close

विश्वकप हेर्न टोलटोलमा प्रोजेक्टर बाँड्दै चन्द्रपुर

विश्वकप हेर्न टोलटोलमा प्रोजेक्टर बाँड्दै चन्द्रपुर

Trulli
ADVERTISEMENT

रौतहट । चन्द्रपुर नगरपालिकाले टोलटोलमा प्रोजेक्टर वितरण गरेको छ । नगरपालिकाले कतारमा जारी विश्वकप फुटबल हेर्नको टोलटोलमा प्रोजेक्टर वितरण गरेको हो ।  

नगर प्रमुख संजय कुमार काफ्लेले पछिल्लो समय पालिका फुटबलको 'हब' बन्दै गएकोले प्रोजेक्टर वितरण गरेको बताए । उनले पालिकाभित्रका विश्वकप फुटबल हेरेर खेलाडीलाई सहज होस् भन्ने उदेश्यले टोलटोलमा प्रोजेक्टर वितरण गरेको सुनाए । 

उनका अनुसार वडा कार्यालयको समन्वयमा प्रोजेक्टर वितरण गरिएको हो । 'पालिकाभित्र १० वटा वडाहरु छन्,'  उनले भने, 'भौगोलिक क्षेत्रको आधारमा हामीले १५ वटा प्रोजेक्टर वितरण गरेका छौँ ।'

उपभोक्ता समितिमार्फत खरिद गरेको सो प्रोजेक्टर वडाभित्रका संगठित क्लव तथा महिला समूहलाई वितरण गरेको उनले भनाइ छ। 
उनले सो कार्यक्रमको लागि प्रति प्रोजेक्टर ८० हजारको दरले १२ लाख रुपैयाँ बजेट विनियोजन गरेको बताए । 

'हाम्रो पालिकामा फुटबल खेलाडीको संख्या धेरै छन् । ७ जना खेलाडी राष्ट्रिय महिला फुटबल टिममा पुगिसकेका छन्,' उनले भने, 'यो प्रोजेक्टरले ती खेलाडीसँगै अरुलाई पनि सहयोग पुग्ने छ ।'

 ‘फुटबल खेलको विकास र प्रवद्धनको लागि चन्द्रपुर नगरपालिकाको प्रयास’ भन्ने नारा पालिकाले लिएको उनले बताए । 

अहिले विश्वकप फुटबल लक्षित भएपनि सो प्रोजेक्टर पछिसम्म पनि प्रयोगमा आउने उनले बताए । उनका अनुसार सो प्रोजेक्टर वडा कार्यालयको सम्पत्तिको रुपमा रहने छ । 

प्रोजेक्टर मार्फत वडा कार्यालयले गर्दै आएको कार्यक्रम, योजना र गतिविधिहरुबारे जानकारी दिनको लागि पनि प्रयोग गर्न सक्ने उनको विश्वास छ । 

'हामीलाई प्रोजेक्टर चाहिन्छ । भाडामा लिने अवस्था पनि छैन,' उनले भने, 'यसैलाई वडा कार्यालयले संरक्षण गरेर राख्ने छ र आवश्यकताको आधारमा प्रयोगमा ल्याउने छ ।'

उनले स्थानीय बासिन्दाले  पालिकासँग प्रोजेक्टर माग गर्दै आएकाेले वितरण गरेकाे सुनाए ।