close

संरक्षण नहुँदा दक्षिण ललितपुरका पर्यटकीय सम्पदा ओझेलमा 

संरक्षण नहुँदा दक्षिण ललितपुरका पर्यटकीय सम्पदा ओझेलमा 

Trulli
ADVERTISEMENT

ललितपुर - भौगोलिक रूपमा सुगमताबाट टाढा रहेको दक्षिण ललितपुरको महाँकाल गाउँपालिका प्राकृतिक, सांस्कृतिक र पर्यटकीय हिसाबले भने समृद्ध छ ।

 

यहाँ रहेका केही अलौकिक शक्ति भएका पर्यटकीय सम्पदा र ऐतिहासिक धरोहरको प्रचार अभाव, सम्बन्धित निकाय र जनप्रतिनिधिको नजर पुग्न नसक्दा ओझेलमा परेका छन् । 


महाँकाल गाउँपालिका वडा- ३ साविकको गोटीखेल वडा- ९ सिसवन गाउँको फेदीमा नेपालको ऐतिहासिक पुरातात्विक महत्त्वको प्राकृतिक चनढुंगा छ । यो ढुंगा धरापजस्तो देखिए पनि युगौंदेखि स्थिर छ ।

 

साविकको गोटीखेल गाविसका पूर्वसचिव एवं स्थानीय मुकुन्दप्रसाद पराजुलीका अनुसार चुनढुंगा १९९० र २०७२ को महाभूकम्पमा पनि अडिग र स्थिर रह्यो ।

 

उनी भन्छन्, ‘झट्ट हेर्दा १० देखि २० जनाले पल्टाउन सक्ने देखिए पनि उक्त ढुंगामा अलौकिक शक्ति रहेको छ । माथिल्लो भाग ठूलो र दुवैतिर धारिलोे भई विशाल चुचुरोको रुपमा रहेको छ । चनढुंगाको चन्दन घोटी कालपुरुषले कालेश्वरको तपस्या गरेकाले नै उक्त ढुंगालाई चनढुंगा भनिएको किंवदन्ती छ ।’


त्यस्तै, कालेश्वर महादेवको उत्पत्ति स्वस्थानी व्रतकथाअनुसार भगवान् महादेवले सतीदेवीको मृत शरीर बोकेर हिँड्ने क्रममा घाँटी पतन भई कालेश्वर महादेव उत्पत्ति भएको विभिन धार्मिक ग्रन्थहरूमा पाइन्छ । 


ललितपुर चापागाँउका मर्हजनहरूले कुलदेवताको रुपमा मान्दै आए पनि उक्त मन्दिर स्थलमा सडक, पानी तथा बिजुली बत्ती पुग्न सकेको छैन ।

 

समुद्र सतहबाट २ हजार ९ सय मिटरको उचाइमा रहेको ऐतिहासिक महादेवको मन्दिरमा सोलार बत्तीसमेत जोड्न स्थानीय, प्रदेश र केन्द्रीय कुनै सरकारले वास्ता नगर्दा अथाह सम्भावना बोकेको पर्यटकीय क्षेत्र नै ओझेल परेको स्थानीय सन्तोष कुँवरको गुनासो छ । कालेश्वर जाने मोटर बाटो देउराली डाँडासम्म पुगे पनि करिब १ किलोमिटर हिँड्ने सिंढीको बाटो जोखिममा छ । 


त्यस्तै, महाँकाल गाउँपालिका वडा- ५ साविकको चन्दनपुर- १ को गढीभञ्ज्याङमा नेपालीहरूले अंग्रेजसँग युद्ध गर्न बनाएका खाँवाहरूको संरक्षण हुन सकेको छैन । गढीको थुम्का ऐतिहासिक पृष्ठभूमि बोकेको स्थान हो ।


१९औँ शताब्दीको मध्यतिर नेपाली र अंग्रेजहरूको युद्ध हुँदाको अवस्थामा नेपाली पक्षले यस स्थानलाई युद्ध स्तरको रूपमा प्रयोग गरेको इतिहासका जानकारहरू बताउँछन् ।  अंग्रेजहरू तराईको बाटो भएर चुरे हुँदै युद्ध गर्नका लागि चन्दनपुरको ओखलढुंगासम्म आइपुगेको र नेपाली पक्षले यही थुम्काबाट ढुंगामुढा बर्साएको भनाइ छ ।


उक्त स्थानमा तोप र गोली छेक्न उठाइएका पर्खालका अवशेषहरू छन् । अंग्रेजहरूले नेपाली फौजलाई हराउन लागेको अवस्थामा नेपालीहरूले कालेश्वर महादेव, बाघभैरव,महाँकालस्थान देवीका मन्दिरमा भाकल गरी सोबाट प्राप्त शक्तिले अंग्रेज फौजलाई परास्त गरेको बताइन्छ ।


नजिकै तामाङ जातिको चिहान र बाघभैरवको थान छ । महाँकाल गाउँपालिका अध्यक्ष रामचन्द्र दहालले गढीभञ्ज्याङमा शान्ति पार्क बनाउन गाउँ कार्यपालिकाले स्वीकृती गरेर प्रदेश सरकारलाई पठाएकाले शान्ति पार्क छिट्टै निर्माण हुने जानकारी दिए ।


गढीसँगै सम्बन्ध जोडिएको ओखलढुंगाको अवस्था पनि त्यस्तै छ । साविकको चन्दनपुर गाविस वडा- ८ नमनमा पर्ने ओखलढुंगामा अंग्रेजहरूले धान कुटेर आएको इतिहास पाइन्छ । 


नमनडाँडाका ७७ वर्षीय चन्द्रबहादुर सिङतानका अनुसार मोटर बाटो बन्नुभन्दा पहिले ओखलढुंगासँगै चौर र पोखरी थियो । अहिलेको विकासले पोखरी र चउरमा घरैघर छन् । 


नमन ओखलढुंगगाका अर्जुन दहालले ओखलढुंगालाई संरक्षण गर्न स्थानीय सरकार वा अन्य निकायले पनि चासो नदेखाएको गुनासो गरे । उनले भने, ‘यो ढुंगालाई संरक्षण गर्न चाहिने जति जग्गा तथा आवश्यक सहयोग गर्न तयार छु ।’ 


चन्दनपुरका वडाध्यक्ष खोमप्रसाद दहालले ओखलढुंगाको संरक्षण गर्न स्थानीयले हालसम्म कुनै कार्यक्रम नल्याएको दाबी गरे । उनी भन्छन्, ‘गढी र साबिकको गोटीखेल- ६ मा पर्ने आहालभञ्ज्याङ, चिहानडाँडा, खोरभञ्ज्याङ ऐतिहासिक, पुरातात्विक प्राकृतिक सौन्दर्ययुक्त पर्यटकीय क्षेत्र छन् । स्थानीय अगाडि बढे वडाले सहयोग गर्न र सम्बन्धित निकायमा पहल गर्न तयार छ ।’


यस्तै, स्थानीय शिक्षक तथा साहित्यकार रामसुन्दर केसी लाम्राङ कमेरोडोलको चिया बगान, गढी, आहालभञ्ज्याङबाट देखिने पहाड र हिमशिखरको अवलोकनबाट पनि धेरै साहित्य रचना गर्न सकिने बताउँछन् ।


उनका अनुसार केही समय पहिले नेपाली सेनाले पनि गढीबारे चासो देखाए पनि पछि त्यसको खोजी गर्न स्थानीय तह र टोलबासीले चासो देखाएनन् । 


गोटीखेल पराटुका रामप्रसाद दुलालले आहालभञ्ज्याङमा तामाङ बस्ती, कमेरोडोल र थुम्कासम्म बस्ती कम भएकाले बाटो र खानेपानीजस्ता जनताको आधारभूत पूर्वाधार पुर्‍याउनसमेत वडा तथा पालिकाको ध्यान नगएको बताए ।


‘हाम्रो टोलमा खानेपानी आएन भने पानी लगाउन जान एक दिन लाग्छ । साविक कालेश्वर गाविसको छेपारीडाँडामा पर्छ,’ निराश मुद्रामा उनले भने, ‘बस्ती भएको एउटा टोलमा पानी, बाटो छैन । कसरी गढी, आहालभञ्ज्याङजस्ता पर्यटकीय सम्भावनायुक्त क्षेत्रको विकास होला ?’


त्यस्तै, ठूलादुर्लुङको दरबारे ढुंगा, नमनको सरस्वति ढुंगा, कालेश्वर गोपेखोलाको गहते डुंगा, दरसुन ढुंगा, गोटीखेल महाँकाल मन्दिर छेउका गहते ढुंगाहरू छन् ।


यी ढुंगा र गढी तथा भञ्ज्याङहरूको ऐतिहासक महत्त्व छ । तर, उपत्यकाको नजिक भएर पनि प्रचार-प्रसार अभावले पछाडि परेको व्यवसायी बलराम बन्जाराले बताए ।


साविकका ६ गाविस बुखेल, मानिखेल, गोटीखेल, कालेश्वर चन्दनपुर र ठूलादुर्लुङ मिलेर बनेको गाउँपालिकाका पर्यटकीय सम्भावनाका थुप्रै सम्पदा र स्थल छन् ।


सिम्बा झरना, पालाजु झरना, बिमिरे चौर, आहालभञ्ज्याङ, ठूलादुर्लुङको भैरवथुम, कालेश्वरलगायत क्षेत्रका लागि विभिन्न योजना पालिकाले अघि सारेर केही कार्यक्रम अगाडि बढेको गाउँपालिका अध्यक्ष रामचन्द्र दहाल बताउँछन् ।