close

४ हिमचितुवाको सामूहिक आक्रमणबाट ८२ च्याङ्ग्रा मरे

४ हिमचितुवाको सामूहिक आक्रमणबाट ८२ च्याङ्ग्रा मरे

Trulli
ADVERTISEMENT

मुस्ताङ- लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ ढाक्मरमा हिमचितुवाको आक्रमणबाट एउटै खोरमा रहेका ८२ च्याङ्ग्रा मरेका छन् ।

मिङ्मार गुरुङको खोरमा गएराति पसेका हिमचितुवाले आक्रमण गर्दा ८२ च्याङ्ग्रा मृत र आठ घाइते अवस्थामा भेटिएका वडा सदस्य ङवाङ छवत्तर गुरुङले जानकारी दिए । 

“रातको समयमा तारबारसहितको पर्खाल नाघेर खोरभित्र पसेका चार वटा चितुवाले च्याङ्ग्रा मारेको हो”, उनले भने, “ ३० लाखभन्दा बढीको क्षति गरेको अनुमान गरेका छौँ ।” वडा सदस्य गुरुङका अनुसार केही च्याङ्ग्राको आन्द्राभुँडी निकालेर छाडेको छ भने धेरैको रगत खाएर मारेको छ । घाइते च्याङ्ग्राको पनि मृत्यु भएको वडा कार्यालयले जनाएको छ

मुस्ताङमा हिमचितुवाले पुर्‍याएको यो अहिलेसम्मको ठूलो क्षति भएको कृषकको भनाइ छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्ट, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको इलाका संरक्षण कार्यालय लोमान्थाङ र चराङ प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा पुगेका छन् । 

हिमचितुवा संरक्षित दुर्लभ वन्यजन्तु हो । मुस्ताङमा हिमचितुवा कति छन् भन्ने यकिन तथ्याङ्क छैन । ढाक्मर गाउँको पश्चिमतर्फको ठूलो रातो पहाडको ओढारमा हिमचितुवाको बासस्थान रहेको स्थानीय छिरिङ गुरुङले बताउनुभयो । 

गत वर्ष मुस्ताङमा वन्यजन्तुको आक्रमणबाट १९ कृषकको ६५ पशु मरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र वन डिभिजन कार्यालय मुस्ताङको तथ्याङ्क छ ।