close

पर्यटक लोभ्याउँदै बागमती फिचर फन ताल

नेपालकै ठूलो मानवनिर्मित ताल निर्माण अन्तिम चरणमा 

पर्यटक लोभ्याउँदै बागमती फिचर फन ताल

नेपालकै ठूलो मानवनिर्मित ताल निर्माण अन्तिम चरणमा 

Trulli
ADVERTISEMENT

सर्लाही–पूर्वपश्चिम लोकमार्गदेखि करिब दुई किलोमिटर दक्षिण वाग्मती नगरपालिका वडा नम्बर १२ मा निर्माणाधीन अवस्थामा रहेको बागमती फिचर फन ताल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणमा परेको छ । निर्माणाधीन अवस्थाको मानवनिर्मित बागमती फिचर फन तालमा घुम्न दैनिक १ हजारभन्दा बढी पर्यटक आउन थालेका छन् ।

 

करिब १२१ बिघा क्षेत्रफलमा निर्माणाधीन अवस्थामा रहेको बागमती फिचर फन ताल निर्माणकै चरणमा करिब ६० करोड रुपैयाँ खर्च भइसकेको नगरप्रमुख भरतकुमार थापाले जानकारी दिए । उनका अनुसार चुरेकै काखमा रहेको उक्त ताल हाल १० सिट क्षमताको छ मोटरबोट सञ्चालन भइरहेका छन् । निर्माण सम्पन्न भएपछि ३५ सिट क्षमता भएको जेटबोटसमेत सञ्चालन गरिनेछ ।


ताल पूर्ण निर्माण हुन करिब ६ महिना लाग्ने भए पनि तालको सुन्दर दृश्य, तालपारि देखिने चुरे पर्वत, तालमा पौडिँदै गरेका हाँस र गुडिरहेका मोटरबोटले आन्तरिक तथा बाह्य पर्यटकको मन लोभ्याएको छ । तालमा घुम्न आउने पर्यटकको चाप अहिले नै बढ्न थालिसकेको बागमती इन्टरटेन्डमेन्ड प्रालिले जनाएको छ । 


अहिले तालमा रहेका बोटमा यात्रा गर्ने तथा ताललाई नजिकैबाट नियाल्दै खाजा खाने, साथीभाइ भेट्ने तथा रमाइलो गर्ने र टिकटक बनाउने पर्यटकको संख्या बढिरहेको नगर उपप्रमुख लीलाकुमारी मोक्तानले बताइन् । उनका अनुसार सो ताललाई प्रदेश २ को पर्यटकीय गन्तव्यका रूपमा निर्माण गर्ने लक्ष्यका साथ नगरपालिकाले ताल निर्माणको काम गरिरहेको छ । तालमा दैनिक १ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका नगरपालिकाले जनाएको छ । 


तालको नजिकै सुमेरु पर्वत, मिनिनेपाल र शिवमूर्ति बनाउने योजनाका साथ काम भइरहेको छ । तालको बीचमा रिसोर्ट निर्माणाधीन अवस्थामा छ भने तालको वरिपरि नगर बगैँचा तथा घेराबेराको काम पनि भइरहेको छ । तालमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले २ सय रुपैयाँको टिकट काटिसकेपछि तालमा घुम्न थाल्दा आफूलाई पोखराको फेवाताल घुमेको महसुस भएको सुनाउने गरेका छन् । 

 

तालको सौन्दर्य बढाउन हाँसपालन, वरिपरि फूल लगाइएको र तालको बीचमा रिसोर्टसमेत निर्माण गरिएको छ । अबको करिब ६ महिनामा ताल निर्माण सम्पन्न गर्ने तयारीका साथ नगरपालिकाले काम गरिरहेको छ । पूर्ण रूपमा ताल निर्माण भई नसक्दै करिब १ हजार जनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारीसमेत पाएका छन् । 


ताल निर्माण सम्पन्न भएपछि नगरका करिब १ हजार ५०० स्थानीय युवाले रोजगारी पाउने र नगरको पनि आन्तरिक आयस्रोत बढाउने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोख्रेलले बताए ।

तालमा सजावट र रिसोर्टको काम तीव्र गतिमा भइरहेको छ । नेपालकै सबैभन्दा ठूलो मानवनिर्मित तालको सम्पूर्ण काम सकिएपछि दैनिक करिब ५ हजार आन्तरिक तथा बाह्य पर्यटक ल्याउने नगरपालिकाको लक्ष्य छ । तालको गहिराइ १५ देखि ४५ फिटसम्म गहिरो छ । जोखिम रहेकाले उक्त तालमा मानिसलाई पौडी खेल्न र माछा मार्न निषेध गरिएको छ ।

 

साथै, केही समयपछि उक्त तालमा माछापालन पनि गर्ने नगरपालिकाले योजना बनाएको छ ।  नगरपालिकाले नगर बगैँचा र फनपार्कसमेत निर्माण गरिरहेको छ । नगरबासीलाई रोजगारी पनि दिने र नगरको आन्तरिक आयस्रोत बढाउने लक्ष्यका साथ ताल, नगर बगैँचा र फनपार्क निर्माण भइरहेको नगरपालिकाले जनाएको छ । 


सडक निर्माण, स्तरोन्नति मात्र विकास नभई आन्तरिक आयस्रोत बढाउने र रोजगारी सिर्जना गरी स्वरोजगार बनाउने योजना ल्याउनु नै विकास रहेको नगरका जनप्रतिनिधिको निष्कर्ष छ । यसले नगरको आन्तरिक आयस्रोत बढाउन र बेरोजगार नागरिकलाई रोजगारी सिर्जना गर्ने काम गरिएको जनप्रतिनिधि बताउँछन् ।