बैतडी- बैतडीको पाटन विमानस्थलमा नियमित हवाई उडान हुने भएको छ । धनगढीलाई आधार बनाएर पाटनमा नियमित उडान हुने भएको हो ।
आउँदो २९ असोजदेखि नियमित उडान हुने बैतडीबाट निर्वाचित संघीय सांसद दामोदर भण्डारीका स्वकीय सचिव लोकेन्द्र भण्डारीले बताए । साताको एक दिन बिहीबार समिट एयरले उडान भर्ने उनले जानकारी दिए ।
धनगढीबाट बिहान साढे ११ बजे पाटनका लागि उडान भर्नेछ । १७ मिनेटमा धनगढीबाट बैतडी पुग्न सकिने नागरिक उडड्यन प्राधिकरणले जनाएको छ । धनगढीदेखि पाटनको भाडादर भने तीन हजार ८०२ रुपैयाँ तोकिएको छ ।
नियमित हवाई उडान हुने भए पनि पाटन विमानस्थलमा टर्मिनल भवन तथा टावर नहुँदा समस्या हुने देखिएको छ ।
तत्कालका लागि पाटन नगरपालिकासँगको समन्वयमा १ कर्मचारी राख्ने तयारी भएको स्वकीय सचिव भण्डारीले बताए । यसअघि यही १७ असोजमा पाटन विमानस्थलमा परीक्षण उडान गरिएको थियो ।
परीक्षण उडानसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसहितको टोलीले विमानस्थलको निरीक्षण गरेको थियो ।
२०५२ सालदेखि पूर्ण रूपमा बन्द सुदूरपश्चिमकै दोस्रो ठूलो बैतडीको पाटनमा रहेको विमानस्थल पुनः सञ्चालनमा आउने भएपछि यहाँका बासिन्दामा उत्साह थपेको छ । ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले ११ करोड रुपैयाँमा विमानस्थल कालोपत्रको काम गत माघमा सम्पन्न गरेको थियो ।
पाटन विमानस्थलमा ५९० मिटर लम्बाइ र २० मिटर चौडाइको धावन मार्ग कालोपत्रे गरिएको थियो । ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन कालोपत्रे गरिएको छ ।
पाटनमा २०३२ सालमा विमानस्थल निर्माण सुरु भएर २०३५ सालदेखि हवाई सेवा सुरु भएको थियो । पछि २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो ।
त्यतिबेला पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो । २०५८ सालमा तत्कालीन विद्रोही माओवादीले विमानस्थलको टावरमा आगो लगाएर ध्वस्त बनाएको थियो ।