काठमाडौं– पर्यटन क्षेत्रको विकासका लागि स्थानीय तहमा पर्यटन पूर्वाधार निर्माण गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थानीय तहलाई निर्देशन दिएको छ । पूर्वाधार निर्माणको काम सुरु गर्न पर्यटन मन्त्रालयले दुई सय पालिकालाई निर्देशन दिएको हो ।
एक करोडदेखि सात करोडसम्म लागत अनुमान गरिएका पर्यटन आयोजनाको निर्माणका लागि मन्त्रालयले सर्कुलर गरेको हो । पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम सञ्चालनका लागि माघ २९ गतेको मन्त्रीस्तरको निर्णयले छनोट भएका आयोजनाको प्रक्रिया अघि बढाउन मन्त्रालयले निर्देशन दिएको हो ।
यसअघि नै पदमार्ग, चिल्ड्रेन पार्क, संग्रहालय, पिकनिक स्पट, शौचालय, पार्क, मन्दिर, उद्यान, विश्राम स्थलदेखि भ्यूटपसम्मका पर्यटकीय आयोजना छनोट भइ मन्त्रालयले स्थानीय तहसँग सम्झौता गरिसकेको छ ।
स्थानीयत तहले सम्झौता गरेका बाहेक अन्य कार्यक्रममा बजेट खर्च गर्न नपाउने मन्त्रालयले स्पष्ट पारेको छ । पूर्वाधार विकास गर्दा स्थानीय तहले विभिन्न १३ शर्त पालना गर्नुपर्ने छ ।
कार्यक्रम कार्यान्वयन गर्दा विद्युतीय माध्यममार्फत बिडिङ गर्नुपर्ने छ भने ठेक्का सम्झौता भएपश्चात सम्झौता रकमको मन्त्रालयले बेहोर्ने भारको २० प्रतिशत रकम प्रथम किस्ता वापत स्थानीय तहमा पठाइने छ । यस्तै कार्यक्रम समयमै सक्नुपर्ने र एक महिनाभित्र भुक्तानी माग गर्नुपर्ने लगायतका शर्त राखिएको छ ।