काठमाडौँ । नेपाल र पाकिस्तानबीच आज दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल हुँदैछ। खेल बेलुका साढे पाँच बजे सुरु हुनेछ।
विश्व फुटबल महासंघ फिफाले तीन वर्षसम्म प्रतिबन्ध लगाएर फुकुवा गरेपछि पाकिस्तानले पहिलो अन्तर्राष्ट्रिय खेल नेपालसँग खेल्न लागेको हो। सन् २०१८ को साफ च्याम्पियनसिपपछि यी दुई टोली पहिलो पटक खेल्दैछन्। त्यसबेला नेपाल २–१ गोलले पराजित भएको थियो।
दुई देशबीच अहिलेसम्म भएका १७ खेलमा पाकिस्तानले सात र नेपालले पाँच खेल जितेका छन्। पाँच खेल बराबरी भएका छन्।
नेपाली फुटबल टोलीका कप्तान रोहित चन्दले नेपाल भ्रमणमा रहेको पाकिस्तानविरुद्ध नेपाली टोली उच्च मनोबलका साथ मैदान उत्रिने बताएका छन्। त्यस्तै पाकिस्तानी टोलीका कप्तान हसन वासिरले नेपालविरुद्ध राम्रो इतिहास भएको र सोही इतिहासलाई दोहोर्याउन खेल्ने बताए।