close

व्यास नगरपालिकाका गर्भवती र सुत्केरीलाई पोषण भत्ता

व्यास नगरपालिकाका गर्भवती र सुत्केरीलाई पोषण भत्ता

Trulli
ADVERTISEMENT

तनहुँ- सरकारी स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन र सुत्केरी सेवा लिने काममा आकर्षित गर्न व्यास नगरपालिकाले गर्भवती र सुत्केरीलाई पोषण भत्ता उपलब्ध गराउन थालेका छन् । 

पालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा जाँच तथा सुत्केरी सेवा लिनेलाई पालिकाले पोषणबापत भत्ता उपलब्ध गराउन थालेका हुन् । 

नगरपालिकाले गर्भवतीलाई पोषणबापत जनही पाँच हजारका दरले भत्ता वितरण गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा ६२ गर्भवतीलाई पोषण भत्ता वितरण गरेको जनाएको छ । 

गर्भवतीलाई समय–समयमा गर्भ जाँच गरी शिशु मृत्युदर न्यूनीकरणमा प्रोत्साहित गर्ने उद्देश्यले प्रोत्साहन पोषण रकम प्रदान गरिएको उपप्रमुख इन्दिरा दरैले जानकारी दिइन् । नगरपालिकाले स्वास्थ्य संस्थामा जाँच गरेको मातृ सेवा कार्डको प्रतिलिपिका आधारमा गर्भवतीलाई भत्ता वितरण गरेको उनको भनाइ छ ।

नगरपालिकाका गर्भवतीलाई पोषण प्रोत्साहन रकम प्रदान गरी गर्भावस्थामा कुपोषण हुनबाट बचाउन तथा प्रोटोकलअनुसार गर्भवती जाँच गर्न प्रोत्साहन गर्ने उद्देश्यले गर्भवती पोषण कार्यक्रमअन्तर्गत हातमै नगद रकम प्रदान गरिएको दरैले जानकारी दिइन् । उनले भनिन्, “नगरपालिका क्षेत्रभित्र मातृ नवशिशु तथा नवशिशु स्वास्थ्य र पोषण प्रवर्द्धन एवं व्यवस्थापन गर्न कुपोषणमुक्त बालबालिकाको विकास गर्न यो कार्यक्रम ल्याइएको हो ।”

दरैका अनुसार महिलासँग उपमेयर कार्यक्रममार्फत कार्यविधि बनाएर भत्ता वितरणको सुरुवात गरिएको हो । नगरपालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा प्रोटोकलअनुसार नियमित गर्भ जाँच गर्ने गर्भवतीलाई भत्ता वितरण गरिनेछ । नगरपालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थाबाट कम्तीमा तीन पटक (४, ६ र ८ महिना) गर्भवती महिलालाई आठ महिनामा मातृ शिशु कार्ड र निजको निवेदनका आधारमा पाँच हजार वितरण गरिने महिला शाखा प्रमुख राधा आचार्यले जानकारी दिइन् । 

लक्षित वर्ग छनोटका लागि नगरपालिकाले उपप्रमुखको संयोजकत्वमा लाभग्राही छनोट तथा कार्यान्वयन समिति बनाएको छ । यसको सदस्यमा प्रमुख प्रशासकीय अधिकृत, सामाजिक विकास समितिका संयोजक, कार्यपालिका महिला सदस्यमध्येबाट कार्यपालिकाले तोकेको एक महिला सदस्य, शिक्षा तथा सामाजिक विकास शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख रहने छन् ।

कार्यालयले लक्षित वर्गलाई कार्यक्रममा सहभागी भएको विस्तृत विवरण र स्वास्थ्य संस्थामा जाँच गरेको मातृ सेवा कार्डको प्रतिलिपिको आधारमा नगद भुक्तानी दिनेछ । 

नगरपालिकाले उपप्रमुखसँग महिला कार्यक्रम पनि प्रभावकारी रूपमा सञ्चालन गरेको छ । यो कार्यक्रममार्फत महिलालाई आर्थिक, स्वास्थ्य, तथा रोजगारी क्षेत्रमा सबल र सक्षम बनाउने उद्देश्य राखिएको छ ।