close

पर्यटन, कला र संस्कृति चिनाउँदै अर्जुनधारा

पर्यटन, कला र संस्कृति चिनाउँदै अर्जुनधारा

Trulli
ADVERTISEMENT

झापा– झापाको अर्जुनधारा नगरपालिकाभित्र धार्मिक र संस्कृति झल्कने प्रशस्तै मठमन्दिर छन् । पूर्वको पशुपतिनाथका रूपमा परिचित अर्जुनधारा धाम, साधुटारमा रहेको शंकराचार्यको पीठ धार्मिक पर्यटनको गन्तव्य बनिरहेका छन् । पाँच वर्षमा जनप्रतिनिधिले पर्यटन, कला र संस्कृतिमा गरेको लगानीले अहिले सिंगो नगर पर्यटकको रोजाइमा परिरहेको छ । 

 

धार्मिक, सांस्कृतिक र पर्या–पर्यटनका हिसाबले अर्जुनधारा नगरपालिका समृद्ध छ । ऐतिहासिक र सांस्कृतिक विरासत रहेको नगरपालिका पर्यटनमार्फत समृद्धि भित्र्याउने लक्ष्य लिएर अघि बढिरहेको छ । यहाँको अर्जुनधारा जलेश्वर धाम, साधुटार, शनिश्चरे बजार, खुदुनाबारी, सुखानी पार्क, सलबारी पार्क पर्यटक लोभ्याउने पर्यटकीय क्षेत्र हुन् । 

 

अर्जुनधारा नगरपालिकाका पर्यटकीय गन्तव्यमा अर्जुनधारा जलेश्वर धाम, शनिश्चरे बजार, साधुटार, खुदुनाबारी, सुखानी पार्क, सलबारी पार्कलगायत स्थल रहेका छन् ।

 

यिनै गन्तव्यको पूर्वाधार विकास गरेर अहिले नगरपालिकाले आन्तरिक पर्यटक आकर्षित गरिरहेको पाइन्छ । महाभारतको कथासँग जोडिएको अर्जुनधारा जलेश्वर धाममा नेपाल र भारतबाट वर्षेनि लाखौँ दर्शनार्थी पुग्छन् । पौराणिक कथाअनुसार अर्जुनले वाँण खनेर निक्लिएको पानी गाईलाई खुवाइएको स्थलमा मूर्ति निर्माण गरिएको छ । पूर्वको पशुपतिनाथ नामले चर्चित यो धामका लागि नगरपालिकाले बर्सेनि बजेट छुट्याउने गरेको छ । नगरपालिकाभित्र रहेको शंकराचार्य पीठमा साधुसन्त बसोबास गर्दै आएका छन् । सहस्र धारालाई धार्मिक आस्थाका रूपमा विकास गरिएको नगरपालिकाका वरिष्ठ कार्यक्रम तथा योजना अधिकृत हिमराज सेढाईं बताउँछन् ।

 

नगरपालिकाले झन्डै २० लाख रुपैयाँ खर्च गरेर साधुटारमा धार्मिक पूर्वाधार निर्माण गरेको छ । वैदिक गुरुकुल शिक्षा पद्धति र आधुनिक प्रविधियुक्त शिक्षाको संयोजनका लागि पूर्वाधार निर्माण गरिएका छन् । वेदवेदांग संस्कृत पाठशालाबाट सयौँले शिक्षा लिइरहेको साधुटारस्थित शंकराचार्य पीठका अध्यक्ष लक्ष्मीप्रसाद खतिवडाले जानकारी दिए ।

 

झापा विद्रोहका ५ जना शहीदको प्रतिमासहितको सुखानी पार्क निर्माणका लागि नगरपालिकाले ५५ लाख खर्च गरेको छ ।  यो पार्क अहिले झापाको मुख्य पर्यटकीय गन्तव्य बन्न पुगेको छ । पार्कमा मनोरञ्जनात्मक सामग्री र लोपोन्मुख जीवजन्तुको दृश्यावलोकनसमेत गर्न सकिन्छ । दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक सुखानी शहीद स्मृति पार्क आउने गरेका छन् । 

 

सखुवाका बहुसंख्यक बिरुवा रहेको यो सलबारी पार्कमा आन्तरिक पर्यटकका लागि पोखरी र वनभोज स्थल निर्माण गरिएको छ । यसै पार्कसँगै नमुना सामुदायिक वन पनि अवस्थित छ । जंगलभित्र सुन्दर र आकर्षक बाटो निर्माण, ठूलो पोखरीभित्र बोटिङ, आकर्षक काठको पुल रहेको सालबारी आन्तरिक तथा बाह्य पर्यटककोे रोजाइ बन्न थालेका छन् । सालबारी पार्कभित्र कछुवा अध्ययन र अवलोकनका लागि छुट्टै अनुसन्धान केन्द्र बनाइएको छ । हलुवागढमा पर्या–पर्यटन विकासका लागि पूर्वाधार निर्माण गरिएको छ । यसलाई  पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न थालेपछि नगरको विकट गाउँ सातकटेरीबासीको आयआर्जनमा टेवा पुगेको हलुवागढ पर्या–पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष चक्रबहादुर तामाङको भनाइ छ ।

 

झापाको पुरानो बजार शनिश्चरेको सौन्दर्यकरण, प्रतिमा व्यवस्थापन, शालिक र स्तम्भ निर्माणमा समेत नगरपालिकाले आर्थिक लगानी गरेको छ । विशेषगरी इलाम, पाँचथर, ताप्लेजुङको करिब १ सय २५ वर्ष पुरानो व्यापारिक केन्द्र शनिश्चरेलाई व्यापार र पर्यटनसँग जोडिराख्ने नगरपालिकाको प्रयास सफलता नजिक पुगेको नगरप्रमुख हरिकुमार रानाले जानकारी दिए ।


 

फाल्गुनन्द मिङसो माङहिम र किरात राईको सुम्निमा पारुहाङको मन्दिर रहेको खुदुनाबारीको समेत विकास गरिएको छ । यसबाट पनि पर्यटक आकर्षित हुने गरेका छन् । संस्कृति, कला र धार्मिक क्षेत्रको संरक्षण गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर नगरको आर्यआर्जन बढाउन अर्जुनधारा सफल हुँदै गइरहेको छ ।