डडेल्धुरा - डडेल्धुराको अमरगढी-३ मा रहेको प्रमुख धार्मिक शक्तिपीठ घटालथान क्षेत्रको पर्यटन पूर्वाधार निर्माण सुरुभएको छ । पर्यटन पूर्वाधारका लागि संघीय समपूरक अनुदानबाट १ करोड ४२ लाखको लागतमा घटाल क्षेत्र पर्यटन पूर्वाधार विकास सुरुभएको हो ।
बूढी घटालका नामले पनि प्रसिद्ध ‘घटालथान’ पर्यटकीय दृष्टिकोणले पनि सम्भावना बोकेको क्षेत्र भएकाले प्रचार–प्रसारमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण अगाडि बढाइएको नगरप्रमुख विश्वेश्वर प्रसाद ओझाले बताए । अमरगढी नगरपालिकाले पर्यटन पूर्वाधार निर्माणका लागि आलोक कन्ट्रक्सनसँग २ वर्षको सम्झौता गरेको उनले जानकारी दिए ।
घटालको पर्यटन पूर्वाधार विकासका लागि यस क्षेत्रमा तलाउ निर्माण, कम्पाउन्ड वाल, बाटो तथा शवदाहगृह बनाउने योजना रहेको नगरपालिकाका इन्जिनियर कविन्द्र भट्टले बताए । यी पूर्वाधार निर्माण पछि यस क्षेत्रको छुट्टै आकर्षण बढ्ने उनको धारणा छ ।
घटालको महिमा
देउताको प्रभाव र शक्तिलाई कसैले चुनौती दिए भने मूलधामीले आफूले बालुवा खानुका साथै अरू धामीलाई पनि बालुवा खुवाएर शक्ति देखाउने गर्छन् । स्थानीयहरू धामीले निहुरिएर मुखभरि बालुवा लिएर खाने गरेको विश्वास गर्छन् । धामीहरूले पहिले ६० घडा बालुवा र ६० घडा पानीखान्थे भन्ने किंवदन्ती रहेको र अहिले पनिधामीले ७/८ मुठीबालुवा र पानीखाने गरेको स्थानीय रूपमाप्रचलित छ।
मुखभरिको बालुवा पानीसँगै निल्दापनि दैवीशक्तिकै कारण कुनै स्वास्थ्य समस्या नदेखिएको धामीहरूले दाबी गर्ने गर्छन् । आप्mनो मनोकामना पूरा भएकाहरूले यहाँ बोकाको बलि दिन्छन् । किंवदन्ती अनुसार डोट्याली राजा नागी मल्लकी पुत्रविहीन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएकी थिइन् । तर, देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लैजान नसकिएपछि त्यहीँ नै घटालबाबा स्थापना गरिएको बताइन्छ ।
पश्चिमी क्षेत्रमा आस्तिकहरू माझ घटालबाबाले मनोकामना पूरा गरिदिने जनविश्वास रहेको पाइन्छ । खडेरी परेको वर्ष स्थानीयले पानी देऊ भन्ने नारा लगाउँदै खोलाको पानी लगेर घटाल शिलाको प्वालमा पानी हाल्छन् र वर्षाको कामना गर्छन्।
घटाल देवताको उत्पत्ति कहिले र कुन अवस्थामा भयो भन्नेमा एक मत नभए पनि महाभारतमा वर्णित भीमपुत्र घटोत्कच, यहाँजुन देवताको रूपमा पूजित छन्, तिनको स्थान पहिले हालको घटाल भन्ने ठाउँमा थियो भन्ने किंवदन्ती रहेको छ । ‘घटालका धामी कमाएर पानी माग्ने गरिन्थ्यो । घटाल प्रसन्न भएर पानी दिन्थे अर्थात् खेतीपातीलाई पुग्ने वर्षा हुन्थ्यो । यो चलन अझै पनि कायमै छ’, घटालका पुजारी दुर्गादत्त भट्टले भने ।