close

भीमदत्तलाई बाह्रसिङ्गाको नगरका रुपमा चिनाउन अभियान

भीमदत्तलाई बाह्रसिङ्गाको नगरका रुपमा चिनाउन अभियान

Trulli
ADVERTISEMENT

कञ्चनपुर– भीमदत्त नगरपालिकालाई बाह्रसिङ्गाको नगरका रुपमा चिनाउनका लागि अभियान सञ्चालन गरिएको छ । पर्यटक आकर्षित गर्ने उद्देश्यले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका बाह्रसिङ्गालाई चिनाउनका लागि नगरपालिकाले अभियान सञ्चालन गरेको हो । नगरपालिकाले बाह्रसिङ्गालाई ब्राण्ड बनाउने घोषणा गरेको छ ।

 

‘बाह्रसिङ्गालाई नगरको ब्राण्डका रुपमा घोषणा गरेका छौँ’, नगर प्रमुख सुरेन्द्र विष्टले भने, ‘बाह्रसिङ्गाको प्रचारप्रसारका कार्यक्रम सञ्चालन गर्छौं । बाह्रसिङ्गाको लोगो तथा पोष्टर कार्यालय, चोक चौराहमा राखेर प्रचार प्रसारकलाई व्यापक बनाउछौँ ।’ नगरपालिकामा राखिने सबै प्रकाशनमा बाह्रसिङ्गाको लोगो राखिने उनले बताए ।

 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वकै ठूलो बाह्रसिङ्गाको झुण्ड देख्न पाइन्छ । बाह्रसिङ्गामार्फत शुक्लाफाँटालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसारसँगै पर्यटन प्रवर्द्धन गर्ने नगरपालिकाको योजना छ ।

 

नगर प्रमुख विष्टले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रचूर सम्भावनाको धनी रहेकाले त्यसको प्रवर्द्धन कार्यलाई नगरपालिकाले प्राथमिकताका साथ अघि बढाएको बताए । आव ०७८/७९ को नीति तथा कार्यक्रममा समेत नगरपालिकालाई बाह्रसिङ्गाको नगरका रुपमा परिचित गराउने कार्यक्रम समावेश गरिएको थियो ।

 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर मेहताले भीमदत्त नगरपालिकाले बाह्रसिङ्गालाई ब्राण्डका रुपमा प्रयोग गर्ने कार्यसँगै नगरलाई बाह्रसिङ्गा नगर घोषणा गर्ने कार्य निकै सराहनीय रहेको बताए । यस कार्यले निकुञ्जको पर्या–पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने र बाह्रसिङ्गाको प्रचारप्रसारमा सघाउ पुग्ने उनको विश्वास छ ।

 

ठूलो झुण्डमा निकुञ्जका फाँटमा चर्दै गरेका बाह्रसिङ्गा एकसाथ हेर्न सकिन्छ । बाह्रसिङ्गा हेर्नकै लागि टाढाटाढाबाट पर्यटक यस क्षेत्रमा पुग्ने गर्दछन् । निकुञ्ज बाह्रसिङ्गाका लागि दक्षिण एशियामै प्रसिद्ध छ ।

 

लहरै चर्न लागेका बाह्रसिङ्गा हेर्नका लागि शुक्लाफाँटमा पर्यटक पुग्ने गर्दछन् । निकुञ्जमा सन् २०१२ मा गरिएको गणनामा बाह्रसिङ्गाको सङ्ख्या दुई हजार १७० रहेको थियो । सुरक्षित बासस्थान र चरनको पर्याप्त क्षेत्र भएकाले त्यो सङ्ख्या अहिले बढेको अनुमान छ ।

 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज २०२६ सालमा सिकार आरक्षका रुपमा स्थापना भई विसं २०३२ मा १५५ वर्ग किमी क्षेत्रफललाई समेटी शुक्लाफाँटा वन्यजन्तु आरक्षका रुपमा घोषणा गरिएको हो । विसं २०३६ सालमा आरक्षको पूर्वतर्फको १५० वर्ग किमी क्षेत्रफललाई विस्तार गरी आरक्षको क्षेत्रफललाई ३०५ वर्ग किमी बनाइएको थियो ।

 

विसं २०७३ फागुन ९ गते शुक्लाफाँटा वन्यजन्तु आरक्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रुपमा घोषणा गरिएको हो । निकुञ्ज १७४ मिटरदेखि १३८६ मिटरको उचाइमा पर्छ । यो निकुञ्ज अन्य दुर्लभ वन्यजन्तु, पक्षी तथा वनस्पतिका लागिसमेत प्रसिद्ध छ ।