भक्तपुर । सूर्यविनायक नगरपालिकाको वडा नम्बर ८ ले जेष्ठ नागरिकलाई मोबाइल फोनको सेट र सिम कार्ड वितरण गरेको छ । वडा कार्यालयले शुक्रबार एक कार्यक्रमको आयोजना गरी वडा भित्रका ७५ वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई मोबाइल फोनको सेट र नेपाल टेलिकमको सिम निःशुल्क वितरण गरेको हो ।
वडा अध्यक्ष पुष्पराज बस्नेतका अनुसार एक लाख ४७ हजार रुपैयाँ बजेट बजेट बिनियोजन गरिएको बताए । सोमध्ये एक लाख ४० हजार रुपैयाँ खर्च भएको र बाँकी ७ हजार जेष्ठ नागरिकको खातामा जम्मा गरिने बताए ।
उनले जेष्ठ नागरिकलाई हराएमा वा केही समस्यामा परेमा फोन सहयोगमार्फत समाधान गर्नको लागि टेलिफोन वितरण गरेको बताए । उनले भने, 'केही समय अगाडि हाम्रो जेष्ठ नागरिक बुबा ७२ घण्टा हराउनु भयो । तर उहाँसँग फोन रहेनछ । फोन भएमा हामीलाई खोज्न सजिलो हुने थियो ।'
साेही घटनाले आफूहरुले माेबाइल सेट वितरण गर्ने याेजना बनाएकाे उनले सुनाए । उनले आगामी दिनमा सो समस्या दोहोरिन नदिनका लागि फोन वितरण गरेको बताए । फोनको प्रयोग भएसँगै जेष्ठ नागरिकलाई दैनिक जीवनयापन गर्नको लागि सहज हुने विश्वास उनको छ ।