close

चलायमान हुँदै भक्तपुरको पर्यटन

चलायमान हुँदै भक्तपुरको पर्यटन

Trulli
ADVERTISEMENT

भक्तपुर– कोरोना महामारी संक्रमणका कारण डेढ वर्षभन्दा बढी थलिएको भक्तपुरको पर्यटन व्यवसाय चलायमान हुन थालेको छ । अंग्रेजी नयाँ वर्ष २०२२ अवसरमा भक्तपुरका पर्यटकीय स्थलदेखि होटलसम्म आन्तरिक पर्यटकले भरिभराउ भएका छन् ।  नयाँ वर्ष मनाउन यहाँका रानीकोटदेखि नगरकोटसम्मका होटल आन्तरिक पर्यटकले भरिएका हुन् ।  

 
नयाँ पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुन्डु र वडा नम्बर ८ सिपाडोलको संगमस्थल ऐतिहासिक रानीकोटमा सबै होटल आन्तरिक पर्यटकले भरिएका छन् । यहाँबाट बिहान देखिने सुन्दर हिमाली दृश्यसँगै सूर्योदयको झुल्को हेर्नेको भीड लागेको थियो ।


रातभर नाचगान गरी नयाँ वर्षको उल्लासमय स्वागत गर्न स्वदेशी पर्यटकको घुइँचोले होटल पाउनै मुस्किल थियो ।  भक्तपुरको अर्को पर्यटकीय गन्तव्य नगरकोटमा नयाँ वर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न स्वदेशी पर्यटक पुगेका छन् । शुक्रबार बेलुका बास बसेर शनिबरा बिहान सूर्योदयसँगै हिमाली दृश्य हेर्न पर्यटकको आगमन नगरकोटमा बाक्लो थियो ।

 

हरेक वर्ष विदेशी पर्यटकले भरिने यहाँका पर्यटकीय क्षेत्र कोरोना महामारीका कारण विदेशी पर्यटक नआए पनि स्वदेशीको आगमन देखेर होटल व्यवसायी उत्साहित छन् ।


समुद्री सतहबाट २००० मिटर उचाइमा रहेको सूर्यविनायक र काभ्रेको पनौती नगरपालिकाको सिमानामा पर्ने रानीकोटबाट काठमाडौं उपत्यकालगायत विभिन्न हिमशृंखलासमेत अवलोकन गर्न सकिन्छ । यहाँबाट सूर्योदयसँगै कञ्चनजंघा, मकालु, सगरमाथा, चोयु, सिसापाङमा, मनास्लु, अन्नपूर्ण, माछापुच्छ्रे, गौरीशंकर, धौलागिरि तथा लाङ्टाङजस्ता ८ हजार मिटरभन्दा अग्ला ८ वटा हिमाल हेर्न सकिने भएकाले पछिल्लो समय रानीकोट पर्यटकीय गन्तव्य बन्न थालेको भिलेज हाइल्यान्ड रिसोर्ट सञ्चालक रामसुन्दर बकें बताउँछन् ।

 

सहज पक्की सडकदेखि सूर्यविनायक–रानीकोट–आशापुरी एवं सूर्यविनायक–रानीकोट–फुल्चोकी पदयात्रा मार्गले रानीकोट पर्यटकको रोजाइमा पर्न थालेको उनको भनाइ छ । कोरोना महामारीमा पनि नयाँ वर्ष २०२१ को उत्साह र उमंग स्वदेशी पर्यटकले नै थपेकोे उनको अनुभव छ । 

 

अंग्रेजी नयाँ वर्ष अवसरमा भएको भीडले पर्यटन व्यवसायीका लागि ऊर्जा र उत्साह बढेको चर्चा गर्दै व्यवसायी बकें भन्छन्, ‘रानीकोट ऐतिहासिक रूपले मात्र नभएर सुन्दर दृश्यावलोकनका लागि पनि उपयुक्त स्थान हो । बाह्रै महिना पर्यटकको आकर्षण बन्न थालेको रानीकोटबाट देखिने हिमाल र सूर्योदयको रसास्वादनका लागि नयाँ वर्ष अवसरमा पर्यटक खचाखच हुँदै आएको थियो । कोरोनाले ठप्प बनेको होटल व्यवसाय पछिल्लो केही महिनादेखि चलायमान हँुदै थियो । अंग्रेजी नयाँ वर्षमा आन्तरिक पर्यटकको घुइँचो लागेपछि पर्यटन व्यवसायमा पुनः आशा पलाएको छ ।’

 

रानीकोटमा १६ करोड रुपैयाँ लागतमा निर्माण भएको सबभन्दा ठूलो भिलेज हाइल्यान्ड रिसोर्ट सञ्चालनमा आएलगत्तै कोरोनाका कारण बन्द गर्नुपरे पनि अहिले भने पुनः आशा जगाएको उनी बताउँछन् ।

 

नयाँ वर्ष आफ्नो होटल ७ दिनअघिदेखि नै बुक भएकाले कतिपय आउन चाहने स्वदेशी पर्यटकलाई पनि ठाउँ दिन नसकेर अन्य होटलमा पठाउनुपरेको उनले बताए । आगामी एक सातासम्म होटल आन्तरिक पर्यटकले भरिने उनको भनाइ छ । 


६ महिनादेखि खुल्न थालेका नगरकोटका सानादेखि ठूला होटल नयाँ वर्ष अवसरमा खचाखच छन् । नयाँ वर्ष २०७८ देखि चहलपहल भए पनि अंग्रेजी नयाँ वर्ष २०२२ आगमनमा विदेशी पर्यटक नभए पनि स्वदेशी पर्यटकले नै यहाँका होटल खचाखच भएकोे होटल मेरिगोल्डका सञ्चालक गोकुल लामिछाने बताउँछन् । 


‘मैले होटल क्षेत्रमा काम गरेको २१ वर्षभन्दा बढी भयो तर कोरोनाले होटल सुनसान भएको यो पहिलो पटक हो । यद्यपि हरेक नेपाली र अंग्रेजी नयाँ वर्षमा एक महिनाअघिदेखि सबै होटल बुक हुन्थे, सबै होटल भरिन्थे’, उनी भन्छन्, ‘गत वर्ष सुनसान भए पनि यस वर्ष अंग्रेजी नयाँ वर्षमा भने आन्तरिक पर्यटकको आगमनले पर्यटन क्षेत्रमा पुनः आशा पलाएको छ ।’


भूकम्पले भत्किएपछि पुनःनिर्माण गरेर नयाँ स्वरुपमा होटल सञ्चालनमा ल्याएका होटल चौतारीका सञ्चालक बद्री माक भूकम्प र कोरोनाले संकटमा पारेको होटल व्यवसायलाई अहिले आन्तरिक पर्यटकले राहत मिलेको बताउँछन् । 

 

अंग्र्रेजी नयाँ वर्षमा नगरकोटमा विदेशी पर्यटक नभए पनि स्वदेशी पर्यटक आगमनले होटल खचाखच रहेको बताउँदै उनले नयाँ वर्ष मात्रै नभई शुक्रबार र शनिबार अधिकांश होटल आन्तरिक पर्यटकले भरिने गरेको जानकारी दिए ।

 

सन् २०२१ को अन्तिम दिनलाई बिदाइ र २०२२ को पहिलो दिनको सूर्योदयलाई स्वागत गर्न यो वर्ष स्वदेशी पर्यटक आगमनले पर्यटन व्यवसायमा आशा पलाएको सञ्चालक माक बताउँछन् ।