close

सागमा स्वर्ण जितेकी सङ्गीता म्यादीमा

सागमा स्वर्ण जितेकी सङ्गीता म्यादीमा

Trulli
ADVERTISEMENT

काठमाडौं । १३औँ दक्षिण एशियाली खेलुकद प्रतियोगिता (साग) मा नेपाली कुस्ती खेलको इतिहासमा पहिलो स्वर्ण जित्ने महिला खेलाडी सङ्गीता धामी मङ्सिर ४ गते हुने निर्वाचन सुरक्षामा खटिन म्यादी प्रहरीमा भर्ना भएकी छन् ।

पारिवारिक आर्थिक अवस्था नाजुक हुँदा आफू म्यादी प्रहरीमा भर्ना हुन बाध्य भएको धामी बताउँछिन् ।

‘हामीले खेलकुदका माध्यमबाट देश चिनाएर आफ्नो कर्तव्य पूरा गर्‍यौँ, हाल जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा म्यादी प्रहरीमा कार्यरत धामीले भनिन्, ‘तर, राज्यले इतिहास रच्ने खेलाडीको रोजगारीको ग्यारेन्टी नगर्दा खेलाडी हुँ भन्न पनि गाह्रो मान्नुपर्ने अवस्था आयो ।’

धामी म्यादी प्रहरीमा भर्ना भएपछि नै पोखरामा नवौँ राष्ट्रिय खेल भयो । उक्त प्रतियोगितामा समेत उनले  स्वर्णपदक जितन्।
सागका स्वर्ण जित्दा सरकार र विभिन्न नगरपालिकाबाट पाएको रकमले धामीको घर चलेको थियो ।

‘सानैमा बुवाले आमालाई छाडेर जाँदा उहाँले लगाउने खाने रहर अधुरै रह्यो’, धामीले भनिन्, ‘म्यादी प्रहरीबाट आएको रकमले आमालाई थोरै भए पनि सुन किनेर रहर पूरा गर्ने योजना छ ।’
बाल्यावस्थामै बुवा अर्कै श्रीमती लिएर घरबाट निस्केपछि आमा धनादेवीको एक्लो लालमपालनले सागमा स्वर्ण जित्न सक्षम बनिन् ।

तर अझै उनको पारिवारिक अवस्था दयनीय छ । दार्चुलाको शैल्यशिखर नगरपालिका स्थायी घर भएकी धामी कञ्चनपुरको भीमदत्त नगरपालिका–३ तिलकपुर ठूलोबुवाको घरमा बस्दै आएकी छिन् । 

‘आमाले भैँसीपालन गरेर दूध बेचेर हामीलाई यहाँसम्म पुर्‍याउनुभयो’, उनले भनिन्, ‘अहिले कहिलेकाहीँ म पनि दूध बेच्न महेन्द्रनगर बजार आउँछु ।’ 

सङ्गीताकी बहिनी रीता कक्षा १२ र सङ्गीता स्नातक तहमा अध्ययनरत छन् ।  ‘दुवैको खर्च पनि मेरै खेलकुदबाट आएको रकमले चलेको थियो’, उनले भनिन्, ‘अहिले स्वर्ण जितेर आउँदा रातो टीकासम्म लगाएर हौसला दिने कोही भएनन् ।’

खेलकुद र पढाइलाई निरन्तरता दिएकी सङ्गीताले नेपाली सेना र प्रहरीमा जागिर खाने सपना पूरा नहुने चिन्ता व्यक्त गरिन् । ‘अन्तर्राष्ट्रियस्तरमा पदक मुलुकलाई दिलाउँदा कतै जागिर पाइन्छ कि भन्ने आशा थियो’, उनले भनिन्, ‘अहिले पनि यति ठूलोे खेलाडी म्यादीमा हुँदा समाजले कति कुरा काट्छन कि भनेर चिन्ता हुन्छ ।’

उनले अन्य मुलुकमा अन्तर्राष्ट्रियस्तरमा पदक ल्याउने खेलाडीलाई सम्मान र रोजगारीको कुनै कमी नहुने गरेको बताइन् । ‘अहिले म्यादीमा भर्ना भएर राज्यले गरिरहेको चुनावमा सुरक्षा प्रदान गर्ने जिम्मेवारी पाउँदा हर्षित नै छु’, उनले भनिन्, ‘तर स्थायी रोजगारी पाउने आशैआशमा निराशा छाएको छ ।’

खेलाडी भएर मुलुकको इज्जत बढाउने स्तरका प्रतिभावान खेलाडीलाई राज्यले रोजगारीका विषयमा सोच्नुपर्ने उनको भनाइ छ । ‘पदक दिलाउने  खेलाडीलाई पालिकास्तरसम्म भए पनि जागिरको व्यवस्था गर्नुपर्छ,’ उनले भनिन्, ‘शरीरमा ताकत हुँदा खेलेपनि पछि गएर जिविका चलाउन विदेशीनु पर्ने बाध्यता छ ।’    

सङ्गीतासँगै कुस्तीकी नवौँ राष्ट्रिय प्रतियोगितामा अर्की स्वर्णपदक विजेता खेलाडी हेमा भट्टलगायत पाँच / ६ जना राष्ट्रिय खेलाडी अहिले कञ्चनपुरमा म्यादीमा भर्ना भएका छन् ।

कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले खेलाडीलाई राज्यले सुविधा दिने विषयमा सोच्नुपर्ने बेला आएको बताउँछन् ।    

‘सागको स्वर्ण जित्ने चेलीले आज जागरिका लागि भौतारिनुपर्ने बाध्यता आउनु राम्रो कुरो होइन’, उनले भने, ‘अब पालिकामा पदक विजेता खेलाडीलाई रोजगारीको व्यवस्थाका लागि गुहार माग्छौँ ।’

उनले खेलाडी भएर बाँच्न मात्रै गाह्रो रहेको बताए । नवौँ राष्ट्रियमा सुदूरपश्चिमले १० स्वर्ण जित्दा कुस्तीमा मात्रै कञ्चनपुरका पाँच महिला खेलाडीले स्वर्ण दिलाएका थिए ।