close

सुदूरपश्चिमाञ्चल एकेडेमीका ३ छात्राले बनाए आवाजबाटै बिजुली कन्ट्रोल गर्ने उपकरण

सुदूरपश्चिमाञ्चल एकेडेमीका ३ छात्राले बनाए आवाजबाटै बिजुली कन्ट्रोल गर्ने उपकरण

Trulli
ADVERTISEMENT

धनगढी । के तपाईंलाई राति सुत्ने बेला उठेर बत्तीको स्विच अफ(बन्द) गर्न अल्छी लाग्यो ? अब चिन्ता नगर्नुस् सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजका विद्यार्थीहरू आवाजबाटै विद्युत् स्विच अन-अफ गर्ने उपकरण बनाउन सफल भएका छन् ।  

उनीहरूले विकास गरेको उपकरणले आवाजबाटै विद्युतीय उपकरणहरू कन्ट्रोल गर्न सकिन्छ । अर्थात् अब अल्छी लागेका बेला बेडबाट उठेर स्विच थिच्न पुगिरहनु पर्दैन र शारीरिक अपांगता भएका व्यक्तिले सहजै आफ्नो पहुँच क्षेत्रबाट विद्युतीय उपकरणलाई नियन्त्रणमा राख्न सक्नेछन् ।

एसपीएको बीएचएम तेस्रो सेमिष्टरमा अध्ययनरत छात्राहरू अनुजा आचार्य, कञ्चन विष्ट र लक्ष्मी चन्दले ‘भ्वाइस कन्ट्रोल अपलाइन्सेस’नामको उपकरणको विकास गरेका छन् । आफ्नो प्रोजेक्टका रूपमा उनीहरूले विकास गरेको उपकरणले बोलीकै माध्यमबाट बत्ती, पङ्खा, मोटर, एसीलगायत सम्पूर्ण विद्युतीय उपकरणलाई कन्ट्रोल गर्न सकिन्छ । 

‘मुख्य गरी शारीरिक अपांगता भएका व्यक्तिहरू माथि रहेको वा टाढा रहेको विद्युतीय उपकरणको स्विचसम्म पुग्न नसक्ने स्थिति हुनसक्छ,’ अनुजाले भनिन्, ‘उहाँहरूको सहजताका लागि हामीले यो उपकरणको डिजाइन गरेका हौं । यसले जहाँबाट पनि आवाजकै माध्यमबाट इलेकट्रोनिक्स डिभाइसहरू अन–अफ गर्न सकिन्छ ।’

यस उपकरणको सहायताले व्यक्तिको प्रत्यक्ष सम्पर्क बिजुलीसँग नहुने वा स्विच थिची रहनुपर्ने नभएकाले करेन्ट लाग्ने वा अन्य बिजुलीजन्य दुर्घटनाहरूबाट पनि जोगिन मद्दत पुग्नेछ । एसपीए कलेजका बीआईएम कार्यक्रम निर्देशक इन्जिनियर भीम पुन र इन्स्ट्रक्टर रवीन्द्र रानाको सहयोगमा विद्यार्थीहरूले उक्त उपकरणको विकास गरेका हुन् । 

केही समय अघिमात्रै धनगढीमा भएको सुदूरपश्चिमाञ्चल स्तरीय स्टार्टअप एण्ड आइडिया फेस्टमा एसपीएको बीआईएम पढिरहेका विद्यार्थीहरूले बनाएका दुई प्रोजेक्टहरू शीर्ष ५ भित्र पर्न सफल भएका थिए । लिभिङ विथ आइसिटी र आइसिटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट प्रस्तुत भएका २५ भन्दा बढी प्रोजेक्टहरूमध्येबाट उत्कृष्ट ५ प्रोजेक्ट घोषणा गरेको थियो । त्यसमा एसपीएका सूचना व्यवस्थापन (बीआईएम) विषयमा स्नातक अध्ययनरत विद्यार्थीहरूले बनाएका ‘स्मार्ट डस्टबिन’ र ‘सस्तो किताब’ नामक दुई प्रोजेक्ट शीर्ष ५ भित्र पर्न सफल भएका हुन् ।

उत्कृष्ट ५ भित्र पर्न सफल प्रोजेक्टहरूले अब काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछन् । त्यस्तै
अघिल्लो हप्तामात्रै देशभरिकै उत्कृष्ट १३ कलेजभित्र पर्दै सुदूरपश्चिममाञ्चल एकेडेमी (एसपीए)ले राष्ट्रिय शिक्षा सम्मान प्राप्त गरेको छ ।