बागलुङ । बागलुङ नगरपालिका वडा नं ११ रायडाँडामा नेपाल टेलिकमले मोवाईल सेवा विस्तार गरेको छ । मोबाइल सेवा बिस्तार गरेसँगै नेपाल टेलिकमको नेटवर्क मार्फत कुराकानी गर्न डाँडाकाँडा धाउनु पर्ने बाध्यता अन्त्य भएको छ ।
टेलिकमले बिटियस टावर निर्माण गरि सेवा सञ्चालनमा ल्याईएको जनाएको छ । सेवा सुचारु भएपछि स्थानीय बासिन्दाले गुणस्तरीय भ्वाइस र डाटा सेवा पाएको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ इञ्जिनीयर केशव शर्माले बताए । शर्माका अनुसार यसअघि त्यहाँ प्रभावकारी मोवाईल सेवा नहुँदा नागरिकलाई असहज भएको थियो ।
भौगोलिक विकटताका कारण छिमेकी वडाका टावरको सिग्नल पहुँच घर तथा कार्यालयमा निकै कमजोर थियो । टावर सञ्चालनमा आएपछि त्यहाँका झण्डै ३ सय घरधुरीमा मोवाइलको भ्वाइस र डाटा दुवै सेवा सहज भएको छ । रायडाँडा, भेडिखोर, बालौटे, राम्तोला लगायतका बस्ती टेलिकमको मोवाईल सेवाबाट प्रत्यक्ष लाभान्वित भएका छन् ।
'पहिले देखि नै मोवाईल सेवाका लागि टेलिकमसँग माग गरिरहेका थियौँ, अहिले टावर बनेर सेवा सुरु भइसक्यो, हामी स्थानिय खुशी छौँ', स्थानीय फर्स बहादुर थापा मगरले भने ।
मोवाईलमा इन्टरनेटको लागि तत्काललाई थ्रिजी सेवा सञ्चालनमा रहेको छ । उक्त टावरमा छिट्टै निकट भविष्यमा चौंथो पुस्ताके फोरजी सेवा उपलब्ध गराउने टेलिकमको योजना छ ।
बागलुङ नगरपालिका वडा नं ११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले मोवाइल सेवाले स्थानीयवासीको दैनिकी सहज बनेको बताए । ग्रामीण क्षेत्रमा टेलिकमको मोवाईल सेवाले सञ्चारको क्षेत्रमा फडको मारेको वडा अध्यक्ष गौतमको भनाई छ ।