सिन्धुली–सिन्धुलीगढीमा निर्माण गरिएको युद्ध संग्रहालय अवलोकन गर्न बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहितको टोली सिन्धुली पुगेको छ । रामेछापतर्फ जाने क्रममा सिन्धुलीगढी युद्ध संग्रहालयको मुख्यमन्त्री पौडेलले अवलोकन गरेका हुन् ।
सिन्धुलीगढीमा राखिएका युद्धकालीन हातहतियार, घरेलु सामग्री तथा सिन्धुलीगढीको इतिहास झल्काउने पुस्तकालयको निरीक्षणपछि मुख्यमन्त्री पौडेले ऐतिहासिक स्थलको प्रचार–प्रसारमा जुट्न आग्रह गरे ।
ऐतिहासिक महत्त्व बोकेको सिन्धुलीगढीको इतिहासलाई जीवन्त राख्न राज्यले लगानी गरी संरचना बनाए पनि स्थानीय सरकारले यसको प्रचार–प्रसार गरी आयस्रोत बढाउन उनले सुझाए ।
राज्यको करोडौं खर्च भई बनेका संरचनाको सुरक्षा आवश्यक रहेको बताउँदै उनले भने, ‘हामीले यत्रो संरचना बनाएँछौँ । राज्यले लगानी गरेको छ । युद्ध संग्रहालय सिन्धुलीको विकास मोडलको रूपमा स्थापित हुन्छ ।’
संग्रहालय परिसरमा सुरक्षाका निम्ति प्रहरी युनिटको आवश्यक देखिएकाले हेटांैडा पुगेपछि त्यसको व्यवस्थापनका पक्षमा काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
मुख्यमन्त्री पौडेलले पुनर्निर्माणाधीन रानीदरबारको समेत निरीक्षण गरे । मुख्यमन्त्री पौडेललाई कमलामाई नगरपालिकाकी उपमेयर मञ्जु देवकोटाले युद्ध संग्रहालय र रानीदरबारबारे जानकारी गराइन् ।