काठमाडौं– कोरोना महामारीको समय गरिएको बन्दाबन्दीमा अलपत्र परेका पर्यटकको उद्धार गरेकामा बेलायतले नेपाललाई ‘बेस्ट रेस्पोन्स टु द प्यानडेमिक’ गोल्ड अवार्डबाट सम्मान गरेको छ ।
विश्वचर्चित वन्डरलस्ट म्यागजिनले बेलायतको किन्सिङ्टन प्यालेस गार्डेनमा आयोजना गरेको कार्यक्रममा नेपाललाई यो पुरस्कार प्रदान गरेको हो ।
बन्दाबन्दीको समय नेपालले पर्यटकको खोजी तथा उद्धार गरी व्यवस्थापन तथा स्वदेश पठाउने काम गरेको थियो ।उक्त अवार्ड संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई हस्तान्तरण गरिएको थियो ।
अवार्डका लागि छनोटमा परेका ९ मुलुकलाई उछिन्दै नेपाल सम्मानित भएको हो । नेपालले उक्त समय विभिन्न पर्यटकीय गन्तव्यमा अलपत्र परेका १ हजार ७२१ जना विदेशी पर्यटकको उद्धार गरेको मन्त्रालयको तथ्यांक छ । सोही समय कूटनीतिक नियोगसँगको समन्यवमा करिब ५ हजार विदेशी पर्यटकलाई स्वदेश फिर्ता गराएको थियो ।
बेलायतले यात्रा प्रतिबन्धबाट हट्यो नेपाल
बेलायतले नेपाललाई यात्रा प्रतिबन्धको रेड लिस्टबाट हटाएको छ । कोरोना महामारी बढ्दो क्रमसँगै बेलायतले अन्तर्राष्ट्रिय यात्राका लागि केही प्रतिबन्धसहित विभिन्न देशलाई रेड लिस्टमा राख्दै आएको थियो ।
बेलायतका यातायातमन्त्री ग्रान्ट सापले बिहीबार ट्वीटमार्फत यात्रा सूचीको पुनरावलोकन गर्दै नेपाललगायत ४७ वटा देशलाई रेड लिस्टबाट हटाउने निर्णय गरेको सार्वजनिक गरेका हुन् ।
बेलायतको रेड लिस्टमा पानामा, पेरु, इक्वेडर, कोलम्बिया, हाइटी, भेनेजुयला र डोमिनिक रिपब्लिक मात्र बाँकी छन् ।
रेड लिस्टबाट हटेपछि कोभिड खोपको दुवै डोज लगाएका यात्रुले नेपालबाट बेलायत आउँदा होटल, क्वारेन्टाइनमा बस्नुपर्ने छैन ।
रेड लिस्टमा रहँदा बेलायती नागरिक वा त्यहाँ बसोबासको अधिकार पाएकालाई मात्र खुला राखिएकामा अब पर्यटक र अन्य भिजिटर पनि आउन पाउनेछन् ।
रेड लिस्टमा रहँदा बेलायतको सरकारले तोकिदिएको होटलमा १० दिन क्वारेन्टाइन बस्नुपर्ने नियम थियो । होटलमा बसेबापत प्रतिव्यतिm २ हजार २८५ पाउन्ड तिर्नुपर्ने वाध्यता थियो ।