोभिने गर्छन् । पछिल्लो समय मेची राजमार्गलाई चौडा बनाउँदै पूर्वाधार निर्माण भएपछि कन्यामको रौनक थप चुलिएको छ । उद्यमशील नागरिकले कृषि र पर्यटनमा आफ्नै बलबुँताले गरेको लगानीलाई जोखिमरहित बनाउन सरकारले नीतिगत आधार तयार गरिदिँदा पर्यटनको दिगो विकास गर्न नगरपालिका सक्षम भएको झापाका आन्तरिक पर्यटक सुमन गरञ्जा मगर बताउँछन् 

 

सूर्योदय नगरपालिकाभित्र कन्याम, चित्रेगुफा, पञ्चकन्या मन्दिर, थुम्के, पशुपतिनगर, स्वामी पार्क, सुन्दरपानी, लेप्चा गुम्बा, सिमपानी, करफोक, फिक्कल, मिर्मिरे डाँडा, श्रीअन्तु, अन्तु पोखरी, थलथले पोखरीलगायत पर्यटक स्थल रहेका छन् । 


१५ स्थानमा नगरपालिकाले गरेको विकासप्रति मन्त्रमुग्ध हुने अवस्था रहेको मोरङबाट इलाम भ्रमणमा आएकी आन्तरिक पर्यटक सञ्जिता थापा सुनाउँछिन् ।

 

नगरपालिकाले थुम्के पर्यटकीय क्षेत्रमा रेड पान्डा संरक्षण, बुद्ध पार्क निर्माणाधीन, अन्तु पोखरीमा डुंगामा सयर गर्ने व्यवस्था, श्रीअन्तुमा व्यवस्थित भ्यू टावर, हजुरे डाँडामा वनभोज स्थलको व्यवस्थापन, शान्ति सहिद पार्कको स्तरोन्नति गरेको छ ।


विभिन्न जातजातिका जातीय पोसाकमा सजिएर तस्बिर खिचाउन, घोडचढीको आनन्द लिन पर्यटक रुचाउँछन् । घोडामा चढेर चियाबारीको फन्को मार्दा पर्यटकले आनन्द महसुस गर्छन् । नगरपालिकाको पहलमा पार्क निर्माण भएको छ । नगरले कन्याम श्रीअन्तु र फिक्कलमा सौन्दर्यकरणको काम गरेको छ । पर्यटकीय नगरी घोषणा भइसकेकाले पनि यहाँ थप पर्यटक आकर्षित गर्न सेल्फी पार्क, टिकटक पार्क र हिल स्टेसन निर्माण गर्ने योजना पालिकाको छ । नगरपालिका प्रांगारिक कृषि, पर्या–पर्यटन र आर्थिक समानताको दीर्घकालीन सोच लिएर अघि बढ्दा चार आर्थिक वर्षमा गरेको लगानीअनुसार पर्यटकको संख्या २० प्रतिशतले वृद्धि हुन पुगेको सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले जानकारी दिए ।

 

नेपाल एकीकरण अभियानसँग जोडिएको ऐतिहासिक सम्बन्ध पनि सूर्योदयसँगै गाँसिएको छ । टिस्टामा खुँडा र खुकुरी पखालेर फर्किएका पुर्खाले विजयको निशान करफोक पञ्चकन्यामा छाडेको स्थलमा अन्वेषण गर्ने तरखरमा नगरपालिका छ  । कृषिमा आधारित उद्योगको भविष्य र उद्यमशील पर्यटनसहितको दिगो बजारको सुनिश्चितता हुन थालेको छ । पर्यटक सुरक्षाका लागि २४ सै घन्टा सिसीक्यामेराले निगरानी गरेको छ । सूर्योदयमा आएका पर्यटक घुमफिरपछि स्थानीय स्तरमा उत्पादित चिया, छुर्पी, ललिपप, अकबरे खुर्सानीको कोसेली लिएर फर्कन्छन् । यसले स्थानीयको आयआर्जनमा पनि टेवा पुगेको छ ।