close

पर्यटक भित्र्याएर समृद्ध बन्दै मिक्लाजुङ्ग

पर्यटक भित्र्याएर समृद्ध बन्दै मिक्लाजुङ्ग

Trulli
ADVERTISEMENT

मोरङ– मोरङको मिक्लाजुङ्ग गाउँपालिका प्राकृतिक सम्पदामा समृद्ध छ । यो पालिकाको धेरै भूभाग जंगलले ढाकिएको छ । वन्यजन्तु आरक्षण क्षेत्र मात्रै नभई पर्यटकीय स्थल रहेपनियसको प्रचारप्रसार हुन सकेको थिएन । थुप्रै पर्यटकीय गन्तव्य ओझेल परिरहेका थिए । साढे चार वर्षअघि जनप्रतिनिधि निर्वाचित भएर आएपछि पर्यटन प्रवद्र्धनमा झन्डै ५ करोड लगानी भइसकेको छ । पालिकाले पर्यटन क्षेत्रमा लगानी वृद्धि गरेसँगै पर्यटकको उपस्थिति बढ्न थालेको छ । 

 

मिक्लाजुङ्ग डाँडा यो भेगको सबैभन्दा महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो । २ हजार ४ सय १० मिटर उचाइको यो डाँडाबाट प्रदेश १ का १६ वटै जिल्लासहित भारतको बिहार र पश्चिम बंगालका थुप्रै स्थल देख्न सकिन्छ । प्राकृतिक सम्पदामा उत्तिकै धनी भएर पनि नागरिकले यसको फाइदा उठाउन सकेका थिएनन् । तर, पछिल्लो समय अवस्था फेरिएको छ ।

 

पालिकाभित्र पर्यटकीय स्थलका रूपमा मिक्लाजुङ्ग डाँडा, चुलीपोखरी, मिक्लुबेतेनी, नेसेलुङ्ग डाँडालगायतका स्थल चर्चित छन् । आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न स्थानीय सरकारले मिक्लाजुङ्गलाई पर्यटन हब बनाउने गरी योजना बनाएर बजेट विनियोजन गरेका छन् ।
गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा पर्यटन क्षेत्रमा आव ०७५/७६ ३० लाख, आव ०७६/७७  ४० लाख, आव ०७७/७८ ८० लाख, आव ०७८/७९ मा बेतेनी सिमसार क्षेत्रको प्रवद्र्धनका लागि ३ करोड ७२ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

 

आर्थिक वर्ष ०७५/७६ मा ३० लाख बजेट विनियोजन गरेको पालिकाले ०७६/७७ मा १० लाखले वृद्धि गर्दै ४० लाख रुपैयाँ पुर्‍याएको छ  । त्यसपछि ४० लाख बजेट थप बजेट विनियोजन गर्दै ८० लाख पुर्‍याइयो । कार्यकालको अन्तिम आर्थिक वर्षमा भने बेतेनी सिमसार क्षेत्रमा ३ करोड ७२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

 

चुलीपोखरी र मिक्लुबेतेनी पोखरी यो भेगको महत्वपूर्ण सिमसार हो । पूर्वाधार विकास र प्रचारप्रसार गरिए प्रदेश १ कैै पर्यटन विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने भन्दै गाउँपालिकाले रकम छुट्याएर काम गरियो । बेतेनीको प्रवद्र्धनका लागि ३ करोड ७२ लाख विनियोजन भएको छ । मठमन्दिर, धार्मिक तथा ऐतिहासिक स्थलको पहिचान गरी संरक्षण र जीर्णोद्धार  गरिएको पालिका उपाध्यक्ष सरला राई बताउँछिन् ।

 

मिक्लाजुङ्ग गाउँपालिकाले पर्यटन क्षेत्र लक्षित कार्यक्रअन्तर्गत हालसम्म मन्दिरको जीर्णोद्धार, राष्ट्रिय विभूति फाल्गुनन्दको पूर्ण कदको शालिक निर्माण, होमस्टे सञ्चालन, बेतेनी सिमसारको प्रवद्र्धन, चुलीपोखरी क्षेत्रमा पदयात्रा निर्माण, निसेलुङमा भ्यू टावर निर्माण, कालिका मन्दिरको स्तरोन्नति, पर्यटकीय गन्तव्य पुग्ने सडक निर्माण र कालोपत्रे गरेको छ ।

 

गाउँपालिकाको वडा नम्बर २ कुइनेटारमा बनाइएको बक्रहा नदीमाथिको इलाम र मोरङ जोड्ने झोलुंगे पुलसमेत पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । मन्दिरदेखि पर्यटकीय क्षेत्रमा गरिएको लगानीले मिक्लाजुङ्गको आन्तरिक स्रोत मात्र नभई मुलुकको राजस्व वृद्धिमा पनि सहयोग पुग्ने कालिका देवीथान मन्दिरका मूल पुजारी तेजबहादुर थलङ्ग सुनाउँछन् ।


होमस्टे सञ्चालन गरेर रोजगारी वृद्धि गर्ने पालिकाको योजनाका कारण धेरैले रोजगारीसमेत पाएका छन् । यीबाहेक अरू विभिन्न योजनालाई कार्यान्वयन गर्ने तयारी भइरहेको पालिकाको वडा नम्बर ३ का वडाध्यक्ष खगेन्द्र मादेन लिम्बू बताउँछन् ।


संस्कृतिले सभ्यतामा मात्रै होइन, स्थानीयलाई पनि प्रतिनिधित्व गर्छ भन्ने बुझेका जनप्रतिनिधिले संस्कृति र कलाको संरक्षणमा समेत दीर्घकालीन योजना बनाएका छन् । पञ्चै बाजाको संरक्षण र प्रवद्र्धन यसको प्रतिनिधि उदाहरण हो ।  अहिले पालिकाले बनाएको चिल्ला सडकमा सेल्फी खिच्ने, टिकटक बनाउनेको घुइँचोले मिक्लाजुङ्गलाई पर्यटक आकर्षित गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको छ ।