ताप्लेजुङ– संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले ताप्लेजुङका तीन सहित लागत साझेदारीमा पर्यटकीय गन्तव्य पूर्वाधार विकास कार्यक्रम सञ्चालन हुने स्थानीय तह र योजना छनौट गरेको छ ।
देशभरका २ सय स्थानीय तहमा बढीमा ३ वर्षभित्र पूरा हुने गरी २ सय वटा योजना छानिएको हो । ताप्लेजुङको फुङ्लिङ नगरपालिका, सिरिजङ्घा गाउँपालिका र मैवाखोला गाउँपालिकामा लागत साझेदारीमा पर्यटकीय गन्तव्य पूर्वाधार विकास कार्यक्रम सञ्चालन हुने छ ।
फुङ्लिङ नगरपालिकाको बहुसाँस्कृतिक संग्रहालय निर्माण गर्न ७ करोड रुपैंयाको लागत अनुमानको योजना बनेको छ । ३ वर्ष भित्र पूरा हुने यो योजनाका लागि नगरपालिकाले २ करोड ४५ लाख र मन्त्रालयले ४ करोड ५५ लाखको लागत साझेदारी गर्नेछन् ।
यस्तै सिरिजंघा गाउँपालिकामा कञ्चनजंघा आधार शिविरसम्म जाने साहसिक पदमार्ग निर्माणका लागि ५ करोड रुपैंया लागत अनुमानको योजना तयार भएको छ ।
यो गाउँपालिकाको वडा नं ८ याम्फुदिनको आम्जी खोलाबाट नयाँ झोरेनी, तुप्लुङ, दुन्दुडाँडा, नगर्चा, चाइराम हुन्दै कञ्चनजंघा आधार शिविरसम्म जाने साहसिक पदमार्गका लागि मन्त्रालयले ३ करोड ५० लाख र गाउँपालिकाले १ करोड ५० लाख रुपैंया लागत साझेदारी गर्नेछन् ।
सिरिजङ्घा गाउँपालिकाको योजना बढीमा ३ वर्षभित्र पूरा हुने छ । यस्तै मैवाखोला गाउँपालिकाको लालीगुराँस पार्क निर्माणका लागि ४ करोड रुपंैया लागत अनुमानको योजना छनौट भएको छ ।
२ वर्ष भित्र पूरा हुने यो पार्क निर्माणमा मन्त्रालयले २ करोड ८० लाख र गाउँपालिकाले १ करोड २० लाख रुपैंयाको लागत साझेदारी गर्नेछन् । २९ माघमा योजना सञ्चालन हुने स्थानीय तह र योजना छनौट गर्दै लागत साझेदारीमा कम्तिमा १ र बढीमा ३ वर्ष योजना सञ्चालन प्रकृया पूरा हुने जनाएको छ ।
मन्त्रालयले पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०७७ अनुसार योजना र ती योजना सञ्चालन हुने स्थानीय तहको छनौट गरेको हो ।