close

मोटरसाइकलबाटै डोल्पाको सेरोफेरो 

से–फोक्सुन्डोमा आन्तरिक पर्यटकको घुइँचो

मोटरसाइकलबाटै डोल्पाको सेरोफेरो 

से–फोक्सुन्डोमा आन्तरिक पर्यटकको घुइँचो

Trulli
ADVERTISEMENT

डोल्पा– हिमाली जिल्ला डोल्पामा सडक यातायातको पहुँच पुगिसकेको छ । सडक यातायातले डोल्पा छोएपछि पछिल्लो समय यहाँका पर्यटन स्थल आन्तरिक पर्यटकले भरिँदै गएका छन् ।


पछिल्लो समय डोल्पा मोटरसाइकल ‘ट्रेक’को प्रमुख गन्तव्य बन्न थालेको छ । देशका विभिन्न जिल्लाबाट मोटरसाइकलमा घुम्न आउने पर्यटकले भरिभराउ हुन थालेकाले मोटरसाइकल ‘ट्रेक’को ‘हब’ बन्न थालेको हो ।

 

से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जका अनुसार यो वर्ष मात्रै २ हजार ५०० पर्यटकले ताल अवलोकन गरेका छन् । ताल हेर्न आउनेमा प्रायः आन्तरिक पर्यटक छन् । यो वर्ष हवाईजहाज र गाडीबाट भन्दा पनि मोटरसाइकल ‘ट्रेक’ गरेर धेरै पर्यटक घुम्न आएका हुन् ।


सडक सञ्जाल जोडिएसँगै देशका जुनसुकै जिल्लाबाट पनि सीधै सदरमुकाम दुनैसम्म मोटरसाइकलमा पुग्न सकिन्छ । दुनैबाट सुलीगाड हुँदै दुई दिन पैदलयात्रा गरेर पर्यटकीय नगरी फोक्सुन्डो ताल पुग्न सकिन्छ ।  नेपालकै गहिरो तालभित्र पर्ने यो ताल जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यभित्र पर्दछ ।


योसँगै प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर, से–गुम्बा, धो तराप भ्याली, सदरमुकाम दुनै डोल्पाका थप आकर्षक पर्यटकीय गन्तव्य हुन् । प्राकृतिक, धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्त्व बोकेका यस्ता सम्पदाको अवलोकन भ्रमणका लागि डोल्पा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो ।


पर्यटनका लागि उपयुक्त याम सुरु भएकाले भदौदेखि नै ताल हेर्न आउने आन्तरिक पर्यटकको चाप बढेको र त्यसमा मोटरसाइकल पार्किङले निकुञ्ज कार्यालय आसपासका सुलीगाड क्षेत्र भरिभराउ भएको निकुञ्जले जनाएको छ । 

 

मोटरसाइकल पार्किङ गर्ने ठाउँ नभएर बाटामै मोटरसाइकल छाडेर भए पनि दुई दिनको पैदलयात्रा गरेर पर्यटक फोक्सुन्डो हेर्न पुगेका थिए । एक साताअघिसम्म दैनिक ५० बढी पर्यटक मोटरसाइकल ‘ट्रेक’ गरेर डोल्पा पुग्ने गरे पनि अहिले चिसो बढेसँगै विस्तारै चाप घटेको निकुञ्जको भनाइ छ । 


यो वर्ष पर्यटकलाई महँगो मोटरसाइकलभन्दा पनि फोक्सुन्डो तालको सौन्दर्यको रसपान गर्ने हुटहुटीले बाटोमै मोटरसाइकल राखेर आएकोे ठूलीभेरी नगरपालिकाका निराजन शाही बताउँछन् । सडक मार्गपछि हवाई माध्यमबाट पनि डोल्पा पुग्न सकिन्छ । नेपालगञ्ज विमानस्थलबाट जहाजमा सजिलै ३५ मिनेटको यात्रा गरेर जुफाल विमानस्थल पुग्न सकिन्छ ।


‘नेपालगञ्ज एयरपोर्टमा पहुँच नभएका आन्तरिक पर्यटकले टिकट पाउने अवस्था एकदमै कम छ, पैसा खर्च गर्छुभन्दा पनि जहाज चढ्न पाइँदैन’, सुर्खेतका बालकृष्ण बुढा भन्छन्, ‘एक हिसाबले टिकट नपाए पनि ठीकै लाग्छ । दुःख, कष्ट झेलेर भए पनि मोटरसाइकलको यात्रा सहज हुन्छ । सडकमार्गबाट ठाउँ–ठाउँको भूगोल, रहनसहन, वस्तुस्थिति र जीवनशैली नियाल्दै फोक्सुन्डो पुग्न पाइन्छ । मोटरसाइकलमा डोल्पा जाँदा थोरै खर्चमै घुमेर फर्किन सकिन्छ’, उनले भने । 


‘ब्लु डायमन्ड’का रूपमा परिचित फोक्सुन्डोको सौन्दर्यले जो–कसैको पनि मन लोभ्याउने गरेको अर्घाखाँचीबाट डोल्पा घुम्न आएका विकास खनाल बताउँछन् । उनले भने, ‘जाजरकोटबाट डोल्पासम्मको बाटो कच्ची र ठाउँ–ठाउँमा पुल नबन्दा पर्यटकले महँगो भाडा र विभिन्न अप्ठ्याराका कारण दुःख भोग्नुपरे पनी फोक्सुन्डो पुगिसकेपछि मनका सबै दुःख र पीडा भुलिन्छ । धेरैको फोक्सुन्डो हेर्ने चाहना एकैपटकमा मेटिँदैन । कतिपय पर्यटक चौथो, पाँचौँ पटकसम्म पनि घुम्न आएको बुझियो ।’ जाजरकोटबाट डोल्पासम्मको कच्ची सडक मात्रै सुधार गरे डोल्पामा थामिनसक्नु आन्तरिक पर्यटक आउने खनालको भनाइ छ ।

 

हालसम्मकै बढी पर्यटक भित्रिए 

 

निकुञ्ज स्थापना भएयता अहिलेसम्मकै धेरै पर्यटक डोल्पा भित्रिएको निकुञ्ज कार्यालयले जनाएको छ । विभिन्न कठिनाइका बीच पनि भदौदेखि १५ कात्तिकसम्म २ हजार ५०० पर्यटकले फोक्सुन्डो ताल अवलोकन गरेको निकुञ्जका निमित्त संरक्षण अधिकृत गोपाल खनालले बताए ।


‘डोल्पा ‘अन एक्सप्लोर’ ठाउँ हो । अहिलेसम्म प्रसारप्रसार हुनसकेको छैन । विभिन्न माध्यमबाट जानकारी पाएर पनि पर्यटक घुम्न आउने गरेका छन्’, उनी भन्छन्, ‘फोक्सुन्डो तालसम्म पुग्ने ठाउँ–ठाउँमा बाटो बिगे्र पनि निकुञ्जको सानोतिनो बजेटबाट मर्मत भइरहेको छ । पर्यटकको चाप बढेसँगै निकुञ्ज क्षेत्रमा फोहर नहोस् भनेर ठाउँठाउँमा खाल्डा खन्ने र डस्बिन राख्ने गरेका छौँ ।’

 

प्रकृतिभित्रै हराएर स्वर्गीय आनन्द प्राप्त गर्न चाहने व्यक्तिका लागि डोल्पा जीवनमा एकपटक घुम्नैपर्ने गन्तव्य बनेकाले फोक्सुन्डोसम्म पुग्न चाहिने खर्च, बाटोको अवस्थालगायत विषयमा निकुञ्जको नम्बरमा फोन गरेर अग्रिम जानकारी पनि लिन सकिने भएको छ ।

 

होटल खचाखच

 

आन्तरिक पर्यटकको चाप बढेसँगै यहाँका होटल खचाखच भरिएका छन् । पर्यटकीय मार्गमा पर्ने खदाङ, त्रिपुराकोट, दुनै, जुफाल र सुलीगाडबाट फोक्सुन्डोसम्म बीच बाटोमा पर्ने होटल खचाखच भरिएका हुन् । यो वर्ष पर्यटकको चापका कारण पाहुनालाई खाना खुवाउन र सुताउन हम्मेहम्मे परेको होटल व्यवसायीको भनाइ छ ।


यो वर्ष अघिल्लो वर्षको तुलनामा आन्तरिक पर्यटकको संख्यामा दोब्बर वृद्धि भएको से–फोक्सुन्डो गाउँपालिका वडाध्यक्ष निमा लामा बताउँछन् । ‘आन्तरिक पर्यटकले फोक्सुन्डोका सम्पूर्ण होटल खचाखच भरिएका छन् । होटल सीमित भएकाले ओइरिएका पर्यटकको भार थाम्न सकिएको छैन’, अध्यक्ष लामाले भने ।निलो हीराका रूपमा समेत परिचित फोक्सुन्डो तालले एकै दिनमा आधा दर्जन पटक रङ फेर्ने भएकाले तालको सुन्दरता र ताल आसपासका रैथाने स्थानीयको अनौठो संस्कार, गुम्बा एवं वेषभूषाका कारण आन्तरिक तथा बाह्य पर्यटक फोक्सुन्डो पुग्न लालयित हुने गरेका छन् ।


झन्झटिलो हवाई यात्रा

 

डोल्पासम्म हवाई यात्रा गरेर सजिलै पुग्न सकिने भए पनि टिकटमा हुने सिन्डिकेटका कारण आन्तरिक पर्यटकका लागि हवाई यात्रा झन्झटिलो हुने गर्दछ । दुर्गम क्षेत्र उड्ने जहाजको टिकट पाउन प्रमुख जिल्ला अधिकारीदेखि मन्त्रीसम्मको सोर्सफोर्स लगाउनुपर्ने भएकाले पनि डोल्पा घुम्ने रहर भएका अधिकांश पर्यटक मनमै रहर पालेर बस्ने गर्दछन् ।

 

विभिन्न कठिनाइ झेलेर गाडी र मोटरसाइकलमा भए पनि डोल्पा पुग्ने चाहना भएका पर्यटक भने हवाई टिकटको झन्झटिलो प्रक्रिया छाडेर सीधै सडकको गन्तव्य रोज्ने गर्दछन् । 

 

नेपालगञ्ज र जुफाल विमानस्थलमा हवाई टिकट मात्र व्यवस्थित भए हवाई जहाजमा डोल्पा घुम्न आउने पर्यटकको संख्यामा थप वृद्धि हुने पर्यटन व्यवसायीको भनाइ छ ।


नेपालगञ्जबाट जुफाल विमानस्थलसम्म दैनिक उडान हुने भए पनि एयरलाइन्सका कर्मचारीले सिफारिसका आधारमा मात्रै टिकट दिने भएकाले हवाई टिकटको झन्झटले देश–विदेशका नागरिकले डोल्पा घुम्ने रहर भएर पनि घुम्न नपाएको व्यवसायीको गुनासो छ ।


यहाँ उडान हुने तारा, समिटलगायतकाको टिकट वितरण प्रणाली अव्यवस्थित र झन्झटिलो भएकै कारणले पनि सडक मार्गबाट मोटरसाइकल र गाडीमा आउने पर्यटकको संख्या प्रत्येक वर्ष वृद्धि भइरहेको व्यवसायी बताउँछन् ।

 

फोक्सुन्डोपछिको गन्तव्य त्रिपुरासुन्दरी

 

फोक्सुन्डो तालपछिको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा प्रसिद्ध वाला त्रिपुरासुन्दरी मन्दिर रहेको छ । उक्त मन्दिरमा फोक्सुन्डो हेर्न आएका आन्तरिक पर्यटक पनि पुग्न थालेका छन् ।

 

यो वर्ष फोक्सुण्डो घुम्न आएका अधिकांश पर्यटकले त्रिपुरासुन्दरीको पनि दर्शन गरेको पुजारी रमानन्द उपाध्याय बताउँछन् । ‘अघिल्ला वर्षमा मन्दिर दर्शनको गन्तव्य बनाएका भक्तजन मात्रै आउने गर्थे । यो वर्षदेखि फोक्सुन्डो घुम्न आएका दर्शन गरेको पुजारी रमानन्द उपाध्याय बताउँछन् । ‘अघिल्ला वर्षमा मन्दिर दर्शनको गन्तव्य बनाएका भक्तजन मात्रै आउने गर्थे । यो वर्षदेखि फोक्सुन्डो घुम्न आएका पनि मन्दिर दर्शनमा आएका छन्’, उनले भने ।