ओखलढुंगा– कोरोना संक्रमणको महामारीका कारण अन्य क्षेत्रसँगै अर्थतन्त्रमाथि पनि निकै चुनौती थपियो । कलकारखाना मात्र होइन, होटल तथा पसलहरू समेत बन्द हुन पुगे । भर्खरै सुरु गरेका व्यवसाय त चुर्लुम्मै डुबे ।
सिद्धिचरण नगरपालिका ओखलढुंगाको सदरमुकामसमेत भएकाले बन्दाबन्दी र कोरोनाका कारण नियमन गरिएका सबैखाले गतिविधिले यहाँका व्यवसाय र व्यवसायी जोखिममा परेका छन् । सदरमुकाम ओखलढुंगामा छवटा होटल त बन्द नै भए । यसले संचालकदेखि कामदारलाई समेत निकै ठूलो असर प¥यो । यस्तै समस्यामा परेपछि सिद्धिचरण नगरपालिका वडा नं.– ६ ठाडेका होमस्टे पनि बन्द भए ।
स्थानीयकै लगानीमा संचालित सामुदायिक होमस्टे बन्द हुँदा व्यवस्थापकलाई निकै चुनौती थपियो । अझ पर्यटकीय क्षेत्र भएकाले हिमाल हेर्नदेखि स्थानीय परिकारको स्वाद लिन आउने आन्तरिक तथा बाह्य पर्यटक त यहाँ आउनै छाडे । एकातिर सुरक्षा चुनौती, अर्कातिर पाहुना नहुने भएपछि छ महिना पहिलेदेखि बन्द होमस्टे खुलेका छन् ।
पछिल्लो समय ओखलढुंगामा कोरोना संक्रमित नभेटिएपछि बजार तथा होटल र पसलहरू खुल्न थालेसँगै सामुदायिक होमस्टे पनि खुले । चाडबाडअघिदेखि खुला गरिएका होमस्टेमा पाहुनाहरू आउन थालेका व्यवसायीले बताए ।
स्वास्थ्य सुरक्षा अपनाएर होमस्टेको सेवा पुनः सुरु गरिएको ठाडे मगर सामुदायिक होमस्टेका उपाध्यक्ष हरिकुमार मगरले बताए । आन्तरिक पर्यटक र सुरक्षा अपनाएर आउने पाहुनाले सामाजिक दूरी कायम गर्नुपर्ने, होमस्टे प्रवेश गर्नुअघि र समूहमा बस्दा अनिवार्य मास्क लगाउनुपर्ने उपाध्यक्ष मगरको भनाइ छ ।
ठाडेका स्थानीयले सामूहिक रूपमा चलाएका होमस्टेमा पाहुनाका लागि हात धुने ठाउँ, साबुन र स्यानिटाइजरको व्यवस्था छ । लामो समयको लकडाउनले होमस्टे व्यवसाय संकटमा परेकाले सतर्कता अपनाएर सेवा सुरु गरिएको स्थानीय व्यवसायी बताउँछन् ।
२०७६ चैत दोस्रो साताबाट बन्द भएका होमस्टे खुलेसँगै अहिले सेवाग्राही आउन थालेका छन् । सम्पर्कमार्फत सुरक्षित भएर आउने पाहुनालाई सेवा दिएर लामो समय थलिएको व्यवसाय संचालन गरिएको ठाडे मगर सामुदायिक होमस्टेका अध्यक्ष पारस मगरले बताए । शहरमा बस्ने धेरैजसो अहिले गाउँमा रहेकाले अग्र्यानिक परिकारको स्वादमा रमाउन चाहनेहरू होमस्टेमा आउने उनको भनाइ छ ।
ठाडे बजार समुद्री सतहबाट करिब दुई हजार ९०० मिटर उचाइमा छ । सगरमाथाको प्रवेशमार्गमा पर्ने ठाडे बजार सोलुखुम्बूको पत्ताले नजिक पर्छ । ठाडेबाट विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य दर्जनौँ हिमशृंखलाको दृश्यावलोकन गर्न सकिन्छ ।
ओखलढुंगाको सिद्धिचरण नगरपालिका– ६ ठाडेमा स्थानीय मगर समुदायले सामुदायिक होमस्टे गत वर्षदेखि सुरु गरेका हुन् । ओखलढुंगा सदरमुकामबाट सवारी साधनमा करिव ३० मिनेटमा ठाडेको होमस्टेमा पुग्न सकिन्छ । ठाडेको होमस्टेमा पुग्ने पाहुनालाई आलुको ढिँडो (रिल्दुक), गोर्मालिक (गहुँको पिठो दूधमा पकाएको परिकार), स्याक्पा, सिमी, मकै, फापरको ढिँडोलगायत स्थानीय परिकार खुवाउने र मगर समुदायको संस्कारअनुरूप पाहुनाहरूलाई सत्कार स्वागत गरिन्छ ।
होमस्टेले दृश्यावलोकन, स्थानीय परिकारको स्वाद लिन मात्र होइन, हामस्टेले मगर संस्कृतिलाई समेत प्रवद्र्धन गर्न सहयोग गरेको छ । सिद्धिचरण नगरपालिकाले पनि नीति तथा कार्यक्रममै ठाडेलगायत ज्यामिरे, रुम्जाटार, लगलगेलगायतका ठाउँमा होमस्टे संचालन गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने प्रस्ताव गरेको छ । ठाडे सिद्धिचरण राजमार्गसँगै जोडिएको र पुरानो पर्यटकीय गाउँ भएकाले स्थानीय आफैँले सामूहिक रूपमा होमस्टे सुरु गरेका हुन् ।
ठाडेको होमस्टेले पर्यटन प्रवद्र्धनमा ठूलो योगदान गरेको सिद्धिचरणका नगरप्रमुख मोहनकुमार श्रेष्ठले बताए । ठाडेको पर्यटकीय विकासका लागि नगरपालिकाले प्राथमिकतामा राखेर योजना बनाउने श्रेष्ठको भनाइ छ ।