close

वडा सदस्यको पहल र पालिकाको सहयोगमा ३५ वर्षपछि रोटेपिङ

वडा सदस्यको पहल र पालिकाको सहयोगमा ३५ वर्षपछि रोटेपिङ

Trulli
ADVERTISEMENT

धादिङ- ज्वालामुखी गाउँपालिका–६स्थित हुलाक भञ्ज्याङमा ३५ वर्षपछि यो दशैँमा रोटेपिङ हालिएको छ । पुराना कला र संस्कृति जगेर्ना गर्ने अभियानमा लागेका स्थानीय युवाले कलात्मक रोटेपिङ तयार गरेका हुन् ।

गाउँका सबै युवा मिलेर पिङ निर्माण गरेपछि यो वर्ष दशैँ रौनक बनेको छ । बालबालिकादेखि वृद्धसम्मलाई रोटेपिङले थप उल्लासमय बनाएको छ । स्थानीयवासी हरिमान शाक्य भन्छन्, “३५ वर्षपछि रोटेपिङ चढ्न पाइयो । पिङ खेल्न पाएपछि त हामीजस्ता बुढापाकालाई पनि दशैँ रमाइलो हुँदो रहेछ ।”

बाजेका पालासम्म पुस्तान्तरण हुँदै आए पनि बाको पालादेखि हराउँदै गएको रोटेपिङको जगेर्नामा नयाँपुस्ता लागिपरेका छन् । यहाँका युवाले गाउँका बूढापाका र बालबालिकालाई पिङ खेलाउँदै रोटेपिङबारे पाकाको कुरा सुन्ने र सानालाई सुनाउने गरिरहेका छन् ।

यो दशैँमा साना बालबालिकाले पनि रोटेपिङको अनुभव लिने मौका पाएका छन् । झण्डै तीन दशकपछि गाउँमा रोटेपिङ चढ्न पाउँदा वृद्धवृद्धा पनि मख्ख छन् । मीठो खानुभन्दा पनि दशैँ मानाउन गाउँ पुगेकाहरु पनि पिङमा नै रमेका छन् ।

मौलिक संस्कृतिको जगेर्ना गर्ने र पुराना कला संस्कृतिका बारेमा नयाँ पुस्तालाई आकर्षण बढाउने उद्देश्यले गाउँका साथीभाइ मिलेर रोटेपिङ निर्माण गरिएको स्थानीय युवा सुनिता शाक्य शाक्यले बताए । 

रोटेपिङकै ढाँचामा फलाम प्रयोग गरी व्यावसायिक हिसाबले पिङ बनाइने र खेल्ने खेलाइने प्रचलन पनि निकै बढेको छ  तर त्यस्तो पिङमा दशैँमा देखिने रोटेपिङमा जस्तो रौनक पाइँदैन । ‘बाह्र वर्षमा खोला पनि फर्किन्छ’ भन्ने नेपाली उखानजस्तै गाउँबाट लोप भइसकेको रोटेपिङ झण्डै ३५ वर्षपछि सोही स्थानमा पुनः बन्दा र खेल्न पाउँदा हुलाक भन्ज्याङवासी अहिले खुसीले दङ्ग छन् ।

वडासदस्य तथा स्थानीय बासिन्दा लिलामान शाक्यको पहलमा यहाँ ३५ वर्षपछि रोटेपिङ बनेको हो । पुस्तौँदेखि खेल्दै आएको रोटेपिङ एकादेशको कथाजस्तो नबनोस् भन्ने हिसाबले यो वर्ष दशैँमा रोटेपिङ बनाउनुपर्छ भन्ने आफूले योजना बनाएँ, उनले भने, “यो प्रस्ताव वडाध्यक्ष किशोर सेढाई समक्ष राखे त्यसपछि पालिकाको आर्थिक सहयोगमा  गाउँमा रोटेपिङ बनाउन सफल भयौँ ।”

करिब एक लाखको लगानीमा तयार भएको यो पिङ प्राविधिक हिसाबले पनि सुरक्षित बनेको छ । अहिले मौलिकरूपमा बनाइएको पिङमा प्रयोग भएको काठको खम्बा र फलामको डन्डी दशैँ सकिएपछि सुरक्षित स्थानमा राखिने र आगामी वर्षमा पनि गाउँमा रोटेपिङ बनाउने कार्यलाई निरन्तरता दिँदै जाने उनको भनाइ थियो ।