ताप्लेजुङ– ताप्लेजुङको मैवाखोला गाउँपालिकाका ४३ वर्षीया पिके शेर्पाले आफ्ना १६ वर्षे छोरा सोनामसहित जलवायु परिवर्तन अभियानअन्तर्गत आइतबार बिहान ८ बजेर ५० मिनेटमा सगरमाथाको सफल आरोहण गरेका छन् ।
हिमालयन गाइड्स नेपाल ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिमार्फत बाबु पिके र छोरा सोनामले एकसाथ सगरमाथाको सफल आरोहण गरेको हिमालयन गाइड्सका प्रबन्ध निर्देशक ईश्वरी पौडेलले जानकारी दिए ।
पिके लामो समयदेखि जलवायु परिवर्तनविरुद्धको अभियानमा लागिरहेका छन् । हिमाल सफाइसहित जलवायु परिवर्तनविरुद्धको जनचेतनामूलक कार्यक्रम र पैरवीमा संलग्न रहँदै आएका पिके र उनका छोरा सोनामका साथ शेर्पा छेबी भोटेले समेत सगरमाथाको सफल आरोहण गरेको पौडेलले बताए ।
को हुन् पिके ?
ताप्लेजुङ मैवाखोलाका पीके सानै उमेरदेखि घर वरिपरि बगैँचा विस्तार र सरसफाइमा खप्पिस थिए । अहिले हिमाली क्षेत्रको सरसफाइ तथा संरक्षण अभियानकर्मीको पहिचान बनाएका छन् ।
बाल्यकालमा उब्जिएको प्रकृतिको त्यही मायाले आजसम्म हिमाली क्षेत्रको सरसफाइ र संरक्षणका लागि खट्ने शक्ति मिलिरहेको छ, उनमा । पर्यटन व्यवसायी शेर्पा फोहोरको बोरा काँधमा हालेर हिमालका काखमा घुम्ने मात्र हैन, राष्ट्रिय–अन्तर्राष्ट्रिय मञ्चमा गएर विश्व समुदायलाई झक्झकाउने पनि गर्छन् ।
कक्षा ८ पढ्दापढ्दै २०५२ मा काठमाडांै हानिएका पिके त्यसपछि पर्यटकको भारी बोकेर हिमालतिर जान थाले । शेर्पा विदेशी पर्यटकको भारी बोकेर सगरमाथा क्षेत्र, अन्नपूर्ण क्षेत्र, मुक्तिनाथ, लाङटाङलगायत विभिन्न स्थानमा पुगे ।
भरियाबाट स्पेयर, भान्छाको काम गर्ने सहयोगी, भान्छे हुँदै सहायक पथ प्रदर्शक र पछि पूर्ण पथ प्रदर्शक बनेका शेर्पाले हिमाल आरोहणका तालिम पनि लिए ।
उनीसाग विभिन्न आरोहणमा सम्पर्क अधिकृतसम्मको अनुभव छ । भरिया बनेर हिमालतिर जाँदादेखि नै भारीसँगै फोहोर संकलन गर्ने झोलासमेत बोक्ने र दिनभर संकलन गरेको फोहोर राती बास बस्ने ठाउँमा व्यवस्थापन गर्ने अभियानसमेत उनले चलाए ।
शेर्पाले दशकअघि सगरमाथामा सरसफाइ अभियान पनि चलाएका थिए । त्यसबेला सगरमाथा क्षेत्रबाट झन्डै ८ सय किलो फोहोर र ५ वटा मृत मानव शरीर व्यवस्थापन गरेका थिए । हिमाल सफाइ कार्यक्रम गर्न केही साथीसँग मिलेर पिकेले सन् २०१० मा ‘फ्रेन्ड्स अफ सेभ द हिमालय’ नामक संस्था खोलेका छन् ।